उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरूद्ध लगाएको आरोप स्थायी समितिले बैठकले खारेज गरेको उल्लेख गर्दै नेकपा (माओवादी केन्द्र) ले मातहतका समितिमा सर्कुलर पठाएको छ।
स्थायी समिति बैठकको निर्णय बिहीबार तल्ला समितिहरूमा सर्कुलर गर्दै माओवादी केन्द्रले उपमहासचिव शर्माले आत्मालोचित हुन नमानेको उल्लेख गरेको छ।
‘स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा प्रभाकरका सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भयो। छलफलका क्रममा विशेषतः पार्टी नीति र नेतृत्वविरूद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रुपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दीजन्य गतिबिधिहरू सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरित भएको ठहर सहित स्थायी समिति सदस्यहरूबाट प्रभाकरलाई उक्त क्रियाकलापहरूप्रति आत्मालोचना गरी गल्ती कमजोरी सच्याउन जोड दिइयो। अध्यक्ष कमरेडले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरूको सुझाव र आलोचनालाई आत्मसाथ गरी कमजोरी सच्याउन विशेष आग्रह गर्नुभयो। तर कमरेड प्रभाकरले माइन्यूटमा हस्ताक्षर नगरेको बिषय बाहेक अन्य विषयहरूमा ठोस रुपमा आत्मालोचना गर्नुभएन,’ सर्कुलरमा भनिएको छ।
उपमहासचिव शर्माले उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाएको सर्कुलरमा भनिएको छ।
‘अतः स्थायी समिति बैठकले पार्टी नेतृत्वका बिरुद्ध लगाइएका निराधार आरोपहरूलाई खारेज गर्दै प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ,’ उनले भने।
स्थायी समिति बैठकले आफ्ना भिन्न मत भए कमिटिमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाई अगाडि बढ्न पनि जोड दिएको पनि सर्कुलरमा भनिएको छ।
माअोवादी केन्द्रको स्थायी समिति बैठक अघिल्लो शुक्रबारदेखि आइतबारसम्म चलेको थियो।
स्थायी समिति बैठकमा विशेष महाधिवेशनको माग गरेका थिए। पार्टी नेतृत्वबाटै फुटको हल्ला चलाइएको, केन्द्रीय समितिका निर्णय कार्यान्वयन नगरिएकोबारे प्रश्न उठाएका थिए। पार्टी निर्माणबारे प्रश्न गर्दा फुटतर्फ लैजान खोजिएको भनेर आरोपित गरिएको जनार्दनले बताएका थिए।
यो पनि:
नेतृत्वको विषयमा 'बाहिर नबोल्नू' भन्दै स्थायी समितिले दियो जनार्दन शर्मालाई चेतावनी
जनार्दनलाई लक्ष्य गर्दै प्रचण्डले भने- जसले गल्ती गर्यो उसैले आत्मआलोचना गर्ने हो
जनार्दन शर्माले स्थायी कमिटीमा भने- पार्टी निर्माणमा प्रश्न उठाएबापत के सजाय भोग्नुपर्छ, तयार छु