स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अंगहरू प्रत्यारोपणसम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्न सक्ने बताएका छन्।
ललितपुरमा आइतबार आयोजित रक्तदान कार्यक्रममा बोल्दै उनले मानव अंगहरू प्रत्यारोपणसम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्न सक्ने बताएका हुन्।
नेपालमा मिर्गौला, आँखा लागयतका प्रत्यारोपण गर्न मिल्ने ६ वटा मानव अंग पर्याप्त मात्रामा प्राप्त हुने स्थिति नरहेको उनले बताए।
‘हामी कहाँ जति किड्नी चाहिने हो त्यति प्राप्त भएको स्थिति छैन। जति लिभर चाहिने हो त्यति प्राप्त भएको स्थिति छैन। जति आँखा चाहिने हो त्यो प्राप्त भएको छैन। शरीरका ६ वटा अंग भिकेर अर्कोमा ट्रान्सप्लान्ट गर्न मिल्छ। अब यो ट्रान्सप्लान्ट जसबाट निकालेर पनि गर्न मिल्ने बनाउन मिल्दैन किनभने यो बेचिन्छ। अहिले आइभिएफको एउटा समस्याका कारणले यो बेचिएको छ भनेर भन्न थालिएको छ,’ उनले भने।
भारतमा १९८२ सम्म एकले अर्कालाई अंग सजिलै दिन पाउने व्यवस्था रहेको र त्यहाँ धेरै गरिबले अंग बेचेको उनको भनाइ छ।
‘त्यसैले त्यहाँ त्यसलाई बन्द गरियो। नेपालमा पनि नाता पर्ने, नाताको दायरा पनि एकदमै सीमित छ। कानून खुकुलो बनाउँ यसले बेथिति बढाउँछ, अब एउटा उपाय के छ भने इरानमा यसको सफल प्रयोग भइरहेको छ। पहिला मान्छेको ब्रेन मर्छ, ब्रेन मरेको २४ घण्टाभित्र उसको अंग झिक्न खोज्यो भने झिक्न सकिन्छ। ब्रेन डेथपछि अंग झिकेर त्यसलाई त्यहीअनुसार संग्रह गर्ने हो भने हामीले त्यो अंग अर्को किड्नी फेल भएकोलाई दिन सकिन्छ। आँखा नदेख्नेलाई आँखा दिन सकिन्छ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)