गृह मन्त्रालयले दुई अर्ब भन्दा बढी रकमको बेरूजु फर्छ्यौट गरेको छ।
आर्थिक वर्ष २०८१/०८२ मा दुई अर्ब १२ लाख ६३ हजार रुपैयाँ बराबरको बेरूजु रकम फर्छ्यौट गरेको हो। अघिल्लो आर्थिक वर्षमा गृहमा तीन अर्ब ७२ करोड ४५ लाख ८७ हजार रुपैयाँ बराबरको बेरूजु बाँकी थियो।
गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गृहमन्त्री रमेश लेखकको निर्देशन तथा गृहसचिवको समन्वयमा र मातहतका निकायहरूको सहयोग र सक्रियताले सम्परीक्षण र बित्तीय सुशासन कायम गर्न मन्त्रालय अग्रस्थानमा रहेको बताए।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा सम्परीक्षण तथा फर्छ्यौट प्रगति ६३.१७ प्रतिशत रहेको छ।
‘चालु आर्थिक वर्षमा अब १ अर्ब ४७ करोड ४५ लाख कुल बेरुजु बाँकी छ,’ उनले भने, ‘कार्य योजना बनाएरै मन्त्रालय बेरुजु फर्छ्यौटमा लागेका छौं।’
उनले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक वर्ष २०८१/०८२ मा लेखापरीक्षण अंकको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताए।