प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानूनअनुसार दर्ता नभएका सामाजिक सञ्जालहरूलाई नियन्त्रण गर्ने बताएका छन्।
मंगलबार राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्महरूको दुरूपयोग धेरै भएको बताए।
‘सामाजिक सञ्जाल डिजिटल प्लेटफर्महरूको दुरूपयोग भएको छ। कतिपय सामाजिक सञ्जाल दर्ता गर्नु नपर्ने, गर्दिनँ, तिमीहरूको कानून मान्दिनँ भन्छन्। संविधान मान्दिनँ, यहाँ अराजकतावादीहरू जत्तिकै मान्दिनँ, दर्ता गर्दिनँ भन्छन्। त्यसो भए नेपाल सरकारले नियन्त्रण गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने।
यसो गर्दा स्वतन्त्रताको हक भएन भन्ने कुरा आउन सक्ने भन्दै उनले नियमभित्र रहनुपर्ने बताए।
‘दर्ता गर्नुपर्छ, जिम्मेवार ढंगले चलाउनुपर्छ। समाज ध्वस्त पार्ने, दर्ता नगर्ने, कानूनको दायरामा नआउने, पैसा कमाउने, कर नतिर्ने, जनता लुट्ने, ठग्ने, जनतालाई कुबाटोतिर धकेल्ने, देशलाई बर्बादीतिर धकेल्ने कोसिस गर्ने यस्ता प्रयास सरकारले हुन दिँदैन, यो स्पष्ट छ,’ उनले भने।
सरकारले सामाजिक सञ्जालको विधेयक ल्याउने उनले बताए। ‘विधेयक ल्याउँछ, अराजक हुन दिँदैन। संविधान र कानूनभित्र सबै बस्नुपर्छ। डेमोक्रेसी एनार्किजम होइन,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)