पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) मा फर्कन रोक लगाउने केन्द्रीय कमिटीको निर्णयविरूद्ध राखेको फरक मत अपानिमा समावेश नगराएपछि उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी कार्यालय पुगेर ध्यानाकर्षण गराएका छन्।
उनले ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर आफ्नो फरक मत छलफल गराउन माग गरेका हुन्।
एमालेले अन्तर पार्टी निर्देशन (अपानि) मा आफूहरूको फरक मत समावेश नगरेको भन्दै ज्ञवालीले यसबारे पुन: पार्टी कार्यालय पुगेर निवेदन दिँदै छलफल गर्न माग गरेका हुन्।
‘हामीले केन्द्रीय कमिटी बैठकमा विद्या भण्डारीलाई पार्टीमा आउन रोक लगाउन हुन्न भनेर बोलेका पनि छौं, लिखित रूपमै निर्णयमा असहमति राखेका छौं, तर हाम्रो फरक मतलाई पार्टीले अपानिमा किन समावेश गरेन? किन छलफल गराएन? छलफल गराउने परम्परा पार्टीभित्रै छ,’ ज्ञवालीको निवेदनलाई उद्धृत गर्दै उनीनिकट एक नेताले बताए।
ज्ञवालीले पार्टीमा निवेदन दर्ता गराएकोबारे अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि पुष्टि गरेका छन्। ‘उहाँले फेरि आज निवेदन दर्ता गराउनुभएको छ,’ उनले सेतोपाटीसँग भने।
गत साउन ६ गते सकिएको एमालेको केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई एमाले फर्कन रोक लगाउने निर्णय गर्दै उनको सदस्यता स्वतः निष्क्रिय तुल्याएको थियो।
त्यसविरूद्ध ज्ञवालीले बैठकमा फरक मत राखेका थिए।
उनले लिखितरूपमा पनि असहमति राखेका थिए। उनीसँगै उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापाले पनि लिखित असहमति राखेका थिए।
तर एमालेले कर्ण थापाबाहेक अरूको लिखित असहमतिलाई फरक मतको मान्यता दिएन। महासचिव शंकर पोखरेलले पनि स्थायी कमिटी सदस्य कर्णबहादुर थापाबाहेक कसैको पनि फरक मत नआएको बताएका थिए।
त्यसो त एमालेले फरक मतबारे अन्तरपार्टी निर्देशनमा उल्लेख पनि गरेको थिएन। फरक मत राख्नेहरूले छलफलको माग गरेमा त्यसलाई अनुमति दिनुपर्ने एमालेभित्र वैधानिक व्यवस्था छ।
यो पनि:
सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीको फरक मतलाई एमालेले दिएन मान्यता