संघीय समाजवादी फोरम नेपालले मधेश आन्दोलनको शहीद परिवारका सदस्यलाई उम्मेद्वार बनाएको छ। रङ्गेली घटनामा महादेव ऋषिदेवकी पत्नी सीतादेवी ऋषिदेवलाई फोरम नेपालले स्थानीय तहको दोस्रो चुनावमा उम्मेद्वार बनाएको हो ।
सुनवर्शी नगरपालिका वडा नम्बर ७ को महिला दलित सदस्यमा शहीद पत्नी सीतादेवीलाई चयन गरिएको छ। २०७२ साल माघ ७ गते मधेश आन्दोलनमा प्रहरीको गोलीले महादेव शहीद भएका थिए। मधेशी मोर्चाको विरोधको बावजूद एमाले महासचिव ईश्वर पोखरेले रङ्गेलीमा सभा गर्न खोजे पछि भएको तनावमा प्रहरीले गोली चलाउँदा तीन जना शहीद भएका थिए ।
संघीय समाजवादी फोरम नेपालले शहीद परिवारलाई सम्मान स्वरुप प्राथमिकता दिने नीति अनुसार मोरङमा शहीद पत्नी सीतादेवीलाई उम्मेद्वार चयन गरेको फोरम नेपाल मोरङका स्थानीय नेता प्रकाश यादवले जानकारी दिए। यसअघि, फोरम नेपाल सिरहाले मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोकी आमालाई गाउँपालिकाको उम्मेदबार बनाउने निर्णय गरिसकेको छ।
शहीद पत्नी सीतादेवीको चयनसँगै फोरम नेपाल मोरङले सुनवर्षी नगरपालिका वडा नम्बर ७ का सबै उम्मेदवारहरुको टुंगो लगाएको छ ।
सुनवर्षी नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा प्रकाश यादवलाई उम्मेदवारको रुपमा अघि सारिएको छ । अर्को महिला सदस्यमा चिन्तामणिदेवी राजवंशीलाई उठाइएको छ । अन्य दुई खुल्ला सदस्यहरुमा सुवर्ण सिंह र जमुना दासलाई उम्मेदवार बनाइएको छ ।
सुनवर्षी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवार बनेका यादव पार्टीको पनि वडा समितिका अध्यक्ष हुन् । वडामा उम्मेदवारहरुको टुंगो लगाइसकिएकाले आपूmहरु चुनावी अभियान र घरदैलो कार्यक्रममा होमिएको उनले बताए ।
वडाको विकासका लागि झपडतलदेखि बडंगा हुँदै भारतीय सीमासम्म कालोपत्रे सडक निर्माण गर्ने आप्mनो प्रमुख एजेण्डा रहेको उनले बताए।
‘बडंगाका जनताको जीवनस्तर उकास्नका लागि कृषि प्रणालीलाई आधुनिकिकरण गर्नुपर्छ,’ यादवले भने, ‘यहाँका दलित तथा गरिब जनता आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित भएकाले अब स्वास्थ्य र शिक्षा क्षेत्रलाई मैले प्राथमिकतामा राखेको छु ।’ आफैं पनि कृषक रहेका यादव बडंगाका चर्चित युवा नेता हुन् ।