दाङमा विगत तीन वर्षको अवधिमा झन्डै सातसय ९२ जना महिला तथा बालबालिका बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी सहायक निरीक्षक नन्दकली कटुवालका अनुसार हराएकामध्ये अधिकांश महिला तथा बालबालिका अझैसम्म बेपत्ताकै सूचीमा रहेको जनकारी दिइन्।
यसैबीच उनले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा मात्रै दाङमा ३ सय २७ महिला तथा बालबालिका बेपत्ता भएको जानकारी दिइन्। हालसम्म हराएकाहरूमध्ये १ सय १५ जना मात्रै फेला परेको उनले जानकारी दिइन्।
उनका अनुसार हालसम्म हराएकामध्ये जम्मा २ सय ६ महिलामध्ये ६१ जना मात्रै फेला परेका छन् । त्यसैगरी हराएका ६६ बालकमध्ये ३० जना र ५५ बालिकामध्ये २४ जना मात्रै हालसम्म फेला परेका छन्। बाँकी २ सय १२ जना महिला तथा बालबालिका फेला पर्न नसकेको कटुवालले जानकारी दिइन्।
गत आर्थिक वर्ष २०७३/ ०७४ मा जिल्लामा ४ सय ४ जना महिला तथा बालबालिका हराएका थिए । केन्द्रका अनुसार त्यसमध्ये २ सय ६१ महिला,७४ बालक र ६९ बालिका थिए । तर, त्यसमध्ये ७३ महिला,१६ बालक र २६ जना बालिका गरी १ सय १५ जना मात्रै फेला परेको प्रहरी निरीक्षक कटुवालले जानकारी दिइन्।
उनले गत आर्थिक वर्षमा हराएका भनिएकामध्ये २ सय ८९ जनाको अवस्था अज्ञात नै रहेको जानकारी दिइन्। प्रहरीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा दाङमा ३ सय २८ जना महिला तथा बालबालिका हराएका थिए । तर ती मध्ये २ सय १४ महिला,४८ बालक र ६६ बालिका थिए। जसमा १८ जना महिला,५ जना बालक र १४ जना बालिका गरी ३८ जना मात्रै भेटिएको प्रहरीको तथ्यांकले देखाएको छ । बाँकी २ सय ९१ जना अझै फेला पर्न नसकेको प्रहरी सहायक निरीक्षक कटुवालले बताइन्।
प्रहरीले भने अघिल्लो वर्षको तुलनामा यो आर्थिक वर्षमा हराउने महिला तथा बालबालिकाको संख्यामा भने घटेको जानकारी दिएको छ। अघिल्ला वर्षभन्दा यस आर्थिक वर्षमा हराउने महिला तथा बालबालिकाको संख्यामा कमी आएको कटुवालले जानकारी दिइन्।
किन हराइरहेका छन् महिला तथा बालबालिका?
महिला तथा बालबालिका सेवा केन्द्र दाङकी प्रमुख एवं प्रहरी सहायक निरीक्षक नन्दकली कटुवालले घर फर्किएर आउने तथा फेला परेकाहरूबारे सूचना नदिनुले गर्दा हराउने महिलाको संख्या ठूलो देखिने गरेको बताइन्।
लोकलाजका कारण महिला फेला पर्दा जानकारी नदिने प्रवृतिले गर्दा हराउने महिलाको संख्या धेरै देखिन पुगेको उनले जानकारी दिइन्। विवाह गर्दा भागेर जानु र माइती पक्षले हराएको भनेर उजुरी दिनु तथा भेटिएपछि प्रहरीको सम्पर्कमा नआउनाले हराउनेको संख्या बढी देखिने गरेको उनले जानकारी दिइन् । यस्तै, बालबालिकाहरू पढ्ने लेख्ने अवसरबाट बञ्चित हुनु,घरपरिवारको माया नपाउनु,साथीसंगीको लहलहैमा र बाल विवाह गरेर घर छोडेर जाने गरेको हुँदा हराउनेका संख्या बढेको उनले बताइन् ।
त्यस्तै, अधिकांश पुरुषहरू रोजगारीको लागि विभिन्न ठाउँमा जाने र श्रीमती अर्कैसँग भाग्नुले पनि महिला हराउनेको संख्यामा वृद्धि भएको उनको भनाइ छ । त्यसभन्दा बाहिर शारिरीक अपांग,मानसिक असन्तुलन,घरपरिवारको झगडा, सामाजिक अपहेलना लगायतका कारणले गर्दा पनि महिलाहरू हराउने गरेको कटुवालले जानकारी दिइन् ।