दाङको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखाला नियन्त्रण उन्मुख रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन्।
नेपाली सेना, राप्ती अञ्चल अस्पताल, जिल्ला जनस्वास्थ्य, तुलसी हस्पिटल , नेपाल रेडक्रस सोसाइटीबाट खटिएको स्वास्थ्य टोली र स्थानीय स्वास्थकर्मीले उपचार गरिरहेको शान्ति नगर गाउँपालिकाका प्रवक्ता रवी बुढाथोकीले जानकारी दिए।
गएराति भन्दा झाडापखालाको प्रकोप नियन्त्रण उन्मुख रहेको शान्ति नगरगाउँपालिकाको स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिए। स्थान अभावका कारण चौतारो, भूई र बाटोमा राखेर समेत बिरामीको उपचार भइरहेको पुनले जानकारी दिए। उनले आइतबार बिहान ११ बजेसम्म १५९ जनाको उपचार गरिएको बताए। त्यस्तै, उनले गएराति मात्रै शान्ति नगरमा ४१९ जनाको उपचार गरिएको जानकारी दिए। तुलसीपुर क्षेत्रमा थप ४० जनाको उपचार भइरहेको छ।
पुनले त्यहाँ वितरित पानीको मुहान दुषित हुँदा झाडा पखाला फैलिएको भन्ने जानकारी जिल्ला जनस्वास्थ्यको टोलीले गरेको बताए। जिल्ला जनस्वास्थ्य कार्यालयबाट खटिरएको प्राविधिक टोलीले खानेपानीमा झाडापखालाको व्याक्टेरिया फेला परेको भन्दै त्यसको परीक्षण सुरू गरेको पुनले जानकारी दिए।
हालसम्म ६९९ जना बिरामीको उपचार गरिएको र त्यसमध्ये अधिकांश घर फिर्ता भइसकेको उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन्। त्यसैगरी, तुलसीपुरस्थित राप्ती अञ्चल अस्पताल र सिटी हस्पिटलमा गरी ४० जनाको उपचार भइरहेको राप्ती अञ्चल विकास समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले जानकारी दिएका छन्। बिरामीमध्ये एकजनालाई थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको देवकोटाले जानकारी दिए
हाल नेपाली सेनाको ३२ जनाको टोली,जिल्ला जनश्वास्थ्यको टोली, राप्ती अञ्चल अस्पताल बाट खटिएको स्वास्थ्य कर्मीको टोली, तुलसी हस्पिटलबाट खटिएको टोली, जिल्ला जनश्वास्थ्य, रेडक्रस र तुलसीपुर क्षेत्रका अन्य हस्पिटलबाट खटिएको टोली गरि झण्डै ४५ जनाको स्वास्थ्य टोलीले बिरामीको उपचार गरिहेको छ। यसैबीच नेपाली सेनाको थप स्वास्थ्य टोली बाँकेबाट आउन लागेको जानकारी दिइएको छ ।
राप्ती अञ्चल अस्पतालमा ३० जना जति र सिटी हस्पिटलमा १० जना गरि ४० जना जति झाडा पखालाका बिरामीको हाल उपचार तुलसीपुरमा उपचार भइरहेको देवकोटाले बताए । अन्य बिरामी थपिएमा तुलसी हस्पिटल, लाइफ कियर हिस्पटल लगायतसँग कुरा गरिएको देवकोटाले बताए ।
‘हाल सबैको नि:शुल्क उपचार गरिरहेका छौं। पहिला उपचार गरौं, रोग नियन्त्रणमा आएपछि स्थानीय निकायसँग छलफल गरौंला,’ अध्यक्ष देवकोटाले भने ।
पानीबाट झाडापखालाको महामारी फैलियो : डाक्टर खत्री
शान्ति नगर गाउँपालिकामा खटिएर बिरामीको उपचार गरिरहेका एकजना डाक्टर किशोर खत्रीले दुषित पानीका कारण शान्ति नगरमा झाडा पखाला फैलिएको बताएका छन्। पानीमा सिगेला व्याक्टेरिया फेला परेको हुँदा उक्त पानीको प्रयोग गर्ने सबैजनामा भाडा पखालाको संक्रमण भएको डा. खत्रीले बताए । ‘पानीमा संक्रमण देखिएको छ । पानीको कल्चरको रिपोर्ट आउन बाँकी छ ,’ डा. खत्रीले भने । शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले पनि उपचारमा संलग्न चिकित्सकले पानीकै कारण झाडा पखाला फैलिएको भन्ने जानकारी दिएपछि पानीको मुहान बन्द गरिएको बताए।
‘पानीको मुहान बन्द गरेर सरसफाइ थालिएका छौं,’ अध्यक्ष डाँगीले भने।
यसैबीच शान्ति नगर गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडा अध्यक्ष रवि बुढाथोकीले शान्ति नगर गाउँपालिकाको वडा नं. ३ र ४ का गरि हालसम्म ६९९ जनाको बिरामीको उपचार गरिएको बताए। ‘अझै पनि उपचार गराउन आइरहेकै छन्। तर त्यो संख्या शनिबारको भन्दा उल्लेखनीय रूपमा कम भएको छ,’ बुढाथोकीले भने।