देउखुरीको राप्ती सामुदायिक वन उपभोक्ता समूह भालुवाङको वन क्षेत्रबाट अवैध रूपमा सालका रुख काट्ने रेमबहादुर कँडेललाई जिल्ला वन कार्यालय दाङले पक्राउ गरेको छ।
उपभोक्तासँग सल्लाह नगरी मनपरी रुख काटेको अभियोगमा वन कार्यालयले कँडेललाई पक्राउ गरेको हो।
जेठ १८ गते दिउँसो सालको रुख काट्दै गर्दा स्थानीयबासीले रुख सहित राप्ती गाउँपालिका—१ शान्तिपुर चैते निवासी ५५ बर्षीय रेमबहादुर कँडेललाई नियन्त्रणमा लिएर राप्ती सामुदायिकवन समूहलाई बुझाएका थिए। ईलाका वन कार्यालय लमहीका सहायक वन अधिकृत कुलचन्द्र दवाडीको नेतृत्वको सशस्त्र वन सुरक्षाको टोलीलाई वन समूहले कँडेललाई कानुनी कारबाहीका लागि जिम्मा लगाएको हो।
राप्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गेमबहादुर खड्काले रुख काट्ने कँडेललाई आवश्यक कानुनी कार्वाहीका लागि जिल्ला वन कार्यालय दाङमा बुझाइएको बताए। तर,रुख काट्न आदेश दिने वडा सदस्य पूर्णजंङ्ग रेश्मीलाई भने उन्मुक्ति दिने प्रयास भएको उनले बताए।
पक्राउ परेका कँडेलले वडा सदस्य रेश्मीको आदेश अनुसार सालको काठ काटेको बयान दिएको भए पनि उनले आज आफूले आदेश नदिएको र दिएको भए प्रमाण देखाउ भन्न थालेको अध्यक्ष खड्काले बताए। वन उपभोक्ताहरुले भने सत्यतथ्य छानविन गर्दै कारवाही हुनुपर्ने माग गरे।
भवन निर्माण समितिका अध्यक्ष केशवराज पाण्डे र रुख काट्ने व्यक्ति कँडेललाई कानुनी कारबाहीको माग गर्दै शान्तिपुर चैतेबासीले सोमबार गाउँमा पत्रकार सम्मेलन गर्दै कारवाहीको माग गरेका थिए।
उनीहरुले रुख काट्ने कँडेललाई मात्रै नभइ रुख काट्न आदेश दिने वडा सदस्य पूर्णजङ्ग रेश्मी र भवन निर्माण समितिका अध्यक्ष केशबराज पाण्डेलाई समेत कारबाही हुनुपर्ने माग गरेका थिए। अनुसन्धानबाट दोषी सावित भए सबै व्यक्तिलाई कारबाही हुनुपर्ने स्थानीबासी बिष्णुप्रसाद पोख्रेलले बताए।
यसैबीच जिल्ला वन कार्यालय दाङका वन अधिकृत जगदिशप्रसाद गुप्ताले कँडेललाई वन ऐन अनुसार कार्वाहीका लागि जिल्ला अदालत दाङमा तत्काल दुद्दा दर्ता गरी कार्वाही प्रक्रिया अगाडि बढाउने बताएका छन्।