दाङमा सर्पदंशबाट महिलाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ प्रिगाउँ निवासी ३५ वर्षीया दुर्गा लामिछानेको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी रामबहादुर घर्तीले जानकारी दिए।
घर्तीका अनुसार लामिछानेलाई बिहिबार बिहान ९ बजेतिर घरभित्रै विषालु सर्पले डसेको थियो। लामिछानेलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराही लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। चिकित्सकले अस्पताल पुर्याएलगत्तै लामिछानेलाई मृत घोषणा गरेको भए पनि परिवारजनले भने अझै जीवित गराउन सकिन्छ कि भन्ने आशामा भालुवाङतर्फ लगेको जानकारी दिइएको छ।
लामिछाने प्रावि कटाँहाको शिक्षिका हुन्। उनी जागिरको सिलसिलामा माइती घरमा बस्दै आएकी थिइन्। लामिछानेसहित जेठ महिनाभित्रै दाङमा सर्प दंशबाट ५ जनाको मृत्यु भइसकेको छ।