पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङमा शुक्रवार बिहान भएको बस दुर्घटनमा परि एकजना बालकको मृत्यु भएको छ भने थप ३४ यात्रु घाइते भएका छन्।
पूर्वको जनकपुरबाट बाँकेको नेपालगञ्ज तर्फ जाँदै गरेको ना ५ ख १८२९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान साढे ६ बजेतिर राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवास्थित लठ्ठहवा खोलामा दुर्घटना हुँदा भारत उत्तर प्रदेश लक्षिमपुर निवासी ५ बर्षीय मरुवी महोवदको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता रामप्रशाद घर्तीले जानकारी दिए।
बालकको घटनास्थलमै मृत्यु भएको डिएपसी घर्तीले बताए ।
उक्त दुर्घटनामा परि थप ३४ जना यात्रु घाइते भएको र त्यसमध्य २७ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले जानकारी दिएको छ। २७ गम्भीर घाइते मध्य चारजनाको अवस्था चिन्ताजनक रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुण सिंहले जानकारी दिए।
सिंहले दुर्घटनाका पाँच जना घाइतेहरुको भने लमही मै उपचार भइरहेको बताए। बसमा चालकसहित ३५ यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ। चालक निदाएका कारण बस दुर्घटनामा परेको घाइते यात्रुहरुले बताएका छन्।
जिल्ला प्रहरी पवक्ता घर्तीले चालक निदाएका कारण दुर्घटना भएको बताएता पनि आफ्नो नियन्त्रणमा रहेका चालकले भने ब्रेक नलागेका कारण दुर्घटना भएको दाबी गरेको जानकारी दिए ।