दाङका निजी विद्यालयहरूले तीन दिन गर्मी बिदा दिने भएका छन्।
बढ्दो गर्मीलाई लक्षित गर्दै प्याव्सन र एनप्याव्सन दाङको मंगलबारको बैठकले बुधबारदेखि शुक्रबारसम्म जिल्लाका निजी विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन्।
प्याव्सन दाङका अध्यक्ष यादव गिरी र एनप्याव्सनका जिल्ला अध्यक्ष भिमबहादुर बुढाथोकीले एक संयुक्त वक्तव्यमार्फत् केही दिन बुधबारदेखि असार १ गतेसम्म गर्मी बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।
अभिभावक तथा विद्यार्थीको अनुरोधलाई मध्यनजर गर्दै बुधबारदेखि शुक्रबारसम्म गर्मी बिदा दिने निर्णय गरेको जानकारी विज्ञप्तिमा दिइएको छ। यसैबीच बालबालिकामा जन्डिस, झाडा पखाला, भाइरल ज्वरो, टाइफाइडलगायतका रोगहरू देखिएको हुँदा जे पायो त्यही र जहाँ पायो त्यहीको खाना नखान आग्रह समेत गरिएको छ।
त्यस्तै, यो गर्मीको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन अपिल समेत गरिएको छ। जिल्लामा मंगलबारको अधिकतम तापक्रम झन्डै ३७ डिग्री सेल्सियस पुगेको जल तथा मौसम कार्यालय दाङले जानकारी दिएको छ।
तुलसीपुर क्षेत्रका निजी विद्यालय भने मंगलबारदेखि बन्द भइसकेका छन्। सोमबार नै उनीहरूले सूचना जारी गर्दै शुक्रबारसम्म गर्मी बिदा दिने निर्णय गरेको प्याव्सन दाङका जिल्ला उपाध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिकाका संयोजक मधुसुदन केसीले जानकारी दिएका थिए।