दाङमा गएराति आएको हावाहुरीले भौतिक संरचना भत्काउँदा ५ जना सर्वसाधारण घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख रामप्रसाद घर्तीका अनुसार घाइते सबै दाङको देउखुरी क्षेत्रका हुन्।
लमही नगरपालिका वडा नं. २ चैलाहीमा हावाहुरीले घरको भित्ता र छाना भत्काउँदा तीन आमाछोरी घाइते भएका छन्। ३० वर्षीया राजकुमारी चौधरी, उनकी १० वर्षीया छोरी जमुनी र ७ वर्षीया छोरी सृष्टि चौधरी घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते तीनै आमा छोरीको उपचार लमही अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, देउखुरी क्षेत्रकै गढुवा गाउँपालिका वडा नं. ५ गढुवामा हावाहुरीले घरको छानो उडाउँदा एक दम्पत्ती घाइते भएका छन्। स्थानीय ३३ वर्षीय भागिराम चौधरी र उनकी ३० वर्षीया पत्नी सीला चौधरी हावाहुरीले उडाएरको छाना र काठले लाग्दा घाइते भएको डिएसपी समेत रहेका घर्तीले बताए।
घाइते दम्पत्तिद्वयलाई लमहीको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा ‘रेफर’ गरिएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाका अनुसार तुलसीपुर १२ टरिगाउँ क्षेत्रमा केही घरमा हावाहुरीले क्षति पुर्याएको जानकारी दिए। पश्चिम दाङका विभिन्न क्षेत्रमा गरेर झन्डै आधा दर्जन जति घरको छाना उडाएको सापकोटाले बताए। त्यस्तै, विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख दिलिप जंग चौधरीले तुलसीपुर–घोराही सडक खण्डको विजौरीमा ८ वटा जति विद्युत पोल ढलेको, तुलसीपुर ६ सृष्टि टोलमा चट्याङले लागेर विस्तारित विद्युत पोल ध्वस्त भएको, तुलसीपुरको सिँचाइ कार्यालय नजिकै विद्युत पोल ढलेको, ट्रान्समिटरमा क्षति पुगेको, पश्चिम दाङको बागमारे क्षेत्रमा पनि पोल ढलेको तथा ट्रान्समिटरमा क्षति पुगेको जानकारी दिए।
कतिपय स्थानमा मर्मत भइसकेको हुँदा विद्युत सुचारु भइसकेको र कतिपय स्थानमा पोल गाड्नुपर्ने भएको हुँदा विद्युत आउन केही सयम लाग्ने प्रमुख चौधरीले बताए। गएराति झन्डै साढे १० बजेदेखि हावा हुरी सुरू भएलगत्तै जिल्लाका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध बन्न पुगेको प्रमुख चौधरीले बताए ।