दाङको गढवामा उत्पन्न विवाद समाधानको लागि प्रमुख जिल्ला अधिकारीको कार्यालयमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ।
ईलाका प्रहरी कार्यालय गढुवाले एकजना करणी मुद्दाका अभियुक्तलाई पक्राउ गरेपछि शुक्रबार दिनभर जसो गढवामा तनाव उत्पन्न भएको थियो। प्रहरी र स्थानीयका बीचमा भएको झडपमा तीन जना प्रहरीसहित झन्डै दुई दर्जन जति स्थानीय घाइते भएका थिए। ईप्रका गढवा घेराउ तथा नाराबाजी गर्न आएकाहरूले तोडफोड र ढुङ्गामुडा गर्न थालेपछि प्रहरीले अश्रुग्याँस हान्नुका साथै लाठी चार्ज समेत गरेको थियो।
उत्पन्न विवाद समाधान गर्न भन्दै स्थानीय जनप्रतिनिधि, यादव समाजका अध्यक्ष र पीडित पक्ष शुक्रबार बेलुका घोराहीस्थित प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ कहाँ पुगेका थिए।
प्रजिअ श्रेष्ठले अदालती प्रक्रियामा गएको मुद्दा कसैको ठाडो आदेशमा फिर्ता गर्न नमिल्ने भन्दै त्यसमा सघाउन आग्रह गरेका थिए।
‘कानूनी प्रक्रिया अगाडि बढ्छ, अदालतको सबैले सम्मान गर्नुपर्छ,’प्रजिअ श्रेष्ठले भने ‘कसैले भन्दैमा मुद्दा फिर्ता लिने कुरा आउँदैन।’
करणीको अभियोगसम्बन्धी मुद्दा झूटा भएमा त्यो कानूनी प्रक्रियाबाट नै टुङ्गो लाग्ने भएको हुँदा त्यसमा कसैले हस्तक्षेप गर्न नहुने उनले बताए ।
‘उहाँहरूको गुनासो हाम्रो कुरा सुनिएन र केटी पक्षको मात्रै एकतर्फी कुरा सुनियो भन्ने रहेछ, तर उनीहरूको जे कुरा भए पनि त्यो अब कानून अनुसार नै हुन्छ,’ प्रजिअ श्रेष्ठले भने।
यादव समाजमा १४ / १५ वर्षमा बिहे गर्ने प्रचलन रहेको भन्दै यादव सेवा संघ गढवाका अध्यक्ष भगवान दास यादवले त्यो कुरा समाजमै मिलाउन आग्रह गरेका थिए । तर, प्रजिअ श्रेष्ठले कानूनमा नआउँदासम्म मात्रै समाज हुने भएको हुँदा अदालतमा मुद्दा दर्ता भएपछि त्यो अब अदालतले नै टुङ्ग्याउनु पर्ने बताएका थिए ।
दाङका निमित्त प्रहरी प्रमुख रामप्रसाद घर्तीले पनि पीडितले दिएको मुद्दाको छिनोफानो गर्ने अधिकार अदालतलाई मात्रै हुने हुँदा करणी जस्तो गम्भीर कुरामा समाजले निर्णय गर्न नमिल्ने बताए ।
डिएसपी समेत रहेका घर्तीले पीडित केटीको उमेर १४ वर्ष मात्रै रहेको हुँदा उनीसँग गरिने यौन सम्पर्क बलात्कार ठहर्ने व्यवस्था मुलुकी ऐनको १४ नं. दफामा रहेको बताए ।
‘पीडित केटीको जन्म मिति २०६०/०४/२२ गते रहेछ उनी आउने साउन २२ गते मात्रै १५ वर्षकी पुग्दैछिन्, त्यो बालविवाह पनि ठहर्छ,’ डिएसपी घर्तीले भने।
बालविवाहको लागि हदम्याद कटेको हुँदा अब जुन शीर्षकमा पीडितले मुद्दा दर्ता गरेका छन्, ‘करणी सम्बन्धी’ त्यही शीर्षकमा मुद्दा चल्ने डिएसपी घर्तीले बताए ।
‘केटी गरिब र पहुँचवाला नभएको हुँदा उनीमाथि अत्याचार गर्न खोजिएको देखिन्छ, यसअघि पनि केटी प्रहरीकोमा आएर आफूमाथि भएको अत्याचारका बारेमा जानकारी दिएकी रहिछन्, ’ अर्का एकजना प्रहरी अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने ।
त्यस्तै ती अधिकारीका अनुसार करणी मुद्दाका अभियुक्तको मुद्दा खेपी प्रहरी नियन्त्रणमा रहेका गढवा ६ गढवा निवासी भरतप्रताप यादव गढुवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवका दिदीका छोरा अर्थात भान्जा हुन् भने यादव सेवा संघ गढवाका अध्यक्ष भगवानदास यादवका मामाको छोरा अर्थात् नाताले भाइ पर्छन्।
त्यसैले उनीहरू नै पीडित पक्षलाई मुद्दा फिर्ता लिन प्रेसर दिन खोजेको तथा प्रहरी प्रशासनलाई पनि त्यही ढंगले प्रेसर दिँदै आएको ती प्रहरी अधिकारीले बताए । तर त्यही जिज्ञासा गाउँपालिका अध्यक्ष सहजराम यादवलाई राख्दा उनले त्यो अस्वीकार गरे ।
‘मेरो दिदीले नै मलाई तेरो र मेरो नाता समाप्त भयो भनेर हिजो नै भन्नु भयो, उहाँहरूले मलाई प्रहरीसँग मिलेको छ भन्ने आरोप लगाउँदै आउनु भएको छ,’ अध्यक्ष यादवले भने।
उनले अदालतमा दर्ता भइसकेको मुद्दा अब समाज वा ठानामा मिल्न संभव नभएको भन्दै कानूनी प्रक्रिया अनुरुप अगाडि बढ्नु पर्ने धारणा राखे।
‘अब थानामा मिल्न संभव छैन यो मुद्दा अदालतले टुङ्गो लगाउँछ र त्यसमा हाम्रो सहयोग रहन्छ,’ अध्यक्ष यादवले भने।
प्रजिअ श्रेष्ठले पनि आफूलाई शुक्रबारको छलफलमा समस्या समाधानका लागि समन्वय गरिदिन आग्रह गरेको बताएका अध्यक्ष यादवले कानूनको सर्वोच्चता सबैले स्वीकार्नुपर्ने धारणा राखे । तर उनले केटा र केटीका बीचमा प्रेम विवाह गरेको तथा आरोप लगाइ अनुसार जोरजवरजस्ती वा बलात्कार नभएको भन्ने जानकारी आफूले पाएको बताए ।
यादव सेवा संघ गढवाका अध्यक्ष भागवानदास यादवले पनि सिडियो कार्यालयमा भएको छलफलले खासै निकास नस्किएको बताए ।
उनले प्रहरीले शान्तिपूर्ण धर्नामा बसेका मानिसहरूलाई प्रहरी अनाहकमा कुटपिट गरेको आरोप लगाए । उनले ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेको सरुवा नहुँदासम्म आन्दोलन नरोकिने बताए ।
‘गोलेले घूस खानलाई मिलेको केश पनि उल्टाएका हुन्, उनको सरुवा नहुँदासम्म आन्दोलन रोकिँदैन,’ यादव संघका अध्यक्ष यादवले भने।
आन्दोलनको लागि शनिबार गढवामा सर्वदलीय सर्वपक्षीय भेला डाकिएको यादवले जानकारी दिए । यसैबीच एक गोप्य स्रोतका अनुसार करणी अभियोमा प्रहरी हिरासतमा रहेका २२ वर्षीय भरतप्रताप यादव केही समय पहिले शरीरमा मट्टीतेल छर्केर आफैँले आफ्नो ज्यान लिन खोज्दा घाइते समेत छन् ।
उनको टाउको र अनुहार जलेर घाउ भएको थियो। उनको ज्यान जोगिए पनि हालसम्म औषधी उपचार गरिरहेका छन् । गढुवा गाउँपालिका वडा नं. ६ गढुवा बजार निवासी २२ वर्षीय भरतप्रताप यादवको स्थानीय १४ वर्षीया ती किशोरीसँग तीन महिना अगाडि मात्रै प्रेम विवाह गरेका थिए । तर, उनीहरूको सम्वन्धमा एकआध महिनामै दरार आएको थियो । त्यसपछि केटीले जेठ २७ गते आफूमाथि जोर जवरजस्ती बलात्कार भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । सो पश्चात प्रहरीले आरोपित भरतप्रताप यादवलाई पक्राउ गरी मुद्दा दर्ता गरेर कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको छ।
केटा पक्षले त्यसको विरोध गर्दै आएका छन् । जवरजस्ती करणीको आरोपमा पक्राउ परेका भरतप्रताप यादवको विनासर्त रिहाइको माग गर्दै आफन्त तथा स्थानीयले शुक्रबार दिनभर जसो ईप्रका गढुवामा धर्ना, घेराउ, नाराबाजी र ढुङ्गा मुढा प्रहार गरेको प्रहरीले बताएको छ।