विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी अखिल (क्रान्तिकारी)ले आह्वान गरेको एक दिने शैक्षिक आमहड्तालले गर्दा आइतबार बिहानैदेखि दाङका शैक्षिक संस्थाहरु ठप्प छन्।
विभिन्न राजनीतिक माग राख्दै गरिएको शैक्षिक आमहड्ताका कारण शैक्षिक संस्था ठप्प भएपछि बिहानै कलेज तथा स्कूल पुगेका कतिपय विद्यार्थी घर फर्किरहेका छन्। विभिन्न बाहानामा गरिने पटक/पटकको शैक्षिक आमहड्ताले आफूहरुको पढन पाउने अधिकार खोसिएको विद्यार्थी प्रभा डाँगीले बताइन्।
राजनीतिक दलका भातृ संगठनहरुले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने माध्यम शैक्षिक संस्थालाई गराउनु दुःखद पक्ष रहेको उनले भनिन्। ‘मलाई थाहाँ थिएन, बिहानै कलेज आएँ, तर कलेज बन्द देखेँ र बुझ्दै जाँदा विप्लव निकटको (क्रान्तिकारीको) को शैक्षिक आमहड्ताल भन्ने थाहाँ भयो।’
पटक/पटक हुने गरेका यस्ता शैक्षिक आमहड्तालले झनै विद्यार्थीको भविस्य बर्वाद हुने उनले बताइन्। ‘बन्द सदाको लागि बन्द गर्नुपर्छ, किनकी कलेजले फि लगिहाल्छ भने हामीलाई पढ्न पाउने अधिकारबाट बञ्चित गरिनु गलत हो,’ कलेज पुगेर फर्किएकी उनले भनिन्, ‘शैक्षिक क्षेत्रमा भएका विकृति र विसंगतिको अन्त्यका लागि बन्दकर्ताले अनसन तथा अन्य वैकलल्पिक दवाव मुलक कार्यक्रम गर्न उपयुक्त हुन्छ र तर शैक्षिक संस्था बन्द गर्नु हुन्न।’
यसैबीच अखिल क्रान्तिकारीका दाङ जिल्ला सचिव अमर खड्काले शिक्षा क्षेत्रमा भइरहेको शुल्क बृद्धि,माफियाकरण, दलालीकरण तथा भ्रष्टिकरण र विदेशी पाठ्यक्रम अनुसार पढाउँदै आएका विद्यालयको खारेजीको मागगर्दै आइतवार देशव्यापी रुपमा शैक्षिक आमहड्ताल आह्वान गरिएको जानकारी दिए।
उनले शिक्षासँग सरोकार राख्ने सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द आह्वान गरिएको बताए। ‘विद्यालय, कलेज, ट्यूसन सेन्टर सबै बन्द गर्न आग्रह गरको छौं। हाम्रो आग्रह अवेज्ञा गरे कारबाही हुन्छ,’ सचिव खड्काले भने।
अखिल (क्रान्तिकारीका)का सचिव खड्काले पेट्रोलियम पदार्थमा गरिएको लगातारको मृत्यु बृद्धि, त्यसको विरोधमा उत्रिएका विद्यार्थी माथिको सरकारी दमन तथा धरपकडको विरोधमा गरिएको बन्दलाई सबैले साथ तथा समर्थन गरेको दाबी गरे। ‘सरकार तानासाही ढंगले चलेको छ। लोकतन्त्रको मजाग उडाइको छ । त्यसको विरोध गर्नु पाउनु हाम्रो अधिकार हो,’ खड्काले भने।
तर अधिकारकर्मीहरुले भने ‘शान्ति क्षेत्र’का रुपमा परिभाषित र घोषित विद्यालय क्षेत्रलाई विभिन्न बहानामा बन्द गर्नु र विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार खोस्नु गलत भएको भन्दै बन्दको विरोध गरेका छन्।