दाङमा छुट्टाछुट्टै घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
इनार (कुवा) खन्ने क्रममा माटो खसेर एक जनाको र रुखबाट लडेर अर्का एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पढ्ढामा इनार खन्ने क्रममा माटो खसेर लाग्दा गम्भीर घाइते भएका ४२ वर्षीय भक्तबहादुर विकको उपचारका क्रममा शनिबार बिहान ९ बजे कोहलपुरमा निधन भएको हो।
शुक्रबार दिउँसो स्थानीय भोलाराम केसीको घरमा इनार खन्दै गर्दा माथिबाट झरेको माटोले लाग्दा विक गम्भीर घाइते भएका थिए। तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको थियो। उपचारका क्रममा शनिबार बिहान उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै दाङ देउखुरीको राप्ती गाउँपालिका २ बराखुटीमा जामुनको रुखबाट खसेर गम्भीर घाइते भएका बालकको पनि उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
शुक्रबार दिउँसो बराखुटी निवासी बलबहादुर कुमालका १२ वर्षीय छोरा गोरे कुमाल रुखमा जामुन टिप्न गएका बेला लडेर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका बालक कुमाललाई लालमटियामा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।