५४ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका नेपाली सेनाका बाहालवाला मेजरसहित एक अर्का व्यक्तिलाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा पेश गरेको छ।
बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको मेयर गण शम्सेरगञ्जमा कार्यरत नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाही र बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ९ ढकेरी निवासी रिम पौडेललाई जिल्ला अदालत बाँकेका आइतबार दिउँसो आवश्यक अनुसन्धान र कारवाहीका लागि म्याद थपका लागि अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।
शनिबार बेलुका ७ बजेतिर जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको विशेष ब्यूरोले ढकेरीस्थित एवान कजेटबाट ब्राउन सुगरसहित ती दुई जनालाई पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता मल्लले जानकारी दिए।
‘शाही बाहालवाला नेपाली सेनाको मेजर भन्ने कुरा सार्वजनिक भएको छ, तर उनले अझै प्रहरी समक्ष परिचय पत्र देखाएका छैनन् । आजम्याद थपपछि बल्ल औपचारिक रूपमा अनुसन्धान तथा सोधपुछ सुरू हुनेछ,’ प्रदेश प्रहरी प्रवक्ता मल्लले भने।
पक्राउ परेका एवान कटेका मालिक समेत भनिएका पौडेल लागूऔषधका कारोबारी रहेको भन्ने हल्लाहरु आएको भएपनि त्यो कुरा अनुसन्धानपछि मात्रै भन्न मिल्ने मल्लले बताए । बरामद गरेको वस्तु लागूऔषध ब्राउन सुगर भए पनि त्यो हो कि हैन भन्ने पुष्टि भने ल्याव परीक्षण पछि मात्रै हुने प्रदेश प्रहरी प्रवक्ता मल्ले बताए।
यदि अभियोग पुष्टि भएका पक्राउ परेका शाही र पौडेलमाथि लागूऔषध सम्बन्धी मुद्दा चलाएर सामान्य नागरिकलाई जस्तै गरि कारवाही हुने प्रहरीले जानकारी दिएको छ ।