चन्द्रौटामा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा परी दाङका एक जना युवाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्।
मोटरसाइकल दुर्घटनामा परी दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी ४० वर्षीय अनिल बस्नेतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ। उक्त दुर्घटनामा परी सोही ठाउँकै ३० वर्षीय सन्तोष पुन र १८ वर्षीय विशाल पुन गम्भीर घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ।
घाइते पुन द्धयलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको ईप्रका चन्द्रौटाले जानकारी दिएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको भालुवाङदेखि पूर्व बुटवलतर्फ जाँदै गरेको भे ८ प ११५१ नम्बरको मोटरसाइकल मंगरलबार बिहान पौने १२ बजेतिर कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ५ खैरीमा दुर्घटनामा परेको थियो।
गम्भीर घाइते बस्नेतको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरू तीनै जना एउटै मोटरसाइकलमा सवार थिए । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।