दाङमा सवारी दुर्घटनामा परी ११ महिनामा ७५ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म दाङमा १ सय ६० वटा सवारीका साधन दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको र २ सय ८८ जना व्यक्ति अंगभंग तथा घाइते भएको उल्लेख छ।
जिल्लामा भएका घटनाको विवरण हेर्दा सबभन्दा धेरै ४५ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । त्यस्तै, ३७ वटा बस, २९ वटा जिप, २० वटा टिपर /ट्रक, १७ वटा ट्रयाक्टर र १२ वटा टेम्पोहरू दुर्घटनामा परेको ट्राफिक प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
मंगलबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक मदनबहादुर कुँवरले सडक अनुशासन र ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको बताए ।
उनले सडक अनुशासनसँगै राज्यका सरोकार राख्ने निकायहरूले सडक सुधारमा ध्यान दिएको खण्डमा दुर्घटना न्यूनीकरण हुने कुँवरले बताए । निर्माण सामग्रीहरू सडकमै थुपार्नु, सवारी चलाउँदा मदिरा सेवन गर्नु, तीव्र गतिमा कुदाउनु , चलाउनु पूर्व सवारी साधनको मर्मत र चेकजाँचमा उचित ध्यान नदिनु , क्षमता भन्दा बढी मानिस तथा सामग्री राख्नु जस्ता दुर्घटनाका प्रमुख कारण भएको उनले जानकारी दिए ।
घोराहीस्थित ट्राफिक प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक कुँवरले प्रमुख समस्या ट्राफिकालाई छल्न खोज्नले गर्दा व्यक्ति दुर्घटनाको मुखमा पुग्ने गरेको बताए । त्यस्तै उनले तीव्र गति दुर्घटनाको प्रमुख कारक रहेको भन्दै सञ्चार माध्यमले चेतना विस्तारको लागि अहम भूमिका खेल्नुपर्ने कुँवरले आग्रह गरे
दुर्घटनाको प्रमुख कारण चालक नै हुने भएपनि सहायक कारण सवारी साधन, भूगोल, सडक, मौसम जस्ता कुराहरू हुने हुँदा चालक सबभन्दा बढी होसियार हुन आवश्यक रहेको बताए ।
त्यस्तै, उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङसँग जनशक्तिको अभाव रहनुका साथै उपयुक्त उपकरण र स्रोत साधनको समेत अभाव रहेको बताए । जिल्लामा जम्मा ३१ जना मात्रै ट्राफिक प्रहरी रहेको हुँदा त्यो अपर्याप्त रहेको बताए ।
जिल्लाको सडकको दूरी र सवारी साधनको संख्यालाई नियाल्दा एउटा ट्राफिक प्रहरीलाई १५ किलो मिटर सडकको सुरक्षा र ९ सय ६७ वटा सवारी साधनको निगरानी गर्नुपर्ने बाध्यता रहेको प्रमुख कुँवरले बताए। उनले सवारी चाप दाङमा दिनानुदिन बढ्दै गएको भन्दै जिल्लामा ट्राफिक प्रहरीको संख्या झन्डै दुई गुणा बढी थप्न आवश्यक रहेको बताए ।