येँया पुन्ही
उनीहरू बाँसका लामा-लामा भाटाबाट केही बनाउँदै थिए। आगोमा भाटा झिरर्र तताउँथे। घुमाउरो पार्थे। अनि जोड्दै जान्थे।
एउटा फ्रेम बनिसकेको थियो। त्यसैमा भाटा थप्दै गए।
जोड्दै जादाँ कहिले भाटाले ठाउँ छाड्थ्यो। अनि सबै जना मिलाउन खटिन्थे। बिग्रिएको ठाउँ तारले बाँध्थे। आकारमा अड्याइराख्न सजिलो हुन्थ्यो।
लामो प्रयासपछि बल्लतल्ल ठूलो डुंगाजस्तो केही बन्दै थियो।
यो काठमाडौं किलागलस्थित बिज्यापु चोकको दृश्य हो।
बुधबार बिहानैदेखि स्थानीय येँया पुन्ही (इन्द्रजात्रा) को ‘पुलु किसी’ अर्थात् सेतो हात्तीको शरीर बनाउन खटिएका थिए। तयार भइसकेपछि इन्द्रजात्राभर यो सेतो हात्ती नचाइन्छ।
भोलिपल्ट (बिहीबार) बिहान पुग्दा पनि दृश्य उस्तै थियो।
हात्तीको शरीर अझै तयार भएको थिएन। तिनै स्थानीय काममा खटिएका थिए। हिजो जोडेका भाटा नदेखिने गरी डोरीले कसेर बाँध्दै थिए। हात्तीको शरीरलाई कहिले उल्टो फर्काउँथे, कहिले सुल्टो। कहिले दायाँ, कहिले बायाँ।
बीचबीचमा नयाँ मान्छे थपिन्थे। उनीहरू पनि त्यही काममा जुट्थे। यति मिहिन तरिकाले सबै भाग छोप्दै उनीहरू बाँसका पाटा कस्दै थिए।
सायद, हात्ती तयार हुन अझै एक दिन लाग्छ!
यो ऐरावत हात्ती हो। स्वर्गलोकका राजा इन्द्रको बाहन।
कसरी आइपुग्यो त यो ऐरावत हात्ती किलागलमा?
किम्बदन्तीअनुसार एकपटक इन्द्रकी आमा बसुन्धरालाई भाद्र सप्तमी तिथिमा ब्रत बस्नु थियो। त्यसका लागि उनलाई पाल्जा स्वाः (पारिजातको फूल) चाहिने भयो। त्यो इन्द्रलोकमा पाइन्नथ्यो।
उनले छोरा इन्द्रलाई पाताल पठाइन्। इन्द्र फूल खोज्दै काठमाडौं पुग्छन्। एउटा किसानको बगैंचामा फूल देखेपछि टिप्छन्। किसानले इन्द्रलाई चोर ठानेर समात्छन्। घरको भित्तामा बाँधेर राख्छन्।
आमा बसुन्धरा अबेरसम्म छोरा नफर्किएपछि आत्तिन्छिन्। अनि इन्द्रको बाहन सेतो हात्तीलाई पाताललोक पठाउँछिन्।
हात्ती इन्द्र खोज्दै किलागल आइपुग्छ। त्यहाँका स्थानीयले हात्तीलाई पनि समातेर राख्छन्। हात्ती खबर लिएर स्वर्गलोक फर्किन पाउँदैन। इन्द्रकी आमालाई आफैं पाताल झर्नुपर्ने हुन्छ।
यही कथा बुनिएको छ, इन्द्रजात्राको ‘पुलु किसी’ अर्थात सेतो हात्तीको नाचमा।
हनुमानढोका दरबारअगाडि लिंगो (यः सीं) उठाएर आधिकारिक रूपमा येँया पुन्ही सुरु हुन्छ। पुलु किसी पनि त्यही दिनबाट देखाउन थालिने सञ्चालक चन्द्रमान महर्जनले बताए।
असोज ८ गते कुमारी रथयात्राको पहिलो दिन हो। यो दिन राष्ट्रप्रमुख आएर कुमारी दर्शन गर्छन्। पुलु किसी रथको अघिअघि हिँड्छ।
एक दिन तल्लो टोल (कोहने), दोस्रो दिन माथिल्लो टोल (ठनेचा) र तेस्रो दिन बीचको टोल (नानिचा) मा गरी तीन दिन रथ तानिन्छ। पुलु किसी भने रथ नतानेको दिन पनि हिँड्छ।
‘इन्द्रजात्राको पुलु किसी भन्नु नै सेतो हात्तीले इन्द्रलाई अनवरत खोज्नु हो। जात्रा सुरु भएदेखि अन्तिमसम्मै हात्ती हिँड्छ,’ महर्जनले भने, ‘कसैले हाम्रो टोल वा संस्थामा पनि देखाउनुपर्यो भनेर पत्र लेखे पुलु किसी त्यहीँ पुग्छ। त्यसैले रथयात्राबाहेकका दिन हात्ती घुम्ने निश्चित ठाउँ हुँदैन।’
पुलु किसीको शरीर दुई जना मान्छे पस्न मिल्ने गरी बनाइन्छ। दुई जनाले बाँसको शरीर सन्तुलनमा राख्छ। बाहिर अर्को जनाले हातमा चिलाखः (मसाल) बोक्छन्। ‘पुलु किसी’ बन्ने मान्छे भने निश्चित हुँदैनन्।
हात्तीलाई चित्र कोरिएको कपडाको बाक्लो लुगा लगाइन्छ। सूँड भएको मुकुट टाउकोमा हालिन्छ। जात्राको हुलमुलमा हिँड्दा लुगा च्यातिने, मसालले जल्ने, हिलोमा फोहोर हुने लगायत समस्या दिनहुँ आउने महर्जन बताउँछन्।
‘एउटै लुगाको ७ हजार रुपैयाँ पर्छ। साताव्यापी जात्रामा लुगाकै समस्याले परम्परा धान्न मुस्किलजस्तो हुन्छ,’ उनले भने, ‘हात्ती वरिपरि हिँड्ने मान्छेका लागि टिसर्ट बनाउनुपर्छ। यी सबमा खर्च हुन्छ। सरकारी सहयोग पुग्दो छैन। स्थानीयले नै धर्म कमाउन सहयोग गर्छन्। परम्परा जेनतेन धानिएको छ।’
महर्जनका अनुसार पहिले राजाले हेर्न खोज्ने नाचमध्ये पुलु किसी पनि पर्थ्यो। कुनै दिन नाच आउन ढिला भए भारदारलाई नै किलागल पुर्याएर नाच ल्याउन लाउँथे। यसमा सरकारको महत्व थियो।
येँया पुन्हीको आकर्षण पुलु किसीलाई सरकारी निकायले बेवास्ता गरेको किलागलबासीलाई लाग्न थालेको छ।
पुलु किसी काठमाडौंमा मात्र नाच्दैन। भक्तपुरमा पनि छ। त्यहाँको पुलु किसी अलि भिन्न छ।
काठमाडौंमा सेतो हात्ती देखाएर ‘पुलु किसी’ मनाइन्छ। भक्तपुरमा निलो हात्ती देखाएर। यहाँ काठमाडौंमा जस्तो इन्द्रजात्राभर पुलु किसी देखाइँदैन। जात्राको अन्तिम दिन मात्रै देखाइन्छ।
संस्कृतिविद् ओम धौभडेलका अनुसार भक्तपुरको पुलु किसीसँग जोडिएको कथा पनि काठमाडौंको भन्दा बेग्लै छ।
इन्द्रकी आमा बसुन्धरालाई ब्रत गर्न पारिजात फूल चाहिएको हुन्छ। भक्तपुरको कथामा इन्द्र आफैं फूल लिन जादैँनन्। छोरा जयन्तलाई पठाउँछन्। किसानको बारीमा फूल चोर्दा समातिन्छन्।
‘इन्द्रजात्रामा भक्तपुरका टोलटोलमा ‘यम द्यःचा’ उठाइन्छ। यो भनेको फूल चोरी गर्ने जयन्तलाई बाँध्नु हो,’ धौभडेलले भने, ‘काठमाडौंमा भने त्यसरी नै लिंगो (यः सीं) उठाइन्छ। त्यो भनेको पनि इन्द्रलाई बाँध्नु हो।’
छोरा जयन्त समातिएपछि राजा इन्द्रले बाहन हात्ती पठाउँछन्। भक्तपुरको पुलु किसी यही निलो हात्ती हो।
भक्तपुरको पुलु किसी बाँसको मान्द्रोले बनेको हुन्छ। मान्द्रोको अर्थ ‘पुलु’ हो। ‘किसी’ भनेको हात्ती। हात्तीलाई लुगा लगाएर सूँड हालिन्छ। पुलु किसीमा हात्तीको सूँड कसैले छोयो भने बिरामी परिन्छ भन्ने मान्यता छ।
काठमाडौंमा दुई जनाले बोक्ने पुलु किसी भक्तपुरमा चार जनाले बोक्छन्। यसको शरीरभित्र एक जना बसेको हुन्छ। त्यो मान्छेको जिम्मेवारी हात्तीको सूँडनिरको घन्टी बजाउँदै हिँड्नु हो।
धौभडेलका अनसार इन्द्रका छोरा समातिएका समयमा राक्षसहरूको राज्य थियो। यो घन्टी बजाउनुको अर्थ राक्षसलाई खोज्दै जानु हो।
भक्तपुरको इन्द्रजात्रामा राक्षस (मुपात्र) पनि निकालिन्छ। यसका दुई मन्त्री हुन्छन्। पुलु किसीले राक्षसलाई देख्यो भने कुल्ची-कुल्ची मार्न पाउने नियम छ। त्यसैले, पुलु किसी र मुपात्रको भेट नहुने गरी इन्द्रजात्रा व्यवस्थापन गरिएको हुन्छ।
येँया पुन्ही विशेषमा यी पनि पढ्नुहोस्ः