उनीहरूले वर्षौंदेखि उन्मुक्ति पाउँदै आए। जो उनीहरूका शिकार भए, तिनले न्याय पाएनन्। न्यायको आस पनि गरेनन्।
वर्षौं पुरानो यो नियति एकदिन अचानक बदलियो।
हलिउडका नामी फिल्म निर्माता हार्भे विन्स्टनविरुद्ध थुप्रै अभिनेत्रीले यौन उत्पीडन र दुर्व्यवहारको आरोप लगाए। न्यूयोर्क टाइम्सले ती अभिनेत्रीहरूका बयान सिलसिलेवार छाप्यो। हलिउडका हस्ती पहिलोचोटि निरीह साबित भए। उनले सार्वजनिक माफी मागे। हलिउडबाट उनको प्रतिष्ठा हरायो।
यो सन् २०१७ अक्टोबरको घटना हो।
त्यसयता थुप्रै महिलाले यौन उत्पीडनविरुद्ध आवाज उठाएका छन्। ‘ह्यासट्याग मिटू’ (#मिटू) अन्तर्राष्ट्रिय अभियान बनेको छ। हलिउडदेखि राजनीतिक क्षेत्रका ठूल्ठूला नाम मुछिएका छन्। महिलामाथिको यौनहिंसाप्रति सामाजिक जवाफदेहिता बढेको छ। अन्यायविरुद्ध आवाज उठाए ढिलोचाँडो न्याय पाइन्छ भन्ने चेत खुलेको छ।
यसै सन्दर्भमा न्यूयोर्क टाइम्सले हार्भे विन्स्टनको घटना सार्वजनिक भएयता यौन उत्पीडनको आरोप लागेका अमेरिकी हस्तीहरूको तथ्यांक विश्लेषण गरेको छ।
उक्त विश्लेषणअनुसार एक वर्षयता २ सय १ जना प्रतिष्ठित पुरुषले जागिर गुमाएका छन्। विन्स्टनसहित केहीविरुद्ध फौजदारी अभियोग लागेको छ। जागिर गुमाएका पुरुषलाई प्रतिस्थापन गर्नेमा झन्डै आधा महिला छन्। अहिलेसम्म १ सय २३ जनाको पदमा नयाँ नियुक्ति गरिएकामा ५३ महिला छन् भने ७० पुरुष। यसबाहेक कम्तीमा ९ सय २० जनाविरुद्ध कुनै न कुनै यौन दुर्व्यहारको आरोप छ।
महिलामाथि हुँदै आएको यौन उत्पीडन तथा दुर्व्यवहारविरुद्ध यो अहिलेसम्मकै ठूलो छलाङ हो।
विन्स्टनको घटना सार्वजनिक हुनुअघि यस्तै आरोप लागेर पद गुमाएका व्यक्तिको संख्या निकै कम छ। त्यसअघिको एक वर्षमा ३० जनाभन्दा थोरै प्रतिष्ठित व्यक्तिलाई यौन उत्पीडन आरोपमा बर्खास्त गरिएको पाइन्छ। फक्स न्यूज च्यानलका कार्यक्रम प्रस्तोता बील ओ’रिली तिनैमध्ये एक हुन्। सन् २०१७ अप्रिलमा उनले राजीनामा दिएका थिए।
बीलको राजीनामा एउटा पूर्वकम्पन मात्र थियो। त्यसपछि त आरोप, राजीनामा र बर्खासीको लामो सिलसिलै चल्यो।
‘हामीले यस्तो पहिले कहिल्यै देखेका थिएनौं,’ क्यालिफोर्निया विश्वविद्यालयमा लैंगिक शिक्षा अध्ययन गरेका कानुन प्राध्यापक जोन विलियम्सले भने, ‘महिलाहरूलाई सधैं जोखिमपूर्ण रूपमा हेरिन्थ्यो। यो अभियानपछि पुरुषहरू त्योभन्दा बढी जोखिमपूर्ण अवस्थामा देखिन थालेका छन्।’
यति हुँदाहुँदै कार्यालयहरूमा यौन दुर्व्यवहारका घटना कम भएका छैनन्। संघीय कानुनले महिलाहरूको ठूलो समूहलाई यौनहिंसाबाट सुरक्षित गर्न सकेको छैन। स्वतन्त्र कामकाजी वा १५ जनाभन्दा कम कर्मचारी भएका कम्पनीमा महिलाको अवस्था चिन्ताजनक छ। कार्यालयहरूका निम्ति लागू नयाँ नीतिले यसलाई सम्बोधन गर्न खोजेको छ। तर हाम्रो प्रवृत्तिमै सुधार नभएसम्म यसको प्रभाव कम देखिन्छ।
#मिटू अभियानले केही हदसम्म समाजको शक्ति संरचनामा कम्पन ल्याएको छ। राजनीति, सिनेमा, सञ्चारजस्ता क्षेत्रमा यो कम्पन अझ बढी छ। यी सबैले देख्ने क्षेत्र हुन्। कतिपय आरोपित व्यक्ति आ–आफ्नो क्षेत्रका ‘नायक’ थिए। धेरैले ‘रोलमोडल’ मानेका थिए। उनीहरूको पेसागत अवसानले अन्य क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्न सक्छ। त्यस्ता व्यक्तिको ठाउँ महिलाहरूले लिएको तथ्यांकले सामाजिक रूपान्तरणमा अझ महत्वपूर्ण भूमिका खेल्न सक्छ।
न्यूयोर्क टाइम्सको विश्लेषणअनुसार जागिरबाट हात धोएका २ सय १ पुरुषमध्ये ४३ प्रतिशतलाई महिलाले प्रतिस्थापन गरेका छन्। तीमध्ये एकतिहाइ सञ्चार माध्यममा छन् भने एकचौथाइ सरकार र बाँकी मनोरञ्जन तथा कला क्षेत्रमा छन्।
उदाहरणका लागि, ‘हाउस अफ कार्डस्’ को मुख्य भूमिकामा केभिन स्प्यासीलाई रविन राइटले प्रतिस्थापन गरेका छन्। ‘द पेरिस रिभ्यू’ का सम्पादकमा लरिन स्टिनको ठाउँ इमली निमन्सले लिएकी छन्। मिनिसोटाको सिनेटरमा अल फ्रान्किनको सट्टा टिना स्मिथ आएकी छन्।
यौन उत्पीडन र दुव्यर्वहारको घटनाले जुन संस्थामा हलचल ल्याइदियो, त्यहाँ महिलाहरूको शक्ति बढेको छ। महिला नियुक्तिले नै परिवर्तन सुनिश्चित गर्छ भन्ने छैन। कतिपय ठाउँमा महिलाहरूले नै दुर्व्यवहार गरेका घटना छन्। महिलामाथिको दुर्व्यवहारलाई महिलाले नै ढाकछोप पनि गर्छन्। कतिपय अवस्थामा संस्थामाथि संकट आइपर्दा वा नेतृत्व असफल हुने सम्भावना बढी हुँदा महिलालाई नेतृत्व सुम्पने प्रवृत्ति छ। अहिलेको घटना त्यसैको निरन्तरता हुनसक्छ।
हार्भे विन्स्टनको अवसानपछि महिलाहरू माथिल्लो पदमा पुग्ने क्रम बढेको छ। यो सकारात्मक संकेत हो। तर, अमेरिकी संस्थाहरूको कार्यकारी तहमा महिला प्रतिनिधित्व अझै एकदमै कम छ।
पुरुषको तुलनामा महिलाहरूले नेतृत्व गरेको कार्यालयमा काम गर्ने वातावरण सम्मानजनक हुने विभिन्न अध्ययनले देखाउँछ। त्यस्तो ठाउँमा दुव्यर्वहारजस्ता घटना कमै हुन पाउँछन्। भए पनि महिलाहरू आवाज उठाउन समर्थ हुन्छन्। महिला नेतृत्व भएको ठाउँमा तल्लो तहका महिलाले बढी प्रोत्साहन पाउँछन्। उनीहरूको पारिश्रमिक र सुविधा पुरुष बराबर हुन्छ। जहाँ महिला र पुरुषले बराबर हैसियतमा काम गर्ने वातावरण पाउँछन्, त्यस्तो कार्यालय बढी नाफामा रहेको अध्ययनले देखाउँछ।
अध्ययनले भन्छ, ‘दैनिक जीवनमा धेरैजसो किनमेल महिलाहरूले नै गर्छन्। यसले महिलाको आर्थिक निर्णय लिने खुबी पुरुषको दाँजोमा बढी हुन्छ। घरव्यवहारको अनुभवले खारिएका महिलाहरू कुनै संस्थाको निर्णायक तहमा पुगे, संस्थागत विकासमा पनि सकारात्मक प्रभाव पार्छ।’
अध्ययनले यो पनि भन्छ, ‘सरकारी निकायमा पुरुष कर्मचारीभन्दा महिलाहरू बढी समावेशी र सहकारी हुन्छन्। महिला, बालबालिका तथा समाज कल्याणका नीति धेरैजसो महिला कर्मचारीबाटै प्रवर्द्धन भएका छन्।’
‘यदि तपाईं सबैप्रति सद्भाव राख्नुहुन्छ र सबैसँग राम्रो सम्बन्ध बनाउनुहुन्छ भने गाह्रो काम पनि सजिलै पूरा हुन्छ,’ डेमोक्रेट सिनेटर टिना स्मिथले भनिन्, ‘नीति निर्माणको तहमा बस्नेको निम्ति सफलताको आधार नै यही हो।’
उनले आफू र अलास्काका ‘रिपब्लिकन’ सिनेटर लीसा मुर्कोस्कीको उदाहरण दिइन्।
उनीहरूले माध्यमिक विद्यालयमा छँदा ट्रान्स–अलास्का पाइपलाइनसम्बन्धी परियोजनामा सँगै काम गरेका थिए। त्यतिबेलाको घनिष्ठताले गत महिना मानसिक स्वास्थ्यसम्बन्धी विधेयक ल्याउन मद्दत गरेको उनी बताउँछिन्।
उता, सञ्चार र मनोरञ्जन क्षेत्रमा पुरुषलाई प्रतिस्थापन गरेका महिलाहरूबाट कामको तौरतरिकामै परिवर्तन देखिन थालेको छ।
अमेजन स्टुडियो प्रमुखमा रोय प्राइसलाई प्रतिस्थापन गरेका जेनिफर साल्कले भनेकी छन्, ‘अमेजनलाई महिलाकेन्द्रित ठूलो स्तरका कार्यक्रमको खाँचो छ।’
उनले आफू नेतृत्वमा आएलगत्तै लीना वेथ र निकोल किडम्यान लगायत लोकप्रिय कलाकारसँग सम्झौताको घोषणा गरेकी छन्।
यस्तै उदाहरण सार्वजनिक रेडियो कार्यक्रम ‘द टेकअवे’ मा पनि भेटिन्छ। त्यहाँ जोन होकनबेरीको ठाउँ तान्जिना भेगाले लिएकी छन्। तान्जिनाले कार्यक्रम चलाउन थालेयता लैंगिक विषयमा थुप्रै शृंखला प्रसारण भएका छन्। उनी पहिलेदेखि त्यहाँ लैंगिक विषय हेर्दै आएकी थिइन्। नेतृत्वमा पुगेपछि अब राष्ट्रिय बहसको विषय बनाउने उनले बताएकी छन्।
‘म आफू महिला भएकीले मात्र लैंगिक विषयमा जोड दिएको होइन,’ सिएनएन र न्यूयोर्क टाइम्सका पूर्व संवाददाता तान्जिना भन्छिन्, ‘यसबारे बहस हुनैपर्ने खाँचो थियो।’
बढुवा भएर माथिल्लो तहमा पुगेका यी महिलाले आफ्नो तर्फबाट परिवर्तनको सुरुआतसम्म गर्न सक्छन्। किनभने, उनीहरूले जुन प्रणालीमा काम गर्नुपर्छ, त्यहाँ पुरुषकै वर्चश्व छ। जागिरबाट निकालिएका वा राजीनामा दिएकामध्ये १० प्रतिशतभन्दा बढीले पुनः पहिलेकै हैसियतमा फर्कने प्रयास गरेका छन्। यसको निम्ति कम्तीमा आफ्नो व्यवहार सुधारेको विश्वास दिलाउनुपर्छ भन्ने पनि उनीहरूले जरुरी ठानेनन्। धेरैले त पद गुमाए पनि आर्थिक हैसियत कायम छ।
विन्स्टनको अवसान र #मिटू अभियानपछि पनि यस्तो अवस्था रहनुले अमेरिकी समाजको पुरुषकेन्द्रित शक्ति संरचना झल्काउँछ।
‘यौन उत्पीडनका शिकार महिलाहरूले जुन मानसिक पीडा झेले, पुरुषहरूले कहिल्यै त्यसबाट गुज्रिनुपरेन,’ मिटू अभियानका संस्थापक तथा सामाजिक अभियन्ता ताराना ब्रुकेले भनिन्।
तारानाले यौनहिंसा प्रभावितलाई सशक्तीकरण गर्ने उद्देश्यले सन् २००६ मा मिटू अभियान सुरु गरेकी थिइन्। त्यसको ११ वर्षपछि जब महिलाहरूले आफूमाथि भएका यौन उत्पीडन र दुर्व्यवहारको खुलासा गर्न थाले, तब #मिटू अभियानले तीव्रता लिएको हो।
‘यति ठूलो अभियान चल्दा पनि एकदमै कम व्यक्तिले मात्र आफूले गरेका दुर्व्यवहारको जिम्मेवारी लिँदै पीडित पक्षसँग सार्वजनिक क्षमायाचना गरेका छन्,’ उनले भनिन्।
यसबीच पुरुषलाई प्रतिस्थापन गर्दै माथिल्लो तहमा पुगेका महिलाले ‘कार्यकारी भूमिका निर्वाह गर्न आफूहरू सक्षम रहेको’ बताएका छन्।
‘हामीलाई माथिल्लो तहमा बढुवा गरिनुको कारण हामी काममा दक्ष भएर हो,’ रेडियो कार्यक्रम प्रस्तोता तान्जिनाले भनिन्, ‘हामीसँग क्षमता छ। अनुभव छ। अनुशासन छ। इमान छ। मूल्य–मान्यता छ। र, हामी आफ्नो भूमिका निर्वाह गर्न सक्षम छौं।’
यो पनि हेर्नुहोस्- नेपालमा #मिटू: दुई महिलाद्वारा केशव स्थापितमाथि आरोप र उनको प्रतिक्रिया