मालपोत कार्यालयमा आफ्नो नाममा रहेको त्यही जग्गा नापी कार्यालयमा पुग्दा अर्कैको नाममा छ। कुरा सुन्दा पनि अचम्मै लाग्ने खालको एउटा यस्तै घटना दाङको मालपोत कार्यालयमा भएको छ।
कसले बदमासी गर्यो? यी दुई कार्यालय मध्ये कमजोरी कसको हो? त्यो पत्ता नलाग्दा दाङ घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी ६४ बर्षीय चित्रविर घर्ती मगर तनावमा छन्।
धर्ना गाउँस्थित कित्ता नं. ४३४ को ९ कठ्ठा ७ धुर जग्गा उनकी हजुरआमा बोदी घर्तीले विक्रम संवत २०१८ साल फागुन ९ गते स्थानीय डिल्लीबहादुर कार्कीसँग किनेकी थिइन्।
बोदीको मृत्युपछि २०३९ सालमा त्यो जग्गा चित्रविरकी आमा सावित्रा घर्तीको नाममा आयो। पछिल्लो समय ७ वर्ष पहिले त्यही जग्गा आमाको शेषपछि २०६८ साल असार २ गते चित्रविरको नाममा नामसारी भयो। यो सबै विधिवत रुपमै भएको छ।
चित्रविरको परिवारको घरवास अहिले पनि त्यही जग्गामा छ। उहिलैदेखि घर्तीका परिवारले यो जग्गा उपभोग गर्दै आएका पनि छन्। यसबीचमा धेरै पटक त्यो जग्गा कृषि विकास बैंकमा धितो राखेर घर्ती परिवारले ऋण कर्जाको काम पनि गर्दै आएको छ। यसमा कुनै समस्या उत्पन्न भएन। किनकि, मालपोत कार्यालयमा अहिले पनि धर्ना गाउँस्थित कित्ता नं. ४३४ को ९ कठ्ठा ७ धुर जग्गा चित्रविर घर्ती मगरकै नाममा छ।
त्यो जग्गा धनिपूर्जा बाटै सबैतिर ऋण कर्जाको काम हुँदै आयो। जग्गा धनीपूर्जा आँफूसँगै रहेपछि घर्ती परिवारले पनि अन्यथा सोच्ने कुरै थिएन। त्यो जग्गा उनैको हो भन्नेमा ढुक्क थिए।
तर, झन्डै दुई वर्ष अगाडि चित्रविरका तीन छोरा छुट्टीन खोजे। अब चित्रविरले तीन छोराहरु रणबहादुर, भुपबहादुर र अरुणलाई जग्गाको भागवन्डा गर्नुपर्ने भयो।
चित्रविर र उनका छोराहरु घोराहीस्थित जिल्ला मालपोत कार्यालयमा अंशवण्डाको लागि पुगे। मालपोत कार्यालयले पनि नापी कार्यालयलाई पत्रचार गर्दै कित्ताकाट गरिदिन भन्यो। तर, नापी कार्यालयमा धर्ना गाउँको कित्ता नं. ४३४ को ९ कठ्ठा ७ धुर जग्गा चित्रविर घर्तीको नाममा नरहेको पत्ता लाग्यो।
नापी कार्यालयले त्यो जग्गा कित्ता काट भइसकेर अर्कैको नाममा गइसकेको हुँदा अंशवण्डाको लागि कित्ताकाट गर्न नमिल्ने जानकारी दियो।
यो सुनेर चित्रविर र उनको परिवार तीन छक परे। विश्वास नलागेर चित्रविरले फेरि हेर्न नापीका कर्मचारीलाई आग्रह गरे। तर, सत्य त्यही नै थियो। अर्कौ भएन।
जग्गाको प्रचलित बजार मुल्य हाल करिब ३३ लाख जति पर्छ। त्यसमा उनीहरुका घर पनि छन्। आफ्नो नामको लाखौं मुल्य पर्ने जग्गा अर्कै व्यक्तिको नाममा कित्ताकाट भइ गईसकेको थाहाँ पाएपछि घर्ती परिवार निकै आत्तियो।
कसरी त्यो जग्गा प्राप्त गर्न सकिन्छ? भन्ने ध्याउन्नमा लाग्यो। गाउँ घरमा खेतिपाति गरेर जीवन चलाउँदै आएको घर्तीको परिवारमा सामान्य रुपमा साक्षर व्यक्ति मात्रै छन्। त्यो बीचमा केही दलाल पछि लागे।
चित्रविरका जेठा छोरा रणबहादुर घर्ती घोराही बजारमा ज्याला मजदुरी काम गर्छन्। उनलाई कसैले मालपोत र नापीसम्म पहुँच भएका अनि विग्रेका कुरा मिलाउन सक्ने व्यक्ति भन्दै घोराहीका धर्मराज श्रेष्ठलाई देखाइ दिए।
यो सल्लाह दिने पनि मालपोत र नापी कै कर्मचारी थिए। ‘तिम्रो जग्गा मिलाउन केही पैंसा चाहिन्छ, कर्मचारी र वकिललाई घुस खुवाउनुपर्छ’, भन्दै धर्मराजले रणबहादुर घर्तीसँग २० हजार नगद मागे।
यो आज भन्दा दुई वर्ष पहिले २०७३ तिरको कुरा थियो।
धर्मराज व्यापारी थिए। उनको घोराहीमा पसल थियो। तर उनले पैंसा लगे पनि कित्ता काट भइसकेको जग्गा मिलाउन सक्ने कुरै थिएन। हाल श्रेष्ठ अमेरिकामा बस्छन्।
कित्ता काट भइ अरूको नाममा गइसकेको जग्गा मिलाउने नाममा घर्ती परिवार यो बीचमा निकै भौंतारियो। दौडधुप गर्दा गर्दै उनीहरुको थप अरू पनि हजारौं रकम खर्च भइसकेको छ। तर, केही निकास निस्किएन।
जसले जति आश्वासन दिए पनि समस्या समाधान भएन। त्यसपछि चित्रविर घर्ती मगरले २०७५ कात्तिक २६ गते आफ्नो जग्गाको कित्ता नम्बर संशोधन गरि पाउँ भनि मालपोत कार्यालयमा निवेदन दिए।
त्यही दिन नै जिल्ला मालपोत कार्यालय घोराही दाङले धर्ना गाउँको कित्ता नं. ४३४ को ९ कठ्ठा ७ धुर चित्रविर घर्ती मगरको नाममा रहेको उक्त जग्गाको प्लट रजिष्टर र फिल्ड बुक पठाइदिन भन्दै जिल्ला नापी कार्यालयलाई पत्रचार गर्यो।
सोही दिन नै नापी कार्यालयले पनि मालपोत कार्यालयलाई पत्रको जवाफ फर्कायो। जसमा प्लट रजिष्टरमा कित्ता नं. ४३४ कित्ता काट भइसकेको र त्यसबाट नयाँ कित्ता नं. ७०७ र ७०८ कायम भएको भन्ने उल्लेख छ। नापीले मालपोतलाई पठाएको पत्रमा कित्ता नं. ७०७ मा ४ कठ्ठा ९ धुर र कित्ता नं. ७०८ मा ४ कठ्ठा १८ धुर जग्गा कायम रहेको छ।
प्लट रजिष्टर र फिल्ड बुकको विवरणमा यस्तो पाइएपछि चित्रविर घर्ती मगरले माग गरे बमोजिम मालपोत कार्यालयले उनको जग्गाको कित्ता नं. ४३४ संशोधन गर्न सक्ने अवस्था रहेन।
त्यसैले यो उत्पन्न समस्या कसरी समाधान गर्ने? भन्ने सवालमा मालपोत कार्यालय पनि अन्यौंलमा छ।
किनकि, मालपोतको पत्रचार र आदेश विना नापी कार्यालयले कुनै पनि जग्गाको कित्ता काट गर्ने मिल्दैन। २०४० साल चैत २९ गतेको मालपोत कार्यालयको चलानी नं. २७३१ को आदेश अनुसार नापी कार्यालले उक्त कित्ताकाट गरिएको स्पष्ट उल्लेख गरेको छ। तर, त्यो आदेश हाल आएर मालपोत कार्यालयमा खोज्दा भेटिएको छैन।
‘बदमासी अवस्य भएको छ तर कसले बदमासी गर्यो भन्ने पत्ता लागेको छैन,’ जिल्ला मालपोत कार्यालय दाङका प्रमुख विनोदकुमार पौडेलले भने, ‘कसरी यस्तो स्थिति उत्पन्न भयो भन्नेवारे अनुसन्धान भइरहेको छ।’
उता कित्ता नं. ७०७ को ४ कठ्ठा ९ धुर क्षेत्रफलको जग्गा २०४२ सालमै धर्ना गाउँकै हिरालाल केसी भन्ने व्यक्तिले गाउँकै छोटीलाल चौधरीलाई पारित राजीनामाबाट विक्रि गरिसकेको प्रमाण मालपोत कार्यालयसँगै छ। तर, छोटीलालले भने हालसम्म त्यो जग्गा कहिलै भोग चलन गरेका छैनन्।
त्यो जग्गा आफ्नो नाममा छ भन्ने समेत चौधरीलाई जानकारी थिएन। छोटीलाल चौधरीले कित्ता नं. ४३२ को ३ कठ्ठा साढे १७ धुर जग्गा किनेपछि २०४२ सालदेखि नै भोग चलन गर्दै आएको बताए।
चौधरीलाई जग्गा विक्रि गर्ने हिरालाल केसीले पनि त्यही जग्गा हो भनेका रहेछन्। तर, छोटीलाल चौधरीले भोग चलन गर्दै आएको कित्ता नं. ४३२ को श्रेस्ता कायम नै छैन।
त्यस्तै कित्ता नं. ४३४ बाट कित्ता काट भएको मध्ये कित्ता नं. ७०८ को समेत श्रेस्ता कायम छैन। त्यसैले कित्ता नं. ४३२ र ७०८ कस्को जग्गा हो? भन्ने बारेमा समेत अन्यौंल छाएको छ ।
घर्ती र चौधरीको समस्या
लालपूर्जा अनुसार घोराही ५ धर्ना गाउँको कित्ता नं. ४३४ को ९ कठ्ठा ७ धुर चित्रविर घर्ती मगरको मात्रै हुनुपर्ने हो। उनको माग दाबी त्यही छ। तर, त्यसमध्येको कित्ता नं. ७०७ को ४ कठ्ठा ९ धुर क्षेत्रफलको जग्गा छोटीलाल चौधरीको नाममा छ।
अर्कौ तर्फ घर्तीकै जग्गाबाट नयाँ कित्ता काट भएको कित्ता नं. ७०८को ४ कठ्ठा १८ धुर जग्गाको श्रेस्ता नै कायम छैन। त्यो जग्गा कसको हो? त्यसले अन्यौंलता सृजना गरेको छ।
उता छोटीलाल चौधरीले हालसम्म जोत भोग गर्दै आएको कित्ता नं. ४३२ को जग्गाको क्षेत्रफल ३ कठ्ठा साढे १७ धुर मात्रै छ।
जग्गा धनिपूर्जामा चौधरीको जग्गाको क्षेत्रफल ४ कठ्ठा ९ धुर उल्लेख छ। यहाँ जग्गा धनि घर्ती र चौधरी कसैको कुनै दोष छैन। लाल पूर्जा हेर्दा पनि उनीहरु दुबैले जग्गा किनेको स्पष्ट हुन्छ। तर, यहाँनेर जग्गा दलाली र केही घुसिया कर्मचारीले बदमासी गरेको आशंका गर्न सक्ने ठाउँ छ।
यसअघि पनि त्यस्ता बदमासी धेरै भएका कुरा सार्वजनिक भएका छन्। माल कार्यालय धेरैका लागि मालदार स्थान हो। ‘केही भ्रष्ट कर्मचारी र जग्गा दलालीको मिलेमतोमा यो सबै काम भएको हुनुपर्छ,’ छोटीलाल चौधरीले भने।
तर जिल्ला मालपोत कार्यालय घोराहीका प्रमुख विनोदकुमार पौडेलले भने त्यतिबेलाका कर्मचारीले त्यो त्रूटि नियतपूर्वक गरेका हुन् वा नजानेर गरेका हुन्? त्यसबारे केही भन्न नमिल्ने दाबी गर्छन्।
नापी कार्यालमा आगलागी
२०५८ साल मंसिर ८ गते पहिलो पटक दाङमा तत्कालिन समय सशस्त्र युद्धरत नेकपा माओवादीले नेपाली सेनाको व्यारेकमा आक्रमण गरेको थियो।
त्यसक्रममा माओवादीले नापी कार्यालयमा आगजनी समेत गरेका थिए। त्यसमा परेर धेरै कागजात नष्ट भए। त्यसको फाईदा उठाउँदै जग्गा दलाल र घुसिया कर्मचारीले जग्गा धनिलाई थाँहै नदिएर अर्कैलाई जग्गा बिक्रि गरिदिएको हुनसक्ने आशंका छ।
मालपोत कार्यालयका प्रमुख पौडेलले पनि यो कुरालाई नकार्न सकेनन्। तर, उनले त्यही भएको हो भनेर दाबी गर्ने आधार भने फेला नपरेको बताए।
२०६९ सालभन्दा पहिला जिल्ला मातपोत कार्यालयमा कम्यूटर प्रणाली जडान भएको थिएन। त्यतिखेर दोहोरो श्रेस्ताको प्रचलन पनि थिएन। क–कस्को नाममा दोहोरो जग्गा थियो भन्ने पत्ता लगाउन मुस्किल थियो।
त्यतिबेला कथम कथाचित कसैको जग्गामा दोहोरो स्वामित्व फेला परेमा दोहोरो श्रेस्ता कायम गर्नेलाई जरीवाना तिराउने र पछि कायम भएको श्रेस्ता खारेज गरिदिने र अघिल्लोलाई मान्यता दिने प्रचलन थियो।
तर, जव २०६९ सालदेखि जिल्ला मालपोत कार्यालयमा कम्प्यूटर प्रणाली लागू भयो त्यसपछि सिस्टम सफ्टवयरमा गयो। तबदेखि कम्प्यूटरले दोहोरो श्रेस्ता भएका जग्गा इन्ट्रि गर्न छोड्यो।
त्यसयता दोहोरो श्रेस्ता भएका जग्गा पाइँदैन। तर, २०६९ साल अगाडि मिलेमतोमा यस्ता धेरै बदमासीहरु भएका छन् ।
अबको विकल्प
जिल्ला मालपोत कार्यालय घोराहीमा मुद्दा फाँटमा कार्यरत खरिदार तेजकुमार शर्मा छोटीलाल चौधरीलाई जग्गा विक्रि गर्ने हिरालाल केसीलाई सम्पर्कमा ल्याउन सक्ने हो भने उत्पन्न समस्या समाधन गर्न सहज हुने दाबी गर्छन्।
तर, केसी वर्षौं पहिले धर्नाबाट बसाई सराई गरि अन्यत्र गरेको हुँदा दुई वर्षसम्म खोजी गर्दा पनि उनी कहाँ छन् भन्ने बारे पत्ता लाग्न सकेको छैन।
त्यस्तै शर्माले २०५८ सालमा कागजातमा आगो नलागेको भए पनि उत्पन्न समस्या समाधान गर्न गाह्रो नहुने धारणा राखे। ‘आगो लागेका मध्ये केही कागजात अझैं हामीसँग छन्, हामी सम्भव भएसम्म त्यो खोज्छौं,’ शर्माले भने ‘हाम्रो तामेलियमा लगभग ८४ लाख कागत छ, त्यो कागत फेला परेमा हाम्रै लेवलबाट मुद्दा टुङ्ग्याउन सक्छौं।’
तर पनि त्यसका लागि आवश्यक प्रमाणहरू जुटाउनुपर्छ। पक्रिया पुरा गर्नु अनिवार्य हुन्छ।
खरिदार शर्माका अनुसार चित्रविर घर्ती मगरले कित्ता नम्वर संशोधनको मागसहित दिएको निवेदन माथि संशोधन गर्न भने सम्भव छैन।
संशोधनको लागि जग्गा त्यही प्रकृतिको हुने, नक्शा नम्वर त्यही प्रकृतिको हुने, कित्ता त्यही प्रकृतिको हुने तर प्रिन्ट मिस्टेक भएको अवस्थामा मात्रै कित्ता नम्बर संशोधन गर्न मिल्ने शर्माको तर्क छ। ‘कर्मचारी–वकिलले लेख्दा वा प्रिन्ट गर्दा मिस्टेक छ भने मात्रै कित्ता संशोधन गर्न मिल्छ,’ खरिदार शर्माले भने।
उत्पन्न समस्या समाधान गर्न मालपोत र नापी कार्यालय स्थलगत रुपमा सर्जिमन गरेर घर्ती र चौधरीको जग्गाको यथार्थ बस्तुस्थिति बुझ्न आवश्यक रहेको खरिदार शर्माले बताए।
आवश्यक प्रमाण फेला परेको खण्डमा मालपोत कार्यालयले नै उत्पन्न अन्यौंता समाधान गर्न सक्छ। तर, कुनै पनि व्यक्तिलाई मालपोतको निर्णय चित्त बुझेन भने अदालत जान सक्छन्। त्यसैले अन्तिम विकल्पको रुपमा अदालत जानुको विकल्प नरहेको मुद्दा फाँटका खरिदार शर्माको तर्क गरे।
कुनै पनि व्यक्तिले मैले यो जग्गा उपभोग गर्छु भनेकै भरमा मालपोत कार्यालयले उसलाईई जग्गा दिन मिल्दैन। कारण मालपोतले पूर्जा वितरण गर्दा प्रक्रिया पुरा गर्नेपर्छ।
अघिल्लो कर्मचारीले गल्ति गरेको थियो भने पनि आवश्यक प्रमाण र प्रक्रिया पुरा नभएसम्म मालपोत कार्यालयले कसैले दाबी गरेकै भरमा कसैलाई पनि जग्गा दिन नमिल्ने शर्माले बताए।
तर चित्रविर घर्ती मगर र छोटीलाल चौधरी भने आफैंले किनेको जग्गाको लागि फेरि मुद्दा लड्नुपर्ने परिस्थिति उत्पन्न हुनुले दिक्क लागेको धारणा व्यक्त गरे।