दाङमा चुरोटको ठूटोबाट सल्किएको आगोले एक जना महिलाको मृत्यु भएको छ।
बबई गाउँपालिका वडा नं. ७ पातुखोला निवासी ७६ वर्षीया डल्ली बोटेको चुरोटको ठूटोबाट सल्किएको आगोमा जलेर मृत्यु भएको हो।
दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले बोटे आफैंले खाएको चुरोटको ठूटो कपडामा सल्किन पुग्दा जलेर मृत्यु भएको जानकारी दिए।
बोटेले सुत्ने समयमा चुरोट खाएपछि फाल्ने क्रममा आफैंले ओढेको सिरकमा परेपछि त्यहीबाट आगो सल्किएर मृत्यु भएको भन्ने खुल्न आएको एसपी पाण्डेले बताए।
बोटेले भुइँमा पराल विच्छाएर सुतेको हुँदा सुत्ने कपडा र परालमा लागो लागेको भए पनि घरमा भने आगो नलागेको प्रहरीले जानकारी दिएको छ।
‘ओढ्ने ओछ्याउने कपडा जलेको छ, तर घरमा आगलागी भएको छैन,’ एसपी पाण्डेले भने ‘विरामी अवस्थाकी बोटे आगो लागेपछि उठ्न नसक्दा आगोमा जलेर मृत्यु भएको भन्ने खुल्न आएको छ।’
शुक्रबार आगलागी भएता पनि शनिबार मात्र गाउँलेले थाहा पाएका थिए।
घरमा एक जना नातिनी बुहारी मात्रै रहेको र गएराति उनी पनि छुट्टै घरमा सुतेको हुँदा आगलागीबारे कसैले थाहा नपाएको बवई गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष महाविर चौधरीले अध्यक्ष चौधरीले जानकारी दिए।
बोटेका परिवारका अन्य सदस्य कामको खोजीको सिलसिलामा भारतमा रहेका उनले बताए। बोटेको शव पोष्टमार्टमको लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।