उच्च अदालत तुलसीपुर दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई सेवा शुल्क नबढाउन आदेश जारी गरेको छ।
अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शुक्रबार सो निर्देशन दिएको हो। जसमा प्रतिष्ठानमा गरिएको शुल्कवृद्धिको निर्णय तत्काल कार्यान्वायन नगर्न भनिएको छ। उच्च अदालतले प्रतिष्ठानको नाममा अन्तरिम आदेश जारी गर्दै अर्को आदेश नहुँदासम्म पहिलेकै शुल्क लिन निर्देशन दिएको छ।
प्रमुख निवेदक घोराही उपमहानगरपालिका १४ का मदनकुमार ओली तथा निवेदकहरू घोराही १५ का अधिवक्ता सुदीप गौतम र घोराही १७ का विवेक श्रेष्ठले प्रतिष्ठानको निर्णयविरूद्ध बिहिबार उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए।
प्रतिष्ठानले पुस १७ गतेदेखि लागू हुने गरी सेवा शुल्क वृद्धि गरेपछि चौतर्फी विरोध हुँदै आएको थियो।