दुर्घटना न्यूनीकरण गर्न भन्दै दाङका सडकमै चालकको स्वास्थ्य चेक जाँच अभियान सञ्चालन गरिएको छ।
यस्तै अभियान यसअघि पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको लमहीमा पनि सञ्चालन गरिएको थियो। आइतबार बिहान १० बजेदेखि राप्ती लोकमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ गोठीखोलामा चालकहरूको नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको हो।
कार्यक्रममा पुगेका ५ नं. प्रदेश प्रहरी प्रमुख एवं डिआइजी पिताम्वर अधिकारीले दुर्घटना न्यूनीकरणमा सहयोग पुगोस् भन्ने उद्धेश्यका साथ सडकमै चालकको स्वास्थ्य चेकजाँच अभियान सुरू गरिएको बताए। पुस ६ गते राम्रीमा भएको विभत्स दुर्घटनाले ठूलो सन्देश छोडेको हुँदा सानो सावधानीबाट पनि त्यस्ता दुर्घटनाबाट जोगिन सहयोग पुग्ने उनले बताए।
‘त्यो दुर्घटना सडक सभ्यतासँग जोडिएको समस्या हो,’ डिआइजी अधिकारीले भने, ‘सडक प्रयोग गर्दा सबैले सडक सभ्यता पालना गरौं र अर्कोलाई समस्या पर्ने काम कसैले नगरौं।’
उनले ओभरटेक गर्दा सावधानी अपनाउन आवश्यक रहेको बताए।
राप्ती आँखा अस्पताल तुलसीपुर रक्षाचौरकी नेत्र रोग विशषेज्ञ डा.शुलक्ष्मी कटवालले हरेक चालकले तीन/तीन महिनामा आँखाको चेक जाँच गराउन आवश्यक रहेको तर्क गरिन्।
अलि उमेर ढल्किदै गरेका र लामो दूरीमा सवारी चलाउने चालकले आफ्नो आँखाको अवस्थाको बारेमा समय/समयमा चेकजाँच गराउँदा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने उनले बताइन्।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै मावि रक्षाचौरका शिक्षक गोपाल बुढाथोकीले स्टेरिङ समाउँदा चालकका आँखा तिरमिराउने खालका कमजोर हुन गए दुर्घटनाको जोखिम बढ्ने धारणा राखे।
सडकमै आफ्नो स्वास्थ्य चेकजाँच गर्न पाउँदा चालक खुसी थिए भने लामो समयसम्म रोकिनु पर्दा यात्रुले भने दिक्क मानेका थिए। चेकजाँच बाटोमा भन्दा निश्चित अस्पतालमा गरिनुपर्ने प्रतिक्षारत यात्रुहरूले सुझाएका थिए।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत दुर्घटना न्यूनीकरण अभियानमा टेवा पुगोस् भन्ने उद्धेश्यले गरिएको उक्त स्वास्थ्य चेकजाँच कार्यक्रमलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर र राप्ती आँखा अस्पताल तुलसीपुरले प्राविधिक सहयोग उपलब्ध गराएका थिए । जसलाई स्थानीय तह अन्तरगत वडा नं. ३ र ४ ले सघाएका थिए।