पाँच नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी पिताम्बर अधिकारीले कलेजका विद्यार्थी पढाउने अभियान चलाउँदै आएका छन्। यसअघि पनि विभिन्न स्थानमा उनले यस्तो कक्षा सञ्चालन गरिसकेका छन्।
किशोरकिशोरी अवस्थाका विद्यार्थीलाई प्रहरीले विभिन्न कुरा सिकाउने गरेको छ। महिला तथा बालबालिकाविरूद्ध हुने हिंसा तथा अपराध, साइवर अपराध, सडक सुरक्षा, लागुऔषध, मादक पदार्थ र सुर्तिजन्य पदार्थको प्रयोगबाट हुने नकारात्मक असरबारेमा डिआइजी अधिकारीले विद्यार्थीलाई पढाउँदै आएका छन् ।
त्यस्ता कुराहरूबाट हुने नकारात्मक प्रभाव र हुने कानुनी कारबाहीका बारेमा प्रहरीले विद्यार्थीलाई सचेत तुल्याउन विद्यार्थीलाई प्रशिक्षण दिनु परेको डिआइजी अधिकारीले बताए।
अपराध रोकथाम, त्यसमा समाजको जिम्मेवारी के हो? भन्ने कुरा किशोर किशोरीलाई प्रशिक्षण दिने गरेको उनले बताए।
त्यस्तै, सुरक्षाका आधारभूत सिद्धान्तहरू तथा मानव अधिकार लगायतका कुराहरू पनि आफूहरूले विद्यार्थीलाई सिकाउने गरेको डिआइजी अधिकारीले जानकारी दिए।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्कुल सम्पर्क कार्यक्रम लिएर आफूहरू विभिन्न विद्यालयमा किशोरकिशोरीलाई प्रशिक्षण दिने अभियान लिएर अगाडि बढेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ।
गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका कक्षा ११ र १२ मा अध्ययनरत चारसय विद्यार्थीलाई प्रहरीले बुधबार प्रशिक्षण दिएको थियो। उक्त अवसरमा दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले पनि प्रशिक्षण दिएका थिए।