राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरू आन्दोलित भएका छन्। आफ्नो पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलित कर्मचारीहरूले बधुबार प्रतिष्ठानमा तालाबन्दी गरेका छन्।
कर्मचारी संघर्ष समितिको आह्वानमा आन्दोलित बनेका कर्मचारीहरूले प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै सम्पूर्ण प्रशासनिक कार्यालयहरूमा समेत तालाबन्दी गरेका छन्। उनीहरूले मंगलबार नै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए।
त्यही अनुरूप बुधबार बिहान साढे ७ बजे कर्मचारीहरूले तालाबन्दी गरेका हुन्।
कर्मचारी आन्दोलनमा उत्रिएपछि बुधबार बिहानैदेखि प्रतिष्ठानको प्रशासनिक कामकाज ठप्प भएको छ।
भोलिदेखि उनीहरूले इमर्जेन्सी र प्रसुती बाहेकका सम्पूर्ण सेवा बन्द चेतावनी दिएका छन्। प्रतिष्ठान प्रशासन आफ्ना मागहरू सम्बोधन गर्न तयार नभए माघ ४ गतेदेखि देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण भएपछि प्रतिष्ठानका पदाधिकारी व्यक्तिगत स्वार्थमा लागेर तानाशाह लाद्ने गरेको कर्मचारीको आरोप छ।
आन्दोलनरत झन्डै ७ दर्जन कर्मचारीहरूले समायोजन गरिनुपर्ने, तलब खुवाउनुपर्ने, सुविधा कटौती गर्न नहुने लगायतका ८ बुँदे माग अगाडि सारेका छन्।
प्रतिष्ठानले साविक राप्ती उपक्षेत्रीय अस्पताल विकास समिति र नेपाल सरकारमा श्रेणीविहीन कर्मचारीहरूको म्याद थप नगरेको तथा चिकित्सकको समेत म्याद थपका लागि आवश्यक सिफारिस नगरेको हुँदा आन्दोलनमा उत्रन बाध्य भएको संघर्ष समितिका अध्यक्ष हिमलाल गौतमले बताए।
प्रतिष्ठानले तत्काल म्याद थप गरेर समायोजन गर्नुको साटो साविक अस्पताल विकास समिति र सरकारका करार कर्मचारीलाई निस्कासन गर्न पत्र तयार पारेपछि आन्दोलन गर्न आफूहरू बाध्य भएको अध्यक्ष गौतमले दाबी गरे।
अस्पतालमा वर्षौंदेखि कार्यरत कर्मचारी निकालिनु दुर्भाग्य भएको अध्यक्ष गौतमको भनाइ छ। अस्पतालका कर्मचारीले गत साउनदेखि तलब नपाएको गौतमले बताए ।