दाङको लमही नगरपालिका वडा नं. ८ सतवरिया निवासी सुरज चौधरीले ६ पटक ढुंगा बोकेर मन्दिरको परिक्रमा गरिसकेका छन्।
माघीको दिन लमही नगरपालिका वडा नं. ९ रिहारमा लाग्ने रिहार मेलामा लगातार आइरहेका चौधरीले हरेक वर्ष यो ढुंगा काँधमा बोकेर मन्दिर परिक्रमा गर्ने गर्छन्।
बगार बाबा मन्दिर परिसरमा रहेको ६५ किलोको ढुंगा काँधमा बोकेर मन्दिरको परिक्रमा गर्ने मध्येका अर्का युवा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ जसपुर निवासी अर्जुन गिरी पनि एक थिए।
यो मेलामा आउने अधिकांश युवाले एक पटक यो ढुंगा उठाउने र काँधमा बोकेर मन्दिर परिक्रमाको प्रयास गर्छन्।
त्यसका पछाडि धेरै कारणहरू छन्। प्रमुख कारण भने धार्मिक विश्वास नै हो। यो ढुंगा उचाल्न सक्ने र काँधमा राखेर मन्दिरको परिक्रमा गर्न सक्नेहरूले चिताएको सबै कुरा पुरा हुन्छ भन्ने जनविश्वास पाइन्छ।
‘यो ढुंगा बोकेर मन्दिर परिक्रमा गर्न सक्नेले इच्छाएको र मागेको सबैकुरा पूरा हुन्छ भन्ने गरिन्छ,’ चौधरीले भने, ‘त्यही विश्वासका साथ मैले निरन्तर ६ वर्षदेखि यो ढुंगा काँधमा राखेर मन्दिर परिक्रमा गर्दै आएको छु।’
माघीको दिन लाग्ने रिहार मेलामा नेपालीका साथै भारतीय तिर्थालुहरूको पनि उत्तिकै भीडभाड हुन्छ। यहाँ रहेको पोखरीमा स्नान गर्दा पूण्य प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ। त्यसैले पुसको अन्तिमतिर यहाँ भारतीय तीर्थयात्रुहरूको अत्यन्तै भीड लाग्ने गर्छ।
बगार बाबा ढुंगा उचाल्न सक्नेहरू वीर र सफल व्यक्तिका रूपमा दरिन्छन् भन्ने विश्वासले गर्दा पनि युवाहरूका बीचमा ढुंगा उठाउन र बोक्न तछाडमछाड गर्छ। जसले यो ढुंगा सजिलै बोक्न सक्छ त्यो ‘भिम’ र ‘हनुमान’ जस्तै बलियो तथा बहादुर हुन्छ भन्ने विश्वास रहेको अशोक यादवको धारणा छ ।
धेरैका लागि यो आफ्नो शक्ति प्रदर्शन गर्ने थलो पनि बन्दै आएको छ।
‘जय श्रीराम र जय हनुमान’ भन्दै ढुंगा काँधमा बोक्ने र युवतीलाई आकर्षित गर्ने दाउमा युवाहरूका बीचमा यस्तो होडबाजी चल्दै आएको पनि छ।
युवायुवतीको बाक्लै जमघट हुने रिहार मेलामा कतिपय युवतीहरूले आफ्ना व्याय फ्रेन्डहरूलाई आफ्नो लागि ढुंगा उठाउन आग्रह गर्ने गर्छन्।
‘सायद पहिलेपहिले कुनै पनि युवतीले आफ्नो हुनेवाला श्रीमान् कत्तिको बलियो छ भनेर जाँच्न पाउने यो उत्तम अवसर पनि हुन्थ्यो होला,’ स्थानीय रवि भण्डारीले भने, ‘ यो त्यही परम्पराको निरन्तरतामा मात्रै हो।’
यसमा धार्मिक विश्वास र शक्ति प्रदर्शन दुबै कुरा जोडिएको उनको तर्क थियो।