दाङको विजौरी बलात्कार काण्डका मुख्य दोषीलाई प्रहरीले पक्राउ गरेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ३१ वर्षीय विष्णु चौधरीलाई १० वर्ष पहिलेको सामूहिक बलात्कार काण्डको मुख्य दोषी अदालतले ठहर गरेको थियो। सर्वोच्च अदालतले २०७२ साल फागुन ३० गते विजौरीमा भएको सामूहिक बलात्कार काण्डको मुख्य दोषी ठहर गर्दै चौधरीलाई ९ वर्ष ११ महिना २ दिन कैद सजाय सुनाउँदै ५० हजार जरिवाना समेत तोकेको छ । तर चौधरी राजनीतिक शक्तिको आडमा हालसम्म पक्राउ परेका थिएनन्।
घटना यसरी भएको थियो
गढवा गाउँपालिका वडा नं. ६ गढवा निवासी १७ वर्षीया कल्पना खनाल २०६५ साल चैत १५ गते शान्ति नगरस्थित आफ्नो अंकल आन्टीको घरबाट तुलसीपुर हुँदै घोराही फर्कदै थिइन्।
कल्पना महेन्द्रबहुमुखी क्याम्पस घोराहीमा प्लटूमा अध्ययनरत थिइन्। त्यो दिन तत्कालीन नेकपा माओवादीकै भातृ संगठन अखिल क्रान्तिकारीले नेपाल बन्द आह्वान गरेको थियो। तुलसीपुरदेखि केही पश्चिम पर्ने शान्तिनगर गाउँबाट उनी तुलसीपुर बजारसम्म आएपछि मात्रै नेपाल बन्दबारे थाहा पाइन्। साँझ पर्दै थियो अब त बन्द खुला भन्ने आशमा उनी थिइन्। त्यसैले एक जना व्यक्तिसँग साइकलमा लिफ्ट मागेर उनी तुलसीपुर पूर्वको ५ किलोमिटर विजौरीसम्म पुगिन्।
कति बेला मोटर गाडी चल्ला र घोराही जान पाउँला भन्ने प्रतीक्षामा उनी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित संस्कृत विश्व विद्यालय नजिकैको बस बिसौनीमा बसिन्। बस बिसौनीमा उनलाई देखेपछि विष्णु चौधरीलगायत युवाले नआत्तिन भन्दै उनलाई सान्त्वना दिन थाले। त्यही समयमा उनीहरूले कल्पनालाई चिसो खान कर गरे। तर उनले खान अस्वीकार गरिन्। पछि फ्रुटी खान कर गरेपछि भने उनले खाइन्।
तर त्यसमा नशालु पदार्थ मिसाइएको थियो । त्यो खानासाथ उनलाई लठ्यायो । त्यसपछि उनीहरूले नजिकैको एउटा ढ्याब्ली फोडे। खनाललाई त्यही ढ्याब्लीमा लगे । रातभर सामूहिक बलात्कार गरे । उक्त सामूहिक बलात्कारको दोस्रो दिन कल्पना बाटोमा मानसिक रूपमा विछिप्त भई हिँडिरहेको देखेपछि स्थानीय एक जना चिनजानकी महिलाले प्रहरीलाई खबर गरिन्।
मेडिकल रिपोर्टमा बलात्कारको पुष्टि भयो। तर उक्त काण्डपछि कल्पना खनाल मानसिक रूपमा विछिप्त भइन्। डिप्रेसनमा परिन्। उनलाई बाँके जिल्ला र लखनउसम्म परिवारले उपचारको लागि पुर्याए। त्यही क्रममा घटना भएको ८४ औं दिनका कल्पनाको मृत्यु भयो।
त्यही सामूहिक बलात्कार काण्डमा माओवादी निकटका अखिल क्रान्तिकारीका नेता विष्णु चौधरीलाई अदालतले मुख्य दोषी भएको फैसला गर्यो। चौधरी पछिल्लो समय काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए। तर माघी मान्न दाङमा आएको खबर प्रहरीले पाएसँगै उनी पक्राउ परे।
विष्णुलाई माघ ३ गते पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
उक्त बलात्कार काण्डमा संलग्न अन्य ६ जनाले सजाय भुक्तान गरिसकेका छन् भने थप एक जना मोहन पुन फरार रहेको हुँदा खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
बलात्कार काण्डमा मुख्य दोषी मानिएका विष्णु चौधरीले यसअघि संस्कृत विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमण गरेको र विश्व विद्यालयको सम्पत्ति तोडफोड तथा चोरी गरेको अभियोगबारे पनि अनुसन्धान जारी रहेको दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।
बलात्कारीलाई राजनीतिक संरक्षण – दाजु विकास बुढाथोकी
दाजु विकास बुढाथोकीका अनुसार बहिनी कल्पना खनालमाथि सामूहिक बलात्कार गर्नेहरूले सुनको सिक्री र औंठी पनि लुटेर लगेका थिए।
दाङ देउखुरी जिल्ला अदालतले पीडित विष्णु कै पक्षमा फैसला गर्यो । त्यसपछि विष्णुलगायतका अन्य व्यक्ति पक्राउ परे। तर त्यो बीचमा तत्कालीन माओवादी नेता देव गुरुङ कानुन मन्त्री हुँदा पुनरावेदन अदालत तुलसीपुरले त्यो मुद्दा खनालविरूद्धमा फैसला गर्यो। विष्णु चौधरी निर्दोष सावित भए र छुटे। अदालतको फैसला चित्त नबुझेपछि परिवार फेरि सर्वोच्च पुगे।
सर्वोच्चले जिल्ला अदालतको निर्णय उल्टाउँदै विष्णु लगायत अन्य दोषी रहेको ठहर गर्यो। तर उनी राजनीतिक आडमा पक्राउ पर्न सकेका थिएनन्।
पूर्व सभामुख ओनसरी घर्ती, देव गुरुङ लगायतका नेताहरू आउँदा उनी खुलेयाम उनीहरूसँगै हुँदा पनि प्रहरीले पक्राउ गर्न नसक्दा आफूहरूलाई दिक्दार लाग्ने गरेको बुढाथोकीले बताए।
पछिल्लो समय चौधरी प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीको संरक्षणमा जोगिँदै आएको बुढाथोकीको आरोप छ।
हाम्री छोरी त अब फर्किन्न्, फेरि यस्तो घटना कतै नहोस् – बुवा कपिलदेव खनाल
सामूहिक बलात्कारपछि ८४ औं दिनमा उपचारकै क्रममा कल्पना खनालको मृत्यु भयो। त्यो पीडा सहन गर्न नसकेर छोरीको मानसिक सन्तुलन खल्बलिएको र उपचार गर्दा पनि जोगाउन नसकिएको बुवा कपिलदेव खनालले सेतोपाटीलाई बताए।
छोरीको पीडा सम्झेर अझै पनि आफू भावविह्वल हुने उनले सुनाए।
‘हाम्री छोरी त अब फर्केर आउने हैनन्,’ खनाले भने ‘फेरि यस्ता अत्याचारका घटना कतै नहोउन् भन्ने कामना गर्दछु।’
दस वर्ष पहिलाको घटना भए पनि ढिला गरी अपराधीहरू पक्राउ परेको कुरा मिडियामार्फत् सुन्दा मनमा थोरै भए पनि शान्ति मिलेको उनले बताए।
तर उनले कुनै पनि निर्दोष व्यक्तिले सजाय पाउन नहुने धारणा राखे। ‘अपराधीले सजाय पाउनुपर्छ, तर निर्दोष व्यक्ति पर्नुहुन्न,’ खनालले भने। उनले कुनै पनि राजनीतिक दलले अपराधीलाई संरक्षण गर्न नहुने बताए। अदालतले गरेको फैसला कार्यान्वयन गर्न राजनीतिक दलहरूले नसघाउँदासम्म समाजमा शान्ति कायम नहुने उनले बताए।