तुलसीपुरबाट विभिन्न घरमा तोडफोड र चोरी गरेको अभियोगमा चार जना पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसी प्रेमबहादुर शाहीले तुलसीपुर बजार र आसपासको क्षेत्रमा केही समययता हुँदै आएको घर तोडफोड तथा चोरीमा संलग्न रहेका चार जनालाई पक्राउ गरिएको जानकारी दिए।
डिएसपी शाहीले सोमबार दिउँसो २ बजेतिर खर्चवा गाउँ निवासी ३६ वर्षीय गुरुप्रसाद चौधरी, २० वर्षीय कृष्ण चौधरी, २० वर्षीय सचिन चौधरी र १५ वर्षीय नाम परिवर्तन (सुमनबहादुर चौधरी) पक्राउ परेको जानकारी दिए।
थप एक जना भने मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका समूहले घरमा कोही नभएको मौका छोपी नगद तथा सुनका गरगहना चोरी गर्दै आएका थिए। पक्राउ परेका व्यक्तिहरूको घर तथा कोठा खान तलासी गर्दा नगद तथा सुनका गरगहना,मोबाइल, क्यामेरा लगायतका ५ लाख मूल्य बराबरका चोरीका सरसामान फेला पारिएको डिएसपी शाहीले जानकारी दिए।
गोप्य सूचनाको आधारमा सुरूमा चोरी कार्यमा संलग्न भएको आशंका आधारमा प्रहरीले कृष्ण र सचिनलाई पक्राउ गरेपछि उनीहरूले नै अन्य दुई जनाको नाम लिएका थिए।
उनीहरूविरुद्ध डाका चोरी शीर्षकमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ। झन्डै एक महिनाको अवधिमा उनीहरूले तुलसीपुर क्षेत्रमा एक दर्जन जति घरहरूमा चोरी गरेको आशंका गरिएको छ ।
मोटरसाइकल चोरीको अभियोगमा पक्राउ
ईलाका प्रहरी कार्यालय तुलसीपुरले मोटरसाइकल चोरीको अभियोगमा खर्चवा निवासी २० वर्षीय तिलक चौधरीलाई पनि पक्राउ गरेको छ।
चौधरीमाथि तुलसीपुर उपमहनगरपालिका वडा नं. ७ तमाखे निवासी ४० वर्षीय छविलाल भण्डारीले आफ्नै घरमा राखेको भे ५ प ५३६७ नम्वरको मोटरसाइकल चोरी गरेको अभियोग लागेको छ। असोज १८ गते राति ११ बजेको समयमा चौधरीले मोटरसाइकल घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी गरेको भन्ने खुल्न आएको डिएसपी शाहीले जानकारी दिएका छन्।
मोटरसाइकल चोरी गरेलगत्तै चौधरीले नम्वर परिवर्तन गरी चलाउँदै आएका थिए। मोटरसाइकल चलाइरहेका चौधरीसँग आवश्यक कागजात माग्दा फेला नपरेपछि शंका लागेर अनुसन्धान गर्दा मोटरसाइकल चोरीको भएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ।