दाङको तुलसीपुर उपमहानगपरपालिका-४ बनहरीस्थित थारू गाउँमा मन्दिर बन्ने भएको छ। केही समय यता अप्रत्यासित रूपमा सर्प देखिन थालेपछि विगत एक डेढ महिनाको समयमा यहाँ दिनहुँ सयौं मानिस हेर्न आउने गरेका छन्।
यसरी सर्प हेर्न दैनिक बाक्लो मात्रामा मानिसहरूको उपस्थिति भएपछि मन्दिर बनाउन भन्दै सर्प देखिने स्थान नजिकै महायज्ञ लगाउने तयारी भएको छ। आगामी माघ २३ गतेदेखि महायज्ञ लगाउने भन्दै व्यापक रूपमा प्रचार प्रसार भइरहेको छ। यसैबीच सर्प बस्ने प्वाल नजिकै कैलाशधाम नागेश्वर मन्दिर निर्माण गर्ने प्रक्रिया सुरू भएको छ।
तुलसीपुर उपमहानगरपालिकाकी मेयर माया आचार्यले माघ ७ गते श्रीस्वस्थानी वर्त कथा आरम्भ भएको दिनमा यहाँ आएर उक्त मन्दिरको सिलान्यास गरेकी हुन्।
मन्दिर निर्माणका लागि साढे आठ लाखमा जग्गा खरिद
मन्दिर निर्माणका लागि आठ लाख लागतमा एक कठ्ठा जग्गा खरिद भइसकेको छ। मन्दिर निर्माण समितिले स्थानीय कमला वलीसँग ८ लाखमा जग्गा खरिद गरेको कैलाशधाम नागेश्वर मन्दिर निर्माण समितिका सचिव दामोदर न्यौपानेले जानकारी दिए।
करिब डेढ महिना अगाडि यो जग्गा स्थानीय ५८ वर्षीय सुकबहादुर घर्तीलाई बेच्नका लागि बैना लिए देखि त्यहाँ सर्प देखिन थालेको स्थानीयले बताए।
यस्तै मन्दिर निर्माणका लागि आसपासका जग्गा धनीलेसमेत सर्प बस्दै आएको जग्गा वरिपरिबाट एक/एक धुर जग्गा मन्दिर निर्माण समितिलाई निःशुल्क दान गर्ने भएका छन्।
स्थानीय नरविर चौधरीले उक्त सर्पलाई आफूले खेतवारीमा काम गर्दा लामो समयदेखि नियाल्दै आएको दाबी गर्दै त्यो नाग देवता नै भएको दाबी गरे। ‘मेरो घर परिवारमा सुःख शान्ति छाओस र पुण्य प्राप्त होस भनेर जग्गा राजीखुसी मन्दिरलाई दिन लागेको हुँ,’ चौधरीले सेतोपाटीसँग भने।
बिहान घाम लागेसँगै बाहिर निस्किने उक्त सर्प एकाध घन्टा प्वाल नजिकैको डिलमा पारिलो घाम ताप्दै बस्छ। अनि त्यो फेरि त्यही दुलो भित्र पस्ने गर्छ। सर्पको यही आनी बानीलाई मानिसहरु नागदेवताको संज्ञा दिँदै पूजा आरधना र भजन कृतन गर्दै आएका छन्।
हाल सर्प बस्दै आएको स्थानमा आजभन्दा दुई/तीन वर्ष अगाडि सम्म थारू समुदायका देवता राख्ने भूँयारथान रहेकाले त्यहाँ दैविक शक्ति रहेको चौधरीले दाबी गरे।
यहाँ दैनिक एक हजारको हाराहारीमा भेटीसमेत संकलन हुँदै आएको पूजारी नारायण भट्टराईले जानकारी दिए। यहाँ सर्पदेखा परेदेखि नै यी पूजारीले त्यसलाई घरबाटै गाईको दूध र शुद्ध जल दिँदै आएका छन्। सर्प देखिएपछि आफ्नो छोरा पनि काम्न थालेको बताएका उनले त्यसयता आफूले दैनिक नुहाउने तथा चोखो हुँदै गरेको जानकारी दिए।
माघ २३ गतेदेखि महायज्ञ
आगामी माघ २३ गतेदेखि यहाँ महायज्ञ लगाइने भएको छ।
माघको पहिलो साता काठमाडौंबाट आएर आफूलाई देशव्यापी १०८ श्रीमद्भागवत सत्संकल्प अभियानकर्ता बताउने मुमुक्षु श्री उद्धव शर्माले यहाँ तपस्या गरेका थिए। उनै शर्माले यो ठाउँ नेपालकै तेस्रो ठूलो शक्ति रहेको भन्दै यहाँ महायज्ञ लगाउनुपर्ने सल्लाह दिएका थिए।
उनकै निर्देशन अनुसार आगामी माघ २३ गतेदेखि महायज्ञ लगाउने तयारी भइरहेको कैलाश धाम मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष भरतकुमार देवकोटाले जानकारी दिए।
महायज्ञका लागि आवश्यक सम्पूर्ण सामाग्री तथा कलाकार सबै शर्माले काठमाडौंबाटै आउने उपाध्यक्ष देवकोटाले बताए। ‘हामीले त यहाँ केवल दाल चालमको मात्रै प्रवन्ध गर्ने भन्ने कुरा छ,’ उपाध्यक्ष देवकोटाले भने, ‘शर्माज्यूले नै कलाकार,कथा बाचकदेखि सम्पूर्ण टिम लिएर आउने भन्ने छ।’
महायज्ञ लगाउन ६ लाख जति खर्च लाग्ने अनुमान गरेको देवकोटाले बताए। मन्दिर निर्माण गर्न आर्थिक सहयोग जुटाउने उदेश्यका साथ महायज्ञ लगाउने तयारी गरिएको देवकोटाले जानकारी दिए।
त्यो तयारीका लागि गाउँभरका सबै समुदाय लागिपरेका छन् । थारु र पहाडी महिलाहरु जंगलमा गएर सालको पात टिपेर ल्याइसकेका छन्।
प्रत्येक घरबाट ५० थान टपरी तयार पार्न भनिए अनुसार गाउँभरका महिलाहरुले धमाधम टपरी गास्दै आएको स्थानीय वसन्ती चौधरीले जानकारी दिइन्।
सर्पको प्वाल वरिपरी तारवार
पछिल्लो समय सर्प हेर्न मानिसहरुको अत्याधिक भीड हुन थालेपछि यहाँ तारबार गरिएको छ।
मासिनहरु यहाँ दैनिक पूजा आरधना, भजन कृतनका लागि आउने गरेका छन्। त्यो क्रम बिहानैदेखि राति अबेरसम्म चल्ने गरेको छ।
कोहीले यहाँ आएर श्री स्वस्थानी वर्तकथाको किताव पढ्ने गरेका छन्। कतिपय माता भनिने महिलाहरु यहाँ आएर काम्ने तथा ध्यान बस्ने गरेका छन्।
कोही/कोही सर्वसाधारण पुरुष र महिलाहरु काम्ने, रूने कराउने तथा बर्बराउने गरेका छन् ।
यो सँगै स्थानीयले आफूले सपनामा सर्प देखिदै आएको स्थानमा साक्षात शिव भगवान र देवीदेवता देखेको दाबी गर्दै आएका छन्। सर्पको दुलो रहेको जमिन मुनी शिव पार्वती तथा देवीदेवताको बासस्थान रहेको भन्ने कुरा आफूले सपनामा देखेको स्थानीय केही महिला र पुरुषहरुले दाबी गर्दै आएका छन्।
तर दाङकै एकजना वन्यजन्तु अनुसन्धान कर्ता चिरिञ्जवी खनालले भने त्यो सबै मान्न तयार भएनन्। उनले त्यो नाग देवता नभइ सर्प नै भएको दाबी गरे। ‘त्यो सर्प नै हो। त्यसलाई देवता मानेर पूजा गर्नु गतल हो,’ खनालले भने, ‘ जाडो दिनमा प्राय सर्प एकै स्थानमा बस्नु सामान्य कुरा हो।’
उनले त्यो सर्पको बासस्थान हुन सक्ने तथा त्यहाँ उसले अण्डा पनि पारेको हुन सक्ने सम्भावना रहेको औंल्याए।
मानिसहरुको बाक्लो जमघट हुनुका साथै भजन कृतन, पूजा आरधना हुन थालेपछि सर्प पछिल्लो समय पहिले जस्तो दुलोवाट दिनहुँ निस्कन छोडेको छ। त्यसबाट सर्पलाई नागदेवता मान्दै दर्शनको लागि यहाँ आउनेहरु भने निराश भएर फर्कने गरेका छन्।
झनैं माघ २३ गते यहाँ महायज्ञ लगाइए पछि उत्पन्न हुने चर्कौ ध्वनीले त्यो सर्प यहाँ भागेर अन्यत्र जान सक्ने सम्भावना हुन्छ।
यहाँका स्थानीयलाई भने त्यो सर्प नागदेवता नै रहेकाले आफ्नो मणि छोडेर त्यहाँबाट भागेर नजाने दाबी गरे।