धनुषाको सबैला नगरपालिकामा एउटा जन्ती बसमा ११ हजार भोल्टको करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ।
सबैला नगरपालिका ४ बाल्टियामा जन्ती बोकेर फर्किँदै गरेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्स बसमा शुक्रबार साँझ करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको हो। घटनामा एक दर्जन जन्ती घाइते भएका छन्।
बसको छतले विजुलीको ११ हजार भोल्टको तार छोएपछि करेन्ट लागेको थियो।
करेन्ट लागेर सिन्धुली दुधौली नगरपालिका ४ का ९ वर्षिय बालक आक्रोस कुमार दनुवार, २० वर्षिय पूजा अधिकारी दनुवार, १७ वर्षिया लीला अधिकारी दनुवार, धनुषा सबैला नगरपालिका ४ की ३५ वर्षिया रेशमदेवी कुमार दनुवार र अन्दाजी ९ वर्षका बालक सुरज अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो। यस्तै गम्भीर घाईते दुधौली नगरपालिका वडा नम्बर ९ का रामबाबु अधिकारी दनुवारलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए।
मृतक सबैको शव राति नै पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ।
घटनामा जलेर घाईते भएकामध्ये केहीको अवस्था अझै पनि गम्भीर छ। घाइते सबैको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ।
सिन्धुलीको दुधौली नगरपालिका ४ का रामप्रसाद अधिकारी दनुवारका छोरा रामवरण दनुवारको धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा विवाहको लागि जन्ती आएको बस फर्किने बेला दुर्घटना भएको हो।
कोशेलीस्वरुप पाएको ट्रंक छतमा राखिएको र उक्त ट्रंकमै बिजुलीको तार छोएपछि करेन्ट लागेर यति ठूलो दुर्घटना भएको हो। करेन्ट लागेर बसका सबै सिट जलेको छन्।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना घटनास्थल पुगेको थियो। विवाह भएका बेहुला र बेहुली अर्कै गाडीमा रहेकाले उनीहरू सकुशल रहेका छन्।
यो पनि :
प्रदेश २ सरकारले मृतकको परिवारलाई जनही एक लाख राहत दिने