धनुषामा जन्ती बस दुर्घटना
फूलकुमारी र उनकी आमा रेशम देवी जन्तीबाट फर्किदै गर्दा एकदमै हर्षित थिए।
धनुषाको सबैला नगरपालिका कोठिया बल्टियाबाट जन्तीमा रमाएका आमा छोरीका लागि यो खुसीको क्षण केही क्षणमै चुँडियो।
सिन्धुली दूधौली नगरपालिका वडा नम्बर ४ जीतपुरकी फूलकुमारीलाई के थाहा उनकी आमा रेशमदेवी कुँवर दनुवारसँगको यो रमणीय क्षण नै अन्तिम भेट हुनेछ भनेर।
हरेक सुख दुःखमा साथ दिने आमाको ममता र साथ केही क्षणमै चुँडिएपछि फूलकुमारीको हृदय पनि चुँडिएको छ।
धनुषाको सबैला कोठिया बल्टियामा जन्तीको बसमा विद्युतीय पोलको तारबाट करेन्ट प्रवाह भएपछि ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। घाइतेहरूमध्ये फूलकुमारी पनि एक हुन्।
तर, फूलकुमारी यो पीडाभन्दा पनि आमाको साथ सधैंका लागि छुटेको याद गर्दै भक्कानिँदै रुन्छिन्।
फूलकुमारीका अनुसार गाडीमा विद्युतीय तार छोएलगत्तै बसको चालक फरार भए। यस अघि जन्ती सवार अर्को बस अगाडि निस्किसकेको थियो भने ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्स बसका चालकको लापरबाहीका कारण यो घटना घटेको उनले रुँदै सुनाइन्।
फूलकुमारीले भनिन्‘ म, आमा, छोराछोरी सबै पछाडिको सिटमा बसेको थियौं, बसमा करेन्ट प्रवाह भएपछि म र छोरी दुबै जना झ्यालबाट हाम फालेर ज्यान जोगाएँ,’ उनले अगाडि भनिन्,‘ म आफूसँगै छोरीको ज्यान जोगाउन सफल भएँ तर आमा कुन बेला अगाडि गेटमा पुगिन् मलाई थाहा नै भएन।’
उनका अनुसार अगाडिको मूल गेटमा करेन्टका कारण आगो लागिसकेको थियो। कति जनाले आगोको ज्वालाका बीच गेटबाट हाम फालेर ज्यान जोगाउन सफल भए । तर उनकी आमा सकिनन्।
फूलकुमारीले यो हृदय विदारक घटनामा आमा गुमाइन् भने राजकिंगले बुवा गुमाए।
बेहुला रामवरण अधिकारीको भतिजो समेत रहेका राजकिंग अस्पतालको शैय्यामा आफ्नो आँशुलाई थाम्न सकिरहेका छैनन्। राजकिंग जन्तीमा बिहिबार रातभरी साथीभाइसँग रमाएका थिए। तर आजको अवस्था देखेर उनी भावविह्वल छन्।
राजकिंग भन्छन्, ‘ काका बोलेरोमा सवार थिए, त्यो गाडी अगाडि नै गइसकेको थियो, त्यसपछि जन्तीकै एउटा बस निस्केको थियो, हामी सवार बस सबैभन्दा पछाडि थियो,’ उनले भने, ‘बाटोमा तार तल थियो चालकले त्यो कटाउन नसकेर विद्युतीय करेन्ट बसमा प्रवाह भयो।’
राजकिंगका अनुसार उनका बुवा ४० वर्षीय रामबाबु अधिकारी बसमा सवार बालबालिकालाई करेन्ट प्रवाह भएपछि निकाल्ने प्रयास गरे। उनले कति जनाको ज्यान पनि जोगाए तर अपसोच! आफ्नो ज्यान जोगाउन सकेनन्।
धनुषाको यो घटनाले ६ परिवारको खुसी चुडेर लग्यो।
बसको छतमाथि राखेको टयांका ११ हजार भोल्टको तारमा छोएपछि बसमा करेण्ट लाग्दा सिन्धुलीको दुधौली नगरपालिका ४ का ९ वर्षका बालक आक्रोस कुँवर दनुवार, ११ वर्षीय बालक सुरज दनुवार २२ वर्षकी पूजा अधिकारी दनुवार, ३० वर्षकी लिला अधिकारी दनुवार, धनुषा सबैला नगरपालिका ४ की ३५ वर्षकी रेशमदेवी कुँवर दनुवार र ४० वर्षीय रामबाबु अधिकारी दनुवारको मृत्यु भएको थियो।
मृतक सबैको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ। घटनामा घाइते भएका ५ जनाको उपचार जनकपुरधाम अञ्चल अस्पतालमा भइरहेको छ भने बसका सहचालक उदयपुर कटारीका पवन पंजियारको अवस्था गम्भीर भएपछि धरान रेफर गरिएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका ४का रामप्रसाद अधिकारी दनुबारका छोरा रामवरण दनुवारको धनुषाको सबैला नगरपालिका ४ कोठिया बाल्टियामा विवाहको लागि जन्ती आएको बस फर्किने बेला दुर्घटनामा परेको थियो।
यो पनि:
जन्ती बसमा करेन्ट लागेर ६ जनाको मृत्यु, सबैको सनाखत