हजुरआमाका कथा
'त्योबेला नेपालमा गाडी थेनन् के। ठूला र आदर-ओहदामा भएकाहरूसँग मात्र थियो,' उनले भनिन्, 'तपाईंहरूलाई त थाहै नहोला यो कुरा।'
अहिले मान्छे सरावर गाडी भएको देखेर आत्तिन थालिसकेकी मैले सोधेँ, 'तपाईंले चाहिँ कहिले देख्नुभएको त गाडी?'
'त्यस्तै १०/१२ वर्षको भएपछि देखेकी,' काठमाडौंको भित्री सहरमा हुर्केकी ८१ वर्षीया जानकी केसीले सुनाइन्, 'सुरूमा यहाँ साना लहरी चल्थे।'
जानकीका अनुसार त्योबेला दिनभरमा मुश्किलले एक-दुइटा गाडी चल्थे। नयाँ सडक र इन्द्रचोकतिर मात्र। अहिले जस्तो जताततै थिएन। सहरभरिका एकाध गाडी चढेर घुम्नु त त्यतिबेला सपनामा पनि नचिताएको कुरो।
'पछिपछि कहिलेकाँही भाडाको गाडी चढेर यताउता गरेको याद छ,' उनले भनिन्।
हुनत उनी बस्ने ठाउँ लैनचौरतिर धेरै पछिसम्म भाडाका बस चल्थेनन्। जीवनका झन्डै सात दशक उनी लैनचौरको बासिन्दा भइन्। हाल छोराबुहारीसँग हात्तीवन बस्छिन्।
उनको खास नाम ऋद्धिकुमारी हो। जानकी, बोलाउने नाम।
'कसले राखेको जानकी?
उनले हाँस्दै सुनाइन्, 'आमाबुबाले। म जनकपुरमा जन्मेको भएर।'
बिक्रम सम्वत् १९९४ मा जनकपुर-जयनगर रेलवे निर्माण कामका लागि उनका बुबा वीरेन्द्र बहादुर रायमाझी जनकपुरमा रहेछन्। त्यहीँ आमा नेहा कुमारीको कोखबाट उनको जन्म भयो। जनकपुरमा जन्मिएकै कारण उनलाई सबैले जानकी भन्न थाले। उनको हुर्काइ भने काठमाडौंमै भयो।
आफू हुर्किनेबेलाको समय सम्झिँदै उनले भनिन्, 'त्योबेला काठमाडौं अर्कै थियो। हामी लहरी चढ्थ्यौं। ती लहरी आजकल देखिँदैनन्।'
ती लहरी आजभोलिका टिपर जस्तै हुन्थे। तर टिपरजति भयानक हुन्थेनन् क्यार!
ती लहरीको पछाडिको भागमा सतरञ्जा ओछ्याएर मान्छे बस्थे। यसरी लहरीमा बसेर केही दूरी यात्रा गरेका त्यतिबेलाका धेरै मान्छे आज पनि त्यो अनुभव सुनाउँछन्।
जानकीलाई पहिले र अहिलेका सडक र गाडी देख्दा अचम्मै लाग्छ।
भन्छिन्, 'मैले कल्पना पनि गरेकी थिइनँ, काठमाडौं यस्तो होला भनेर।'
त्योबेला उनको घर वरपरमात्रै होइन, उपत्यकाको अधिकांश भाग तरकारी बारी र खेतले ठाकेको थियो। जानकी कुद्दै, खेल्दै, डुल्दै हिँडेका खेतबारीमा अहिले घरैघर बनिसके। सडक फैलिसके। यी सडकमा हरबखत सँगसँगै जोडिएर पोको परेका गाडीका लाम देख्दा जानकीलाई अचम्म लाग्छ।
'यो सबै त कहिलेकाँही सपना जस्तो लाग्छ,' उनी भन्छिन्, 'त्यतिबेला जता पनि हिँडेरै पुगिन्थ्यो। चारैतिर खेतैखेत थियो। खुला ठाउँ। हिँडेरै सिनेमा हेर्न गइन्थ्यो।'
अहिले जस्तो मल्टिप्लेक्स थिएन उनका पालमा। सोधिहालेँ, 'कहाँ हेर्ने सिनेमा त्योबेला?'
'अहिले विशालबजार भएको ठाउँमा जनसेवा हल थियो। उता न्यूरोडतिर रञ्जना र हात्तीसारमा जयनेपाल। पाटनमा अशोक र भक्तपुरमा पनि के नामको सिनेमा हल थियो। तर उता पुग्न टाढा थियो। हामी यतैका हलमा हेर्थ्यौं,' उनले सुनाइन्। जानकीका 'सिनेमा' दिनहरू उनको मानसपटलमा पनि सिनेमाको रिल जस्तै भएर सर्रर बहेको रहेछ।
सिनेमामा रूचि लाग्ने जानकीलाई पढ्नमा चाख रहेनछ। केटाकेटीबेलासम्म घरमै 'एबिसिडी' सिकिन्। एकैपटक तीन/चार कक्षामा भर्ना भएकी रे।
'तीन हो कि चार कक्षामा भर्ना गरिदिए,' उनले सुनाइन्, 'लैनचौरकै शान्ति विद्या गृहमा। यही स्कुलमा मेरो छोरा राजेश (कार्टूनिस्ट 'फलानो') पनि पढेको।'
छोराले स्कुल पढाइ पूरा गरे पनि जानकीले ८/९ कक्षामै छाडेकी रहिछन्। उनले पढ्नेताका स्कुलको एकातिर भागमा केटाहरू र अर्कोतिर केटीहरू पढ्ने व्यवस्था रहेछ।
'स्कुल किन छाडेको त?'
'खै, जान मन लागेन, छाडियो,' कुनै बहाना बिना जवाफ दिइन् जानकीले, 'स्कुल नजाँदा रमाइलो लाग्थ्यो। अचेल जस्तो टिभी-सिभी नभए पनि घरमै रमाइलो गर्थ्यौं। साथीसँगीसँग खेल्यो, हिँड्यो, सिनेमा हेर्न गयो। यसै दिन बित्थ्यो।'
सम्झना सुनाइरहँदा उनको अनुहारमा ती दिनका रमाइला अनुभूति झल्किन्थे।
'अनि बिहेवारी कहिले भयो?'
'चौबीस वर्षकी थिएँ। मेरो बिहे काठमाडौं बाहिर भएको। नवलपरासीमा,' उनले सुनाइन्, 'श्रीमानको खास घर चाहिँ पाल्पाको भैरवथाननिर थियो। तर सासूहरू नवलपरासी आएर बिहे गरेको।'
काठमाडौंमा खेली-खाई हुर्किएकी जानकीलाई बाहिरको ठाउँमा भिज्न गाह्रो भयो। बस्न सजिलो भएन।
'त्योबेला गाउँठाउँ के रमाइलो लाग्थ्यो र। म उता धेरै बसिनँ। बिहेपछि दुई महिना बसेँ र यतै फर्केँ,' उनले भनिन्।
'किन घरमा दु:ख भएर बस्न नसकेको?'
'होइन नि, काम गर्नेहरू चारपाँच जना थिए। खानेकुरा दही, दूध प्रशस्त थियो,' उनले भनिन्, 'हामी नेपालमा बसेकालाई रमाइलो भएन क्या।'
त्योबेला जनबोलीमा 'नेपाल' भनेको काठमाडौं मात्रै बुझिन्थ्यो। उपत्यका बाहिरका छोरीहरू काठमाडौंमा बिहे भएर आउँदा 'नेपाल' आएको महशुस गर्थे। त्यस्तै काठमाडौंका छोरीहरू बुहारी भएर अरू जिल्ला गए उनीहरूले नयाँ नाम पाउँथे, 'नेपालेकी छोरी'। त्यो पहिचान चलनबाट जानकी पनि अछुतो थिइनन्।
त्योबेला मान्छेहरू उपत्यका आउन रमाउँथे। उपत्यकाबाट बाहिर जान कमै चाहन्थे। यहाँ जस्तो सुख-सुविधा अन्त थिएन। अहिले पनि यो क्रम जारी नै छ। झन् त्योबेला।
जानकी पछि एक वर्षकी छोरी लिएर पाल्पा घर गएकी रहिछन्। छ महिना बसेर फर्किछन्।
भनिन्, 'त्यता त जताततै जुका। मैले त कहिले नदेखेको। अनि त बस्नै सकिनँ।' जुका देखेर अत्यासिएको मन अहिले पनि सम्झँदा उनका पाखुराका रौं सिरिंग हुन्छन्।
'बिहे गरेर उता गएपछि नेपाल (काठमाडौं)को पनि धेरै याद आउँथ्यो,' उनले भनिन्। यी याद र फेरिएका ठाउँका परिवेशले उनी बाहिर बस्न सकिनन्।
'ठाउँ रमाइलो लागेन। छिनमा अँध्यारो हुने। छिनमै उज्यालो। साह्रै नरमाइलो लाग्यो। नयाँ ठाउँ भएर होला, अतासिएँ। उताबाट फर्केपछि सासूले 'यसले बस्न मन गरिन' भनेर यतै लैनचौरमा जग्गा किन्दिनुभयो। अनि यतै घर बनाएँ। सासू धेरै असल हुनुहुन्थ्यो।'
जानकीको बिहेअघि नै ससुरा बितिसकेका थिए। सासू थिइन्। आज पनि सासू सम्झिँदा जानकीका शब्दमा स्नेह, कृतज्ञता र आभार देखिन्छ।
जानकी 'भाग्यमानी बुहारी' मा पर्छिन्। किनकि, त्योबेलाका धेरै बुहारीलाई 'दास' भन्दा माथिल्लो दर्जा दिइन्थेन। अलि धनाढ्यका घरमा 'इज्जत र रवाफ' का नाममा छोराहरूको दुई-तीन वटा बिहे गरिदिन्थे। त्यसमा पनि बुहारीले भनेको नमान्नु, आफ्नो कुरा राखेर केही भन्नु त एकखालको अपराध नै ठहरिन्थ्यो। त्यस्तो जमानामा बुहारी पहाड बस्न सकिन भनेर काठमाडौंमा घरजग्गा जोडिदिने सासू कति पो हुन्थे होलान्?
जानकीसँग पुराना कुरा खोतल्दै जानेक्रममा सोधेँ, 'अनि प्रजातन्त्र आएको याद छ?'
'किन नहुनु। राजाले छाडेर गएको पनि थाहा छ। त्यो सात सालको कुरो हो। राजा इन्डिया गएका भन्थे। घर-घरमा यही कुरा गर्थे। पछि राजा प्लेन चढेर आ'को थाहा भयो। त्यतिबेला रेडियो थियो नि,' समाचारका विविध स्रोतबारे अर्थ्याउँदै उनले जानकारी दिइन्।
उनका अनुसार त्यतिबेला अल इन्डियाबाट नेपाली समाचार आउँथ्यो। बेलुका साढे सात बजे। उनीहरू त्यसमैमा समाचार सुन्थे। देशको समाचार जान्न विदेशी रेडियोको भर पर्नुपर्ने दिनका सम्झना आलै छन् उनीसँग।
उसो त पञ्चायतकालमा पनि देशमा समाचारको भरपर्दो स्रोत बिबिसी हिन्दी सेवा नै थियो। चासो हुनेहरू कहिले बेलुकी होला र समाचार सुनौंला भनेर दिन काट्थे। बिक्रम सम्वत २०३६ को जनमत संग्रह हुनुअघि पाकिस्तानमा जुल्फिकार अलि भुट्टोलाई फाँसी दिइएको कुरादेखि चीनको तियानमेन स्क्वायरमा सन् १९८९ मा भएको आन्दोलन र नरसंहारका खबर नेपाली समक्ष पुर्याउन पनि बिबिसी हिन्दी सेवाकै ठूलो हात छ।
नेपालमा लामो समयसम्म अल इन्डिया रेडियो र बिबिसी हिन्दी सेवाले आधिपत्य जमाएको कुरा बाहिरी जीवनभन्दा बढी गृहिणी भएर रमाएकी जानकी बताउँछिन्।
त्योबेला सबैका घरमा रेडियो हुन्थेन। जानकीको माइतीमा थियो। रेडियोको सम्झनामा उनका दाइ गाँसिएका छन्।
उनले सुनाइन्, 'चार साल कि कहिले हो, बर्मा गएको मेरो दाइले रेडियो ल्याएको थियो। गाउँमै सबभन्दा पहिले हाम्रै घरमा रेडियो आएको। त्यतिबेला हामी अहिले गंगालाल अस्पताल भएको ठाउँ बाँसबारी बस्थ्यौं। बाँसबारी गाउँ नै त थियो।'
जानकीसँग पुराना दिन कोट्याउने क्रममा मैले 'काठमाडौंको छाउ प्रथा' बारे प्रश्न गरेँ, 'त्योबेला महिनावारी बार्ने चलन कस्तो थियो?'
'म भर्खर १२ वर्ष लाग्या थिएँ पहिलो पटक महिनावारी हुँदा। १२ दिन घाम हेर्न दिएनन्,' उनी सुनाउँदै गइन्, 'हाम्रो घरको पछाडि नेवारको घर थियो। त्यहीँ अँध्यारो कोठामा थुनेर राखे। १२ दिनमा बाहुनले चोख्याएर घर ल्याए। मुवाले त पानी नछोई घर नल्याउने भनिसिन्थ्यो। बुवाले चाहिँ केटाकेटी छोरी बिरामी होली, धेरै दिन अर्काको घरमा नराख्ने भनेर ल्याइसियो। अनि घरकै तल्लो तलामा बसेँ।'
जानकीका ती स्मृती ताजै छन्- दोस्रो पटक महिनावारी हुँदा ७ दिन र तेस्रो पटक ४ दिन अरूकै घरमा बसेको। त्यसपछिका महिनावारीमा भने घरका पुरुष सदस्य बाहिर जान लागेको बेलामा र उनीहरूले खाना खाने बेलामा अगाडि पर्न नहुने चलन रहेछ।
'त्यतिखेर त ओछ्यान पनि छुन दिन्थेनन्। कम्बल, गुन्द्री ओछ्याएर भुइँमा सुत्न पर्थ्यो। पिर्कामा बसेर खान हुन्थेन। धेरै कडा थियो। मेरो घर झन् कडा। खाना खाँदा भुइँमा भात पोखियो भने त्यति भुँइको माटो नै कोतरेर लानुपर्थ्यो।'
भात पोखियो भने भुइँ कोतर्न पर्ने सास्तीले उनका सासू, आमाजूहरू राती खानै नखाने रहेछन्। उज्यालो नहुँदा पोखिने सम्भावना धेरै।
'म त नखाइ बसिनँ,' उनले सुनाइन्।
उनका कुरा आजका पुस्तालाई दन्त्यकथा लाग्दो हो। मेरा अगाडि भने ती दिन आफैं भोगेकी पात्र बोल्दै थिइन्। हाम्रा हजुरआमा/आमाका भोगाइको सूची सानो छैन। कति त विश्वास गर्नै गाह्रो लाग्छ। उनीहरूलाई सताउने कति चलन विस्तारै हराएर गइसके। जानकी भने केही नियम आफू बाँचुन्जेल राख्न चाहन्छिन्। अहिले पनि उनलाई महिनावारी भएकाहरू आफ्नो घरको भान्सा र पूजाकोठामा पसेको चित्त बुझ्दैन।
मानिसले हुर्किँदै समाजबाट सिकेको चलन कहाँ नकार्न सक्छ र यत्तिकै! उनी पनि समाजकै सदस्य।
८१ वर्षीया जानकी भन्छिन्, 'अब उबेलाको चलनै त्यस्तो। छोइछाइ गर्न नहुने। आफूले त्यही देखेर, गरेर आएको। बानी भइसक्यो। पहिले जस्तो त अहिले छैन। तर जति मान्दै आएकी छु, बाँचुन्जेल मान्ने हो।'
सबै तस्बिरः जानकीको पारिवारिक संकलन
यी हजुरआमाका कथा पनि पढ्नुस्ः
रूद्रकुमारीले फेरि आफ्नो कथा भन्ने छैनन्
'मेरो बूढा ससुराको दुइटा खलक- जेठी श्रीमतीका सन्तान श्रेष्ठ, कान्छीका भट्ट'
'मैले गीता पढ्दा महामारीले सबै मर्छन् भन्दै गाउँमा पञ्चायत बस्यो'
'श्रीमान कम्युनिष्ट भएकैले घर छाड्नुपर्यो'
'एकदिन यस्तो आउँछ, छोरी पाएकोमा समाजले खुसी मनाउनेछ'
८७ वर्षीया विष्णुकुमारीको मनमा अझै छ माओवादी त्रास
९० वर्षकी रत्नदेवी पुराना हिन्दी गीतमा श्रीमान सम्झन्छिन्
रजीया बेगम, जसलाई राजा त्रिभुवनले बनाइदिए मधु
रत्ना राई र शंकर लामिछानेको अमर प्रेम
‘आइतबार र बिहीबार महिलाले कपाल पनि कोर्न पाउन्न थिए’
पन्ध्र मिनेट दुरीको घर-माइती कहिल्यै एक्लै हिँडिनन् देवमाया
नयाँ दिन सम्झिन्नन्, पुराना दिन भुल्दिनन्
'रानी ऐश्वर्य 'नो' सुन्नै नसक्ने'
छोरीको मायामा लुपुक्क बुबाआमाले 'घर ज्वाइँ' खोजे