हजुरआमाका कथा श्रृंखला
पुण्यवता दस वर्षकी हुँदा उनका बुबा बिते।
अन्तिम सास फेर्ने बेला बुबाले आफ्नी दिदीलाई भनेछन्, 'मेरी छोरी रोगी छे, राम्रो घर हेरेर दिनू (बिहे गरिदिनू) है।'
पुण्यवताको बिहेको जिम्मेवारी फुपूको काँधमा आयो। फुपाजु बितेदेखि फुपू उनीहरूसँगै बस्दै आएकी थिइन्।
पुण्यवता बाह्र वर्षकी हुँदा उनका बडाबा पर्नेले फुपूसँग आएर भने, 'तपाईंकी भदै फलानो घरमा दिनु न। एउटा मात्रै छोरा छ। तीनटी छोरीको बिहे भइसक्यो। सासूबुहारी बस्छन्। धेरै दु:ख हुन्न।'
फुपूले पुण्यवताका बुबाको अन्तिम इच्छा पूरा गरिदिइन्।
भिमप्रसाद गुरागाईंसँग उनको बिहे भयो।
'बडाबाले साह्रै कराएको करायै गरे। धेरै सोच्न नि नभ्याई तीन-चार दिनभित्रै बिहे भयो,' नजिकै बसेर कुराकानी सुनिरहेका आफ्ना श्रीमान भिमप्रसादलाई सही थाप्न लगाउँदै पुण्यवताले भनिन्।
पुण्यवता भोजपुरको भुल्के डाँडाखर्कमा बिक्रम सम्वत १९९२ मंसिरमा जन्मिएकी हुन्।
'बिहेको दिन सम्झिनुहुन्छ?'
'तीन दिनमा त बिहे उतारेको, कसरी याद हुनु,' ८४ वर्षीया पुण्यवताले भनिन्, 'माघ मसान्तभन्दा दुई दिनपहिले उताबाट माग्न आए। फागुन १ गते डोलीमा राखेर हिँडिहाले। उबेला कता हो कता थाहा पाउँछु। त्यो दमाईंको डाँडा (त्यताको कुनै डाँडाको नाम) मा बेस्सरी हावा लागेको थियो। उडाउलाजस्तै गरेको।'
उनले त्यतिबेलाको समयमा फर्कने कोशिस गर्दै केही याद सुनाइन्।
बेस्कन बतास चलेकाले उनको डोलीमा घापान ओढाइएछ। डोलीमा हावा नलागोस् भनेर घप्लक्क ओढाइएको कपडालाई घापान भनिने रहेछ।
नउडोस् भनेर घापानलाई वरिपरिबाट सियोले खुटिन्थ्यो। घापान ओढाएपछि डोलीमा बस्न मिल्थेन। सुत्नुपर्थ्यो।
'त्यतिबेला त दमाई डाँडाबाट उँदै उँदो लगे,' उनले भनिन्।
तीन दिदीबहिनी र दुई दाजुभाइको परिवारमा हुर्किएकी पुण्यवतालाई आफ्नी दिदीको बिहे गरेको पन्ध्रौं दिनमा अन्माइएको थियो। त्यही वर्ष उनको भाइको ब्रतवन्ध पनि गरिएको रहेछ। त्यो बेलाको चलनअनुसार एकै वर्ष एकै घरमा तीनवटा शुभकार्य गर्नु हुन्थेन। अशुभ हुन्थ्यो।
'दुइटी छोरीको बिहे र छोराको ब्रतवन्ध। तीन शुभकार्य गर्न हुँदैन भन्थे,' उनले सुनाइन्, 'भाइ गोठालो जान्थ्यो। माइली फुपूकहाँ भागेर उतै ब्रतवन्ध गरेछ।'
ब्रतवन्ध गरेको एक महिनामै उनका भाइको निधन भयो।
हुन त उतिबेला जन्मिएका सबै छोराछोरी बाँच्नु सपनाजस्तै थियो। त्यो समयका आमा-हजुरआमाका कुराकानीबाटै थाहा हुन्छ- उनीहरूको जीवनको लामो समय 'गर्भ' बोकेरै सकिन्थ्यो।
त्यसबाहेक घर, खेतबारीका काम, वस्तुभाउ सम्हाल्दा सम्हाल्दै आफ्नो हुर्किँदै गरेको पेट सम्हालिन्थेन। धेरै आमाहरूले गर्भमै आफ्ना सन्तान गुमाउँथे। अरू धेरै सन्तानको आहार-स्याहारको कमी र रोगव्याधका कारण चाँडै मृत्यु हुन्थ्यो।
पुण्यवता पनि त्यो कष्ट र पीडाबाट अछुत छैनन्। गर्भ बसेका सबै सन्तान जन्मेर हुर्केका भए १७ जना पुग्ने रहेछन्।
'हाम्रा आठवटा त गर्भमै गए,' श्रीमानसँगै बसेकी उनले औंला भाँच्दै सुनाइन्, 'पाँच जना जन्मिएर मरे। अहिले चार छोरा छन्।'
पुण्यवताले बिहे भएको छ वर्षपछि छोरी जन्माइन्। दुई वर्षपछि छोरा जन्मियो। पहिलो र दोस्रो सन्तानको खुसी धेरै समय टिकेन। छोरी तीन वर्षकी हुँदा बितिन्। लगत्तै अर्को साल एक वर्ष पनि नपुगेका छोरा बिते।
पुण्यवताको पीडा थामिनसक्नु भयो। छोरीछोरा बितेको पाँच वर्षसम्म कुनै सन्तान भएनन्।
लामो अवधिसम्म बच्चा नजन्मिएपछि सबैले पुण्यवताका श्रीमानलाई अर्को बिहे गर्ने सल्लाह दिएछन्। सल्लाह दिनेमा पुण्यवताकै दाजुसमेत रहेछन्।
उनी ती क्षण सम्झँदै सुनाउँछिन्, 'दाजुले मेरी बहिनीबाट घर हुँदैन, तपाईं अर्को बिहे गर्नु ज्वाइँ भन्नुभाथ्यो।'
श्रीमान भिमप्रसाद मानेनन्।
'उहाँले यो जिउँदी हुन्जेल गर्दिनँ भन्नुभो,' उनले ती दु:खका पल मसँग बाँडिरहँदा छेउमै बसेका भिमप्रसाद मुस्कुराइरहेका थिए।
श्रीमानले आफ्नो व्यवहारबाट बेलाबखत दुःख दिए पनि अर्की श्रीमती ल्याउन भने राजी भएनछन्।
'आफ्ना दाजुले अर्को बिहे गर्नुभन्दा चित्त दुखेन?'
'के दुख्नु, उतिखेर चलनै थियो। मेरा भाउजू पनि दुइटी थिए। जेठी भाउजूबाट बच्चा नभएर कान्छी बिहे गर्नुभा,' उनले तत्कालीन समाजको अवस्था बुझाउँदै भनिन्।
तत्कालीन समाजमा 'बहुविवाह' अपराध थिएन। त्यसमाथि ५/६ वर्ष सन्तान नभएपछि त प्रश्नै उठेन।
'फेरि दाजुले बहिनीले दुःख पाई भने ल्याएर पाल्छु भन्नुहुन्थ्यो। धनी थिए माइती। श्रीमानले त पहिले एक वर्ष छोडेर हिँड्नुभो। अनि पछि ०१७ सालमा पनि छोडेर हिँड्नुभो। भागेर जानुभाको उहाँ,' श्रीमानलाई देखाउँदै उनले भनिन्।
'कहाँ? किन भाग्नुभएको?'
'घरमा बस्दा बस्दा दिक्क लाग्यो होला अनि भाग्नुभाको होला,' पुण्यवताले सोझो जवाफ दिइन्, 'पछि दाजुले ज्वाइँ फर्किएर आएनन् भने माइतीमै लान्छु भन्नुभो। म भैंसी पालेर बस्ली भन्ने थियो दाजुलाई।'
दाजुले उनलाई वैशाखसम्म घरै बस्ने भाका दिएका रहेछन्। वैशाखसम्म पनि नआए आफूसँगै लाने भनेका थिए। श्रीमान फागुनमै फर्किएछन्।
एकातिर श्रीमानको व्यवहार, अर्कोतिर सन्तान नभएको पीडा। पुण्यवताका दम्पत्तिका दिन सुखी थिएनन्।
सन्तान नभएको पीडा उनको माइती र घरकालाई पनि उत्तिकै थियो।
छोरा/बुहारी सन्तानविहीन होलान् भन्ने पीरले ससुराले उनीहरूलाई 'हरिवंश पुराण' लगाउन सुझाएछन्। बुढापाकाको मान्यता थियो, हरिवंश पुराण लगाएपछि सन्तान हुन्छन्। त्यो पनि छोरै जन्मिन्छ।
पुण्यवताको घरमा ०१७ सालमा हरिवंश पुराण लाग्यो। पुराण लगाएको अर्को वर्ष छोरा जन्मियो।
पुण्यवताका यी छोरा गोपाल गुरागाईं 'उज्यालो नाइन्टी' रेडियोका पत्रकार हुन्। दुई वर्षपछि छोरी जन्मिइन्। २०२९ सालमा माइला छोरा गोविन्द र ०३३ सालमा छोरा विनय शेखर (पत्रकार) जन्मे।
पहिले दुई सन्तान गुमाइसकेकी पुण्यवतालाई फेरि त्यही पीडा बल्झियो।
गोपालपछि जन्मिएकी छोरीको १३ वर्षमै मृत्यु भयो। ती पीडा गुरागाईं दम्पत्ति भुल्न सक्दैनन्।
छोराहरूलाई गाउँकै स्कुल हाले पनि छोरीलाई पढाइएको रहेनछ। छोरीले घर, खेतबारीको काम सबै सघाउँथिन्। पुण्यवता दम्पत्तिलाई छोरीको बिहे १४ वर्षमा गरिदिने रहर थियो। छोरी १३ वर्ष लागेदेखि बिहेका लागि सामान जोड्नुपर्छ भनेर सल्लाह गर्न थाले।
उनी सम्झिन्छिन्, 'वैशाखको बेला थियो। मकै गोड्दै सल्लाह गरेका थियौं।'
मनभरि छोरीको बिहेको सपना थियो, सामान जुटाउने चिन्ता थियो। त्यसको एक महिनापछि छोरीले अचानक पेट दुख्यो भनिन्। दुई-तीन दिन यत्तिकै बित्यो। एकदिन बेस्सरी पेट दुखेर तारन्तार दिसा लाग्यो।
भिमप्रसादले आफ्ना कान्छा हजुरबुबाका नाति गणेश गुरागाईंलाई बोलाए। उनी धामी थिए।
गणेशले सक्दो झारफुक गरे। केही सिप लागेन।
छोरीलाई व्यथाले झनै च्याप्यो।
उनी त्यही व्यथाले विदा भइन्।
छोरीको कुरा गर्दै जाँदा अहिले पनि पुण्यवता र भिमप्रसादको मन थामिन्न। पुण्यवता रुन्चे अनुहार र भक्कानो फुट्लाजस्तो छाती लिएर कोठाभित्र पसिन् र ०३२ सालमा बितेकी छोरीको धमिलिइसकेको फोटो ल्याएर देखाइन्।
'गाउँकै नातेदारको बिहेमा खिचेको फोटोमा छोरी पनि रहिछन्,' उनले रून्चे स्वरमा भनिन्।
पुण्यवताको भदाको बिहेमा खिचिएको फोटामा उनकी ती छोरी देखिएकी रहिछन्। माइला छोरा गोविन्दले कताबाट लिएर आएका रहेछन्। गोविन्दलाई त जन्मदेखि नै तिनै दिदीले स्याहारेकी रहिछन्।
पुण्यवतालाई आफ्नी छोरीको फोटो ठूलो बनाएर राख्ने रहर छ।
ती छोरी गुमाएको पीडा आफ्ना छोराहरूले समेत नभुलेको उनी सुनाउँछिन्।
'छोरी भए चाडबाड रमाइलो हुन्छ हई,' रसिला आँखा पार्दै उनले भनिन्, 'कान्छो छोरो घरमा श्राद्ध हुँदा 'दिदी/बहिनी भए आउँथे नि। जे पनि एक्लै गर्नुपर्छ' भन्थ्यो।'
हुन त पुण्यवताका साइँला छोरा विनय र कान्छा छोरा कृष्ण ०३३ र ०३७ सालमा जन्मिएका हुन्। उनीहरूले दिदीलाई देखेनन्। तर पनि दिदीबहिनी नभएको घरको शून्यता उनीहरूलाई महशुस हुन्छ।
'विशेषगरी चाडबाडमा दिदीबहिनीको कमी खट्किन्छ छोराहरूलाई,' उनले भनिन्।
पुण्यवताको ममतामा घिउ थप्दै श्रीमान भिमप्रसाद भन्छन्, 'छोरीको चाहिँ बारम्बार सम्झना हुन्छ। चाडपर्व, परिवारको भेटघाटमा याद आउँछ। झन् तिहार, तीज र आमाबुबाको मुख हेर्ने दिन छोरी भइदिएको भए भन्ने हुन्छ। घरिघरि कल्पिन्छु, ऊ बाँचेकी भए ठूली मान्छे बन्थी होली। ऊ कस्ती देखिन्थी होला? मजस्ती देखिन्थी कि उसकी आमाजस्ती भन्ने कल्पनाले छाड्दैन।'
निधन भइसकेकी छोरीलाई आजका दिन पनि कल्पिने भिमप्रसादले आफ्ना सुरूका सन्तान जन्मँदा एकपटक बोकेनन्। चलन नै त्यस्तै। दम्पत्ति नै भन्छन्, 'आफ्ना बाबुका अगाडि आफ्ना सन्तान बोक्न हुन्नथ्यो।'
सन्तान बोक्नु त परको कुरा, त्यो बेला पुण्यवता र भिमप्रसादलाई एकआपसमा बोल्न पनि कुना खोज्नुपर्थ्यो। घरका मान्ने सदस्यका अगाडि बोल्थेनन्। यो पनि चलन नै थियो रे।
पुण्यवताको मातृत्वमा धेरै दुःख आए। सानैदेखि रोगी शरीर। बारम्बारको गर्भ। घरको कमजोर आर्थिक अवस्था। यो सबै देखेर पुण्यवताका काका छोरा (भाइ) ले उनलाई परिवार नियोजन गर्न सुझाएछन्।
'दिदी हिँड्नुस्, भोजपुर गएर अपरेसन गरेर परिवार नियोजन गर्नु भन्थ्यो,' पुण्यवताले सुनाइन् ,'मलाई डर लाग्यो। परिवार नियोजन गर्या मान्छेले छोएको खान्थेनन् उतिखेर। केही चल्दैन भन्थे। श्राद्ध गर्न हुँदैन, पितृ भाग्छन् भन्थे। केही गर्न दिन्थेनन्। त्यही भएर डर लाग्यो।'
उनी गइनन्। १८ वर्षकी हुँदादेखि सुरु भएको उनको सन्तान जन्माउने क्रम ४५ वर्ष पुग्दा बल्ल रोकियो।
पुण्यवताको जीवनका धेरै पाटामध्ये यो एउटा पाटो मात्रै हो। सायद सबभन्दा जटिल र पीडादायी। उबेलाको दाँजोमा अहिले उनको जीवन सुखी छ।
भोजपुरको विकट गाउँबाट इटहरी हुँदै २०७२ सालमा उनी काठमाडौँ आएकी हुन्।
'यहाँ आउने व्यवस्था छोराहरूले मिलाए। हामीलाई त न मधेस झरम्ला भन्ने कल्पना थियो, न काठमाडौं आउने,' उनले भनिन्।
उनी अहिले श्रीमानसहित छोराको चुनिखेलस्थित घरमा बस्छिन्। घरमा बुहारी र नातिनातिना छन्।
उहिले र अहिलेका सासूबुहारीको व्यवहारमा धेरै परिवर्तन आएको उनी सुनाउँछिन्।
'उहिले त सासूका अगाडि बोल्न हुन्थेन। सासूससुराको मुख हेर्न हुन्थेन। भात खाँदा पनि धोतीले तलसम्म घुम्टो हालेर खानुपर्थ्यो। व्रत लिएको छ भने भोलिपल्ट सखारै नुहाएर सासूको गोडा धोएर पानी खानुपर्थ्यो। अहिले त केही छैन,' पुण्यवताले भनिन्।
पुण्यवतासँग कुराको बिट मार्दामार्दै थाहा भयो, उनको नाम अर्कै रहेछ।
'नागरिकता बनाउँदा मेरो नाम पुण्यवती लेखिदिएका छन्।'
यी हजुरआमाका कथा पनि पढ्नुस्ः
'काठमाडौं यस्तो होला भन्ने कल्पनै गरेकी थिइनँ'
रूद्रकुमारीले फेरि आफ्नो कथा भन्ने छैनन्
'मेरो बूढा ससुराको दुइटा खलक- जेठी श्रीमतीका सन्तान श्रेष्ठ, कान्छीका भट्ट'
'मैले गीता पढ्दा महामारीले सबै मर्छन् भन्दै गाउँमा पञ्चायत बस्यो'
'श्रीमान कम्युनिष्ट भएकैले घर छाड्नुपर्यो'
'एकदिन यस्तो आउँछ, छोरी पाएकोमा समाजले खुसी मनाउनेछ'
८७ वर्षीया विष्णुकुमारीको मनमा अझै छ माओवादी त्रास
९० वर्षकी रत्नदेवी पुराना हिन्दी गीतमा श्रीमान सम्झन्छिन्
रजीया बेगम, जसलाई राजा त्रिभुवनले बनाइदिए मधु
रत्ना राई र शंकर लामिछानेको अमर प्रेम
‘आइतबार र बिहीबार महिलाले कपाल पनि कोर्न पाउन्न थिए’
पन्ध्र मिनेट दुरीको घर-माइती कहिल्यै एक्लै हिँडिनन् देवमाया
नयाँ दिन सम्झिन्नन्, पुराना दिन भुल्दिनन्
'रानी ऐश्वर्य 'नो' सुन्नै नसक्ने'
छोरीको मायामा लुपुक्क बुबाआमाले 'घर ज्वाइँ' खोजे