आजभन्दा दस वर्ष अघि त्यहाँ फोहोरको डंगुर थियो। तर अहिले त्यो ठाउँको स्वरूप फेरिएको छ।
हामी कुरा गर्दै छौं, तुलसीपुरको पातुखोला बगरको।
तुलसीपुर उपमहानगरपालिकाले अहिले उक्त ठाउँलाई नमूना अटो भिलेजमा रूपान्तरण गरेको छ।
‘दस वर्षभन्दा बढी समय यही स्थानमा तुलसीपुरको फोहोर फालिएको थियो,’ अटो भिलेजका अध्यक्ष तथा निर्माण समितिका अध्यक्ष टोपबहादुर महतराले भने, ‘त्यो फोहोरलाई दबाएर आज त्यसैमाथि हामीले सुन्दर अटो भिलेज निर्माण गरेका हौं।’
उक्त ठाउँमा अटो भिलेज बनाउन भने त्यति सजिलो थिएन। तगारो बन्यो स्थानीय सामुदायिक वन।
वडा नं. ९ का वडा अध्यक्षले बगरमा अटो भिलेज निर्माणका लागि स्थानीय सामुदायिक वनलाई १० लाख रुपैयाँ दिएपछि समस्या समाधान भएको बताए ।
वडा नं. ६ का वडा अध्यक्ष नवराज लामिछानेले जोखिमयुक्त फोहोरलाई भाटेर सुन्दर अटो भिलेज निर्माण गरिनु नमूना योग्यकार्य भएको बताए।
‘हिजोको डम्पिङ साइड आजको सुन्दर अटो भिलेज बन्नु सुखद पक्ष हो,’ लामिछानेले भने,‘ यो धेरैका लागि सिकाइको विषय बन्न सक्नु पर्छ।’
तुलसीपुरलाई स्मार्ट सिटी निर्माण गर्ने लक्ष्यअनुरूप बसपार्कलाई गुरूयोजना अनुरूप निर्माण गर्न अटो भिलेज बगरमा स्थान्तातरण गरिएको ढकालले बताए।
पातुखोलाको पूर्वको वडा नं. ६ र पश्चिमको वडा नं. ९ मा गरी दुबैतर्फ आधुनिक अटो भिलेज निर्माण भएको छ। जसको क्षत्रफल झन्डै साढे ४ विगाहा क्षेत्रफल रहे पनि निकट भविष्यमै त्यो क्षेत्रफल साढे ७ विगाहासम्म विस्तार हुने जानकारी दिइएको छ।
उपयोगहिन पातुखोला बगरमा दुबैतर्फ तटबन्ध गरेर बाढीबाट सुरक्षित बनाएर अटो भिलेज निर्माण गरिएको तुलसीपुरका मेयर घनश्याम पाण्डेले बताए।
निजी साझेदारी कार्यक्रमअन्तरगत तुलसीपुर उपमहानगरपालिका र अटो व्यवसायीहरूको संयुक्त लगानीमा यो अटो भिलेज निर्माण गरिएको हो। जसको कुल लागत साढे १० करोड पुग्ने जानकारी दिइएको छ। योजनाअन्तरगत अझैं खोलाको बीचमा पुल निर्माण गर्न बाँकी नै छ। त्यस्तै गुरूयोजनाअनुरुप खाजानास्ताको लागि टेन्डर आह्वान भएपछि एउटा होटल यो बीचमा निर्माण गरिने उपमहानरपालिका इञ्जिनियर पवनकुमार योगीले जानकारी दिए।
अटो भिलेजमा प्रत्येक घरको अगाडि विरुवा रोप्नुपर्ने व्यवस्था गरिएको र बीचमा एउटा पार्क र मिनी भ्यूटावर निर्माण गरिने इन्जिनियर योगीले बताए।
नमूना अटो भिलेज भएको हुँदा संरचनामा एकरूपता हुने तथा बाटोमा गाडी पार्किङ गर्न नपाइने व्यवस्था गरिएको छ।
अब बजारमा यो भन्दा अन्यन्त्र कतै पनि अटोव्यवसाय सञ्चालन गर्न नपाउने नीति नगरले लिएको छ।
फिल्ड निर्माण र तटबन्धको काम उपमहानगरपालिकाले गरेको भए पनि व्यवसायीले भवन भने निजी खर्चले निर्माण गरेका हुन्।
हाललाई अटो भिलेजलाई बाढीबाट जोगाउन दुबैतर्फ तारजाली लगाइएको भए पनि निकट भविष्यमै प्रदेश सरकारको थप १० करोड बजेटबाट डिटेल सर्भेपछि तटबन्ध निर्माण गर्ने योजना रहेको मेयर पाण्डेले बताए।
‘अटोभिलेजको उत्तर रानीजरुवाको झुलुंगे पुलदेखि यहाँसम्म झन्डै ३ किलोमिटरमा दुबैतर्फ तटबन्ध निर्माण गरिने छ,’मेयर पाण्डेले भने, ‘अटो व्यवसायीले बाढीको कुनै चिन्ता नगर्दा हुन्छ त्यसको जिम्मा उपमहानगरपालिकाले लिन्छ।’
अटो भिलेज निर्माण गर्न प्रत्येक व्यवसायीले २०/२० हजार संकलन गरेर उपमहानगरमा गतवर्ष नै जम्मा गरेका थिए।
उपमहानगरपालिकालाई पहिले फोहोर फाल्ने ठाउँबाट अटो भिलेज निर्माणपछि मासिक डेढ लाख बढी भाडा बापतको राजस्वसमेत संकलन हुन थालेको छ।
अध्यक्ष महतारले बसपार्कमा अटो भिलेज हुँदा सानो र साँघुरो रहे पनि हाल बगरमा निर्मित अटो भिलेज खुला स्थानमा हुनुले पहिलेको भन्दा तुलनात्मक रूपमा धेरै फराकिलो रहेको बताए।
‘पहिले हामी स्थान अभावले एउटै घरमा तीन जनासम्म मिलेर बस्नु पर्दथ्यो,तर आज हरेकका ६ मटिरका पसल निर्माण गरिएका छन्। यहाँ सामान राख्ने प्रशस्त स्थान छ, खुला हावा आउँछ,’ महतराले भने।
अटो भिलेजमा विद्युतीकरण भइसकेको छ। वडा नं. ९ तर्फको व्लकमा पानीको धाराको समेत प्रवन्ध भइसकेको छ। तर पश्चिमतर्फ भने अझैं प्रक्रियामै रहेको र निकट भविष्यमै खानेपानीको धारा आउने महतराले आशा व्यक्त गरे।
सुन्दर अटो भिलेज निर्माण गरिएको क्षेत्र बगर भएको हुँदा त्यहाँ प्रहरी प्रशासन र सुरक्षाको व्यवस्था अलि नभएको हुँदा नजिकै प्रहरी विटको आवश्यकता महशुस भएको उनले बताए। हाल एक सय ५० जनाको हाराहारीमा त्यहाँ व्यवसायी बस्दै आएको महतराले बताए।
२२ वर्षदेखि तुलसीपुरमा अटोभिलेजको क्षेत्रमा काम गर्दै आएको बताउने अजमन खानले हाल निर्मित अटो भिलेज फराकिलो रहेता पनि तटवन्ध राम्रोसँग निर्माण नगरेको हुँदा वर्षामा बाढीको खतरा रहेको हुँदापूर्व तर्फको ब्लकमा तत्काल तटबन्ध निर्माण गरिनुपर्ने बताए। ‘हामीले सारा सम्पत्ति यही बगरमा ल्याएर थुपारेका छौं,’ खानले भने,‘यदि समयमै तटबन्ध निर्माण नगर्ने हो भने वर्षामा बाढीले यो हाम्रो सबै सम्पत्ति बगाएर लैजाने खतरा छ।’
आधुनिक बसपार्क निर्माण कार्य अन्तिम चरणमा
२०५२ सालतिर तुलसीपुर बजारबाट पातुखोलाको बगरमा सारिएको बसपार्क आधुनिक बनाउने कार्य निकट भविष्यमै पूरा हुँदैछ।
तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले आगामी जेठ मसान्तसम्म बसपार्कको टर्मिनल भवन निर्माण गर्ने अन्तिम समय सीमा रहेको जानकारी दिए। त्यही अनुरूप हाल पहिलेको बसपार्क क्षेत्रबाट यसअघि निर्मित भौतिक संरचना धमाधम हटाउने काम भइरहेको उनले बताए।
गुरूयोजना अनुरूप बसपार्क निर्माण गर्न नगरका तत्कालीन कार्यकारी अधिकृत टोपेन्द्र केसीले शिलान्यास गरेका थिए।
गत वैशाख ५ गते उपमहानगरपालिकाले गुरूयोजनाअनुसार बसपार्क निर्माणको कार्य थालनी गर्न कार्यादेश दिएको थियो।
पातुखोलामाबसपार्क गुरूयोजना अनुरूप आधुनिक बनाउन ३ करोड १६ लाख ९८ हजारमा टर्मिनल विल्डिङ निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। अब रङरोगन र अन्य भित्रि कामहरू रहेको जानकारी दिइएको छ।
यो टर्मिनल भवनभित्र टिकट काउन्टर, रेष्टुरेण्ट, प्रशासनिक भवन, हेल्प डेक्स र बीचमा बगैंचा निर्माण गरिने इञ्जिनियर योगीले सेतोपाटीलाई जानकारी दिए ।
भवनको नजिकै सार्वजनिक शौचालय निर्माण गर्ने कार्य पनि लगभग पूरा भएको छ। त्यस्तै टर्मिनल भवनमा आउने र निस्कने साधनको लागि वरिपरि सडक निर्माण र सडक बत्ती निर्माण पनि गर्ने योजना रहेको छ।
यसअघि नै तुलसीपुर बसपार्कमा रहेका पुराना टिकट काउन्टर भत्काइ सकिएको छ। हाल त्यहाँ व्यापारिक सटर निर्माण गरिएको छ। २ करोड ४४ लाख २२ हजारमा २२ वटा सटर युक्त सपिङ स्टल निर्माण गरिएको छ।
ती सटरहरूमा हाल विभिन्न यातायात समितिहरूले काउन्टर राखेको भए पनि टर्मिनल भवन निर्माणपछि सटरहरू उपमहानगरपालिकाले व्यापारिक प्रयोजनका लागि टेन्डर आह्वान गरी भाडामा लगाउने जानकारी दिइएको छ।
तुलसीपुरका इञ्जिनियर योगीकाअनुसार गुरूयोजनाअनुसार पहिलो चरणमा निर्माण गर्न थालिएको टर्मिनल भवन र सपिङ स्टल भ्याट बाहेक कुल ९ करोड ९ लाख ९० हजार ९ सय ५८ रुपैयाँ ५३ पैसामा निर्माण भइरहेका हो।
काम सुरू भएको मितिले १५ महिनाभित्र काम सम्पन्न गर्नेगरी पहिलो चरणको निर्माणको जिम्मा शिवशक्ति निर्माण सेवा काठमाडौंले लिएको भए पनि काम केही ढिला गरी पूरा हुन लागेको छ।
निर्माण कम्पनीका इञ्जिनियर विजय बोगटीले नयाँ वर्षको जेठमसान्त अगाडि नै टर्मिनल भवन निर्माणको काम पूरा भइसक्ने जानकारी दिए।
उनले निर्माण कार्य लगभग ९० प्रतिशत पूरा भएको बताए।
बहुवर्षीय योजनाअन्तरगत २०७० सालको गुरूयोजना अनुरूप तुलसीपुर बसपार्कलाई आधुनिक बनाउन झन्डै ३४ करोडको स्टिमेट गरिएको छ।
हाल पहिलो चरण अन्तरगतका संरचना निर्माण भइरहेको र गुरूयोजनाअनुरूप सबै संरचना निर्माण गर्न अझै केहीवर्ष लाग्ने इञ्जिनियर योगीले जानकारी दिए।