दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गोलौरा निवासी ३० वर्षीया तुलसी परियार र उनकी ५ वर्षिया छोरी लक्ष्मीले यसपटक एकैसाथ कक्षा १ को परिक्षा दिएका छन् ।
उनीहरुले तुलसीपुर १० राइखलियानस्थित पशुपती प्राथमिक विद्यालयबाट परिक्षा दिएका हुन्। आमा तुलसीको कक्षा १ मा रोल नम्वर २ छ भने छोरी लक्ष्मीको १ छ। तुलसीको त्यसभन्दा माथिकी अर्की छोरी निशाले पनि सोही स्कुलमा कक्षा ५ को परिक्षा दिइन् ।
तुलसीका अन्य सन्तान मध्ये जेठी छोरी रुपाले ८ कक्षा र साईली छोरी दुधेनामा कक्षा ६ मा पढ्दै गर्दा छाडेकी छन्। उनीहरू दुबै पढ्न जाँदैनन्।
माईली छोरी मिनाले भने तुलसीपुर १२ को महेन्द्र माविबाट कक्षा सातको परिक्षा दिइन।
तुलसीले सानो छँदा पढ्न पाइनन् ।
सल्यानमा जन्मिएकी तुलसीको १४ बर्षकै उमेरमा विहे भयो र १५ बर्षमै आमा बन्न पुगिन्। दलित र गरिव परिवारमा जन्मिएकी तुलसीका अभिभावकले पनि विद्यालयमा पठाएनन् ।
‘त्यो लाटो जमाना थियो। शिक्षाको महत्व थाहा थिएन।त्यही भएर बाबु आमाले हामीलाई विद्यालय पठाएनन्,’ तुलसीले भनिन् ।
तत्कालिन माओवादी युद्धका कारण उनका बाबुले १४ वर्षको उमेरमा नै बिहे गरिदिएको सुनाइन् ।
संकटकालको समयमा माओवादीले उठाएर युद्धमा लैजाने त्रासले डराएका बाबुले सानैमा आफुलाई केटा खोजेर पठाइ दिए ।
कलिलै उमेरमा ५ छोरीको आमा बनेकी तुलसीका सबै छोरी घरमै जन्मिए ।
भन्छिन–‘लेख पढ गर्न नजान्नेका लागि संसार नै अन्धकार जस्तो रैछ, केही ज्ञानगुनका कुरा सिक्न पढ्न थालेकी हुँ।’
तुलसीलाई सुरु–सुरुमा विद्यालय पढ्न जाँदा लाज लाग्ने गर्थ्यो। कतिपयले उनलाई 'नाती नतिना देख्ने समयमा विद्यालय जान्छे' भन्दै गिल्ला पनि गरे ।
‘कतिले भने मर्ने बेला हरियो काँक्रो’ भन्दै खिशिटियूरी गरे । क्रिष्टियन धर्मालम्बी तुलसीलाई विदेशी धर्म अंगालेर बौलाउन थाली भन्ने जस्ता वचन नलगाएका होइनन् ।
तर, तुलसीले यस्ता कुराहरुलाई वास्ता गरिनन् ।
समाजले जे जस्तो भनेपनि तुलसीलाई पति दलबहादुरको दर्हो साथ छ ।
‘आफु मजदुरी गर्न जाँदापनि मलाई पढ्न जाउ भन्नु हुन्छ,’ तुलसीले भनिन्, ‘इच्छा भएसम्म पढ भन्नुहुन्छ ।’
५ बर्षीया छोरी संगै कक्षामा बसेर पढ्न खोज्दा सुरुका दिनमा अप्ठेरो लागेको थियो तर तुलसीलाई शिक्षकले पनि हौसला दिए ।
कक्षा १ का साना बालवालिकाले पनि तुलसीलाई अभिभावकको जस्तै व्यवहार गर्न थालेपछि कक्षा कोठामा बसेर पढ्न सजिलो भएको तुलसीले बताउँछिन् ।
चरम गरिबीको संकटमा संघर्ष गर्दै यो परिवारले जीवन गुजारा गर्दै आएको छ ।
ऐलानी जग्गामा सानो फुसको झुपडी बाहेक उनीहरुको अरु केही छैन ।
त्यसैले तुलसीपनि पतिसंगै मजदुरी गर्न जानुपर्ने हुँदा संधै विद्यालय जान पाउँदिनन् ।
‘तैपनि मैले लगनका साथ अध्ययन गरेकी छु । परिक्षा पनि राम्रै गरे जस्तो लाग्छ । हेरौं नतिजा कस्तो आउँछ?,’ तुलसीले भनिन् ।
अप्ठेरो हुँदा ५ बर्षीया छोरी लक्ष्मीसंग एकले अर्कौलाई सिकाउने गरेको तुलसीले बताइन् ।
‘म मजदुरी गर्न गएको दिन छुटेको कुरा छोरीले सिकाउँछिन् र छोरीले भुलेको कुरा मैले सिकाउँछु,’ तुलसीले भनिन् ।
जस्तो भएपनि यसैवर्ष मात्रै बाह्रखरी सिकेकी तुलसीको मनमा अब पढन सक्छु भन्ने भावना जागृत भएको छ ।
‘गरिवीले गर्दा संधै विद्यालय जान पाउँदिन होला,तर म पढाई छोड्ने पक्षमा छैन,’ तुलसीले भनिन् ।
विद्यालयका एक शिक्षिका सीता भण्डारीले तुलसी शिक्षाको महत्व बुझेरै विद्यालय पढ्न आएको हुँदा त्यसमा साना बालवालिका र समाजमा समेत सकारात्मक प्रभाव पार्ने तर्क गरिन ।
‘३० बर्षीया तुलसीले कक्षा १ मा नाम लेखाएर पढ्न थालेपछि अरु विद्यार्थीपनि उत्साहित भएका छन्,’ सीताले भनिन् ।