दाङको बबई गाउँपालिकाका स्थानीयले दुई दिनदेखि झण्डै एक दर्जन सवारी साधन नियन्त्रणमा लिएका छन्।
मनपरी रूपमा नदीजन्य पदार्थको उत्खनन् भएकोले त्यसलाई रोक्नुपर्ने माग गर्दै स्थानीयले सोमबार बिहानदेखि नदीजन्य पदार्थको उत्खनन् र ओसार पसारमा प्रयोग गरिएका सवारी साधन नियन्त्रणमा लिएका हुन्।
अवैध उत्खननको विरोधमा स्थानीयले हापुरे जलुके सडक खण्डसमेत अवरूद्ध पारेका छन्।
बबई गाउँपालिकामा बालुवा गिट्टी उत्खनन् बारेको विवाद फेरि उत्कर्षमा पुगेपछि मंगलबार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमख, जिल्ला समन्वय समितिका पदाधिकारी, वनका पदाधिकारी समस्या सुल्टाउन लागिपरेका छन्।
बबईमा नदीजन्य पदार्थको ठेक्का खोलिएदेखि नै पटक/पटक विवाद हुँदै आएको छ।
केही समय पहिले अनुगमनमा गएको जिल्ला समन्वय समितिको टोलीले मापदण्डविपरीत उत्खनन् गरेको भन्दै झण्डै एक दर्जन गाडी नियन्त्रणमा लिएको थियो।
बबई गाउँपालिकाले वडा नं. ५ जलुकेस्थित बबई नदीको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका साथै ईआइए गरी ठेक्का लगाएको ठाउँमा भन्दा फरक ठाउँमा जंगलभित्र मनपरी उत्खनन् गर्न थालेपछि स्थानीयवासी त्यसको विरोधमा उत्रिएको स्थानीय युवा युवराज कँडेलले बताए।
बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले भने स्थानीयले कानुनविपरीत सवारी साधन नियन्त्रणमा लिएको दाबी गरे।
स्थानीयवासीले एउटा स्काभेटर, एउटा जेसिबी र सात वटा टिपर कानुनविपरीत हावा फालेर जंगलमै बन्धक बनाएर राखेको हुँदा त्यसकाविरूद्ध कानुनी उपचार खोजिने उनले बताए।
‘यहाँ कम्युनिष्टले राम्रो काम गर्यो भनेर कांग्रेसहरू अत्तालिएका छन्,’ अध्यक्ष पौडेले भने, ‘कांग्रेसका इकाई सभापतिले नै मेरो गाडी तोडफोड गरे, मविरूद्ध जाइ लागे।’
तर स्थानीयले भने गाउँपालिकाले ठेक्को नलगाएको वन क्षेत्रबाट समेत गाउँपालिका अध्यक्षको मिलोमतोमा अवैध उत्खनन् भएपछि बाध्य भएर उत्खनन प्रयोग गरिएका साधन नियन्त्रणमा लिनुपरेको दाबी गर्छन्।
गाउँपालिकाका अध्यक्ष, ठेकेदार लगायत केही स्थानीय व्यक्तिहरूको मिलेमतोमा मनपरी उत्खनन् र विक्री वितरण हुन थालेपछि त्यो रोक्न स्थानीय उठेको स्थानीय संघर्ष समितिका अध्यक्ष कुलबहादुर खत्रीले सेतोापटीलाई बताए।
‘ईआइए गरिएको खोलाको उत्खनन् ठेक्का लागे पनि गाउँपालिकाको मिलेमतोमा जंगल क्षेत्रबाट समेत मनपरी रूपमा ढुंगा निकाल्ने काम भइरहेपछि जनता त्यसविरूद्ध उठेका हुन्,’ अध्यक्ष खत्रीले भने, ‘एक ठाउँमा उत्खननको अनुमति छ तर, यहाँ अर्कै ठाउँबाट उत्खनन् भइरहेको छ।’
स्थानीय पूर्णबहादुर केसीले पनि स्काभेटरलाई जंगलको बीचमा उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको बताए।
त्यसबारे प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल,जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपाली र सेक्टर वन कार्यालयलाई अनुरोध गरे पनि कुनै निकायबाट चासो नभएपछि स्थानीय बाध्य भएर त्यो रोक्न पुगेको केसीले बताए।
स्थानीय सरकार प्रमुख, प्रमुख जिल्ला अधिकारी घटनास्थल नपुगेता पनि स्थानीयले नियन्त्रणमा लिएका गाडीहरूको मुचुल्का उठाउन ईलाका प्रहरी कार्यालय खिलतपुर र हापुरेबाट प्रहरी घटनास्थल पुगेको स्थानीयले बताए।
तर स्थानीयले जिल्ला वन, सिडिओ, जिल्ला समन्वय समिति लगायतको अनुगमनपछि मात्रै नियन्त्रणमा लिएका साधन छोड्ने अडान लिएपछि प्रहरी पनि फर्किन बाध्य भएको थियो।
‘प्रहरीले गाडी जबरजस्ती लैजानेमात्रै प्रयास गर्दा केहीबेर झडपका स्थिति सृजना भएको थियो, त्यसमा गाउँपालिकाले पनि निकै बल गरेको थियो। तर जनताको अगाडि उनीहरूको केही जोर चलेन र फर्किए,’ स्थानीय युवराज कँडेलले भने।
प्रहरीले भने गाडी खोसेर ल्याउन गएको नभइ घटनाबारे सत्यतथ्य बुझ्नका लागिमात्रै गएको प्रतिक्रिया दिएको छ।
बबई गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष चिन्तामणि शर्माले पनि अवैध रूपमा जंगल क्षेत्रबाट मिलेमतोमा उत्खनन् भइरहेको भन्दै त्यो तत्काल रोकिनु पर्ने माग गरेका छन्।