जिल्ला अनुगमन तथा समन्वय समितिले ववई गाउँपालिका बाट अवैद्य उत्खनन्मा प्रयोग गरिएका ८ वटा साधन नियन्त्रणमा लिएको छ ।
यसअघि स्थानीयले गाउँपालिकाले लगाएको ठेक्का भन्दा फरक ठाउँबाट मनपरी उत्खनन् गरेको भन्दै ती साधन नियन्त्रणमा लिएका थिए ।
दुई दिनसम्म स्थानीयले ३ वटा स्काभेटर र ५ वटा टिप्पर नियन्त्रणमा लिएपछि त्यहाँ पुगेको अनुगनमा समितिले ती साधन नियन्त्रणमा लिएको हो ।
मंगलवार अनुगमन समितिका संयोजक जितेन्द्रमान नेपालीको नेतृत्वमा त्यहाँ पुगेको अनुगमन टोलीले स्थलगत अनुगमन गरेर अवैधानिक रुपमा नदीजन्य पदार्थको उत्खनन भएको भन्दै तत्कालको लागि सवै काम रोक्ने समेत निर्णय गरेको छ ।
बबई गाउँपालिका वडा नं. ५ जलुके क्षेत्रवाट नदी र वनको बीच भागवाट समेत मनपरी उत्खनन भएको पाइएको हुँदा ती साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
‘ठेक्का बाहिरको जंगल क्षेत्रमा पनि उत्खनन भएको पाइयो’ अनुगमन समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले भने ‘ तत्तकालको लागि उत्खननमा प्रयोग भएका सवारी साधनलाई कारवाही गर्ने र काम रोक्ने निर्णय भएको छ ।’
बबई गाउँपालिकाले ईआए तथा आइई भएका क्षेत्रमा ठेक्का तथा अमानतमा काम गरेको र ती क्षेत्रमा अनुगमन समितिको स्विकृति विना मेसिन प्रयोग गरेको फेला परेको पाण्डेले बताए ।
ईआए र आइई गरेको क्षेत्रमा मेसिन प्रयोग गर्नको लागि जिल्ला अनुगमन समितिबाट स्विकृति लिनु पर्ने व्यवस्था भएपनि त्यसो गरेको नपाइएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।
जलुके क्षेत्रमा तिन ठाउँमा गाउँपालिकाले ईआए गरेको छ । तर त्यो भन्दा बाहिर धेरै ठाउँ र जंगल क्षेत्रबाट समेत उत्खनन्को काम भएको छ ।
ठेक्का क्षेत्र र त्यो भन्दापनि बाहिर क्षेत्रबाट उत्खनन भएकोले बुधवारदेखि प्राविधिक टोली खटाउने र टोलीको विस्तृत अध्ययन प्रतिवेदनको आधारमा अघि बढने निर्णय भएको जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपालीले बताए ।
‘प्राविधिक टोलीले तत्तकाल अध्ययन थाल्ने र टोलीको प्रतिवेदनको आधारमा के कति ? गैरकानूनी काम भएको छ ।
त्यसको आधारमा ठेक्का रोक्ने वा काम अघि बढाउने निर्णय लिने काम हुन्छ’संयोजक नेपालीले भने ।
प्राविधिक टोलीलाई ७ दिनको म्याद दिने र टोलीले जिल्ला समन्वय समितिमा प्रतिवेदन पेश गरेपछि थप निर्णय लिने निर्णय भएको नेपालीले जानकारी दिए ।
गाउँपालिकाकाले ठेक्का लगाएको जलुके र अन्य क्षेत्रमा समेत अवैधानिक रुपमा नदीजन्य पदार्थको उत्खनन् भएको भन्दै स्थानीयले विगत केही दिनदेखि आन्दोलन गर्दै आएका थिए ।
अनुगमनमा अनुगमन समितिका सदस्य तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धरणीधर चौधरी, यज्ञ बुढा, जिल्ला समन्वय समितिका सदस्य जगतबहादुर बस्नेत, लोकी कुमारी विश्वकर्मा, तीला बुढा लगायतको टोली पुगेको थियो ।
त्यो अनुगमनका क्रममा गाउँपालिकाका पदाधिकारीको भने उपस्थित थिएनन् ।