२५ दिनअघि प्रहरीले पक्राउ गरेका विप्लव माओवादीका तीन कार्यकर्तालाई जिल्ला अदालत रोल्पाले धरौटीमा छोडेको छ।
छुट्नेहरू रोल्पा नगरपालिका वडा नं. ४ निवासी लालबहादुर सुनार, गंगादेव गाउँपालिका निवासी टिकाराम परियार (कपिल), सुनिल स्मृति १ घोडागाउँका नेपेन्द्र सेन हुन्।
जिल्ला न्यायाधीश रमेश ज्ञवालीको इजलासले उनीहरूलाई जनही ६० हजार धरौटीमा छोडेको हो।
श्रेष्तेदार कीर्तिबहादुर बस्नेतका अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने नदेखिएन भन्दै इजलासले धरौटीमा थुनामुक्त गरेको हो। छुटे पनि उनीहरू तीनै जना तारेख लिन अदालत आउनुपर्ने हुन्छ।
उनीहरूमाथि रोल्पाको सुनील स्मृति गाउँपालिकाको टावरमा आगजनी गरी क्षति पुर्याएको आरोप थियो।
श्रेष्तेदार बस्नेतका अनुसार उनीहरू तीनै जनाविरूद्ध सार्वजनिक सम्पत्ति नष्ट गरेको अभियोगसम्बन्धी मुद्दा लगाइएको छ। यस्तो अभियोगमा सजाय दस वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।
उनीहरूलाई थुनामुक्त गर्नेबेला आगामी दिनमा फेरि त्यस्तो गल्ती गर्दैनौ भन्ने प्रतिवद्धता गराइएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम्सीले बताए।
देशैभरि नेकपाका कार्यकर्तालाई सरकारले खोजी गर्दै धमाधम पक्राउ गरिरहेको समयमा रोल्पामा नेकपाका कार्यकर्ताहरू धरौटीमा रिहा हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
धरौटीमा छुटेपछि लालबहादुर सुनारले अब कुनै पनि राजनीतिक गतिविधिमा नलाग्ने प्रतिवद्धतासहितको वक्तव्य सार्वजनिक गरेका छन्। आगामी दिनमा स्वतन्त्र जीवनयापन गर्ने सुनारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। स्रोतका अनुसार अरु दुई जनाले पनि अबदेखि विप्लव नेतृत्वको नेकपा त्याग्ने सम्झौता गरेका छन्।