दाङको बबई गाउँपालिका-३ हंसपुरका २८ वर्षीय खिमबहादुर कामी जेसिबी अपरेटरको काम गर्छन्।
जेसिबी चालक भएकाले केही समयअघि उनी झापा गएका थिए। उनको थर नखुल्दासम्म त्यहाँ उनलाई अरूजस्तै व्यवहार भयो।
काम गर्दै जाँदा केहीले उनको नागरिकतामा ‘कामी’ लेखेको देखे। त्यसपछि उनले भेदभाव भोग्न थाले।
‘सँगै काम गर्ने मेरो सहचालकलाई पहिला घरभित्र लगेर खाना खुवाउँथे, जात थाहा पाएपछि मलाई बाहिरै राखेर उनी भित्र खाना खान थाले,’ खिमबहादुरले सेतोपाटीसँग भने, ‘अर्को दिनदेखि म काममै गइनँ।’
बबई-३ का ३२ बर्षीय पूर्णबहादुर कामीले जातकै कारण अपमानित हुनु परेपछि झोक चलेर नागरिकतामा भएको कामी केरमेटर गरे। दलामी बनाए। ८ वर्ष अघि यस्तो काम गर्दा दण्डित हुनुपर्छ भन्ने उनलाई थाहै थिएन। पछि नागरिकतामा आफूखुसी केरमेट गर्न नहुने थाहा पाए। कानुन विपरितको काम गरेको हुँदा हालसम्म उनले आफ्नो नागरिकता प्रयोग गर्न सकेका छैनन्। दण्डित हुने डरले उनी प्रशासन समक्ष सच्चाउनका लागि जाने हिम्मत गर्न सकेका छैनन्।
‘नागरिकतामा कामी भएको हुँदा मैले समाजमा धेरै अपमान खेप्नुपर्यो,’पूर्णबहादुरले भने ‘हिनताबोध कै कारण मैले कानुन विपरित आफैं थर सच्चाउने गल्ती गरें। आज परेसानी भोगिरहेको छु।’
कानुनले वर्षौं पहिले राज्यले जातका आधारमा हुने छुवाछुतलाई बर्जित गरिसकेको भए पनि समाजमा भने त्यो ज्यूकात्यूँ छ। त्यही भेदभावको मारमा परेका छन्, दाङको दलित समुदाय।
बबई गाउँपालिकाको दलित समुदाय अब कामी दमाईजस्ता ‘अपमानित’ थर नागरिकताबाट हटाएर नयाँ थर लेखाउन सक्रियतापूर्वक लागिपरेका छन्।
प्रेमलाल र जंगबहादुरले आफ्नो थर सच्याइसकेका छन्।
२०६३ सालको नागरिकत सम्बन्धी कानुनले समाजले अपहेलना गरि बोलाउने थर भए नागरिकतामा संशोधन गर्न सक्ने अधिकार प्रदान गरेको थाहा पाएपछि उनीहरूले गएको साउन ३ गते विधि र प्रक्रिया पुर्याएर जात संशोधनको निवेदन दिए। राष्ट्रिय दलित आयोगले दलितका थरहरू भनेर सुचिकृत गरेमध्ये प्रेमलालले नेपाली हटाएर नागवाग र जंगबहादुरले कामी हटाएर सोतीमहर रोजे।
कानुनले दिएको अधिकार प्रयोग गर्दै उनीहरूले निवेदन त दिए। तर कर्मचारीले काम हुँदैन भनेर उनीहरूलाई सोझै फर्काए।
कति पटक प्रशासनका मानिसहरुले अपमानित गर्दै कागज नै च्यातेर फाल्न खोजेको प्रेमलाल सम्झिन्छन्।
‘एक पटक त कर्मचारीले डष्टविनमा फालिदिएको कागज समेत हामीले उठाएर घर आयौं,’ उनले भने ‘तर,हामीले हरेस खाएनौं।’
प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर श्रेष्ठलाई पनि उनीहरूले अनुरोध गरे। उनले पनि मानेनन्। अरू जिल्लामा थर संशोधन गरेर नयाँ थर राखेको नजिर पनि उनीहरूले प्रशासनलाई सम्झाए। त्यही नजिरले उनीहरूलाई थर संशोधन गर्ने अडान नछोड्न बल दिएको थियो।
रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा बस्दै आएका जंगबहादुर नागरिकता संशोधनकै लागि दर्जनौं पटक गृह जिल्ला दाङमा आए। उनीहरू गृह मन्त्रालय, राष्ट्रिय दलित आयोगसम्म पुगेर सिफारिस ल्याए।
तैपनि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले थर संशोधन गर्न मानेनन्। तर जब नयाँ प्रमुख जिल्ला अधिकारीको रूपमा गोविन्दप्रसाद रिजाल आए त्यसपछि बल्ल उनीहरूको नागरिकतामा थर संशोधन भयो।
प्रेमलाल नागवान र जंगबहादुर सेतीमहर भए। चैत १३मा प्रेमलाल र १४ जंगबहादुरले सामाजिक अपमानबाट केही मुक्त भएको महसुस गरे।
प्रेमलाल र जंगबहादुरले अब पछिल्लो संशोधित थर अनुसार परिवारका अन्य सदस्यको पनि नागरिकतामा थर संशोधन गर्ने र त्यसैका आधारमा छोराछोरीको नागरिकता बनाउने योजना सुनाए।
नागरिकतामा उल्लेखित ‘नेपाली’ र ‘कामी’ भन्ने जातकै कारण समाजमा धेरै अपमान खेप्नु परेको हुँदा आफुहरुले पुरानो थर संशोधन गरि दलित भित्रै पर्ने नयाँ थर लेखाएको उनीहरुको भनाइ छ।
नेपाली काँग्रेसको नेपाल ट्रेड यूनियनको बबई गाउँपालिका वडा नं. ३ का उपाध्यक्ष समेत रहेका प्रेम नगवागले भने- गाउँघरदेखि विद्यालयमा समेत जातकै कारण मैले भोग्नु परेको भेदभाव र अपमान मेरा सन्तानले सन्तानले त्यसैगरी भोग्नु नपरोस भनेर थर परिवर्तन गरेको हुँ।
‘हिजो राज्यले हामीलाई प्रजा भन्थ्यो,आज दलित वर्गको संकेत दिएको छ,’ प्रेमले भने ‘यसले पनि हामीलाई अपहेलित र भेदभाव भइरहेको छ।’
मानिसले गर्ने पेशाका आधारमा जात बनाइनु गलत भएको उनले बताए।