राप्ती राजमार्ग अन्तरगत राम्रीको भिरबाट फेरि एउटा ट्रक खसेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित राम्री भिरमा गत पुस ६ गते बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो।
सोही ठाउँबाट आइतबार मध्यराति ना ६ ख ५४१४ नम्बरको ट्रक खसेको हो। सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको उक्त ट्रक राम्री भिरबाट खसेपछि टुक्रा-टुक्रा भएको छ।
ट्रकका विभिन्न पार्टपूर्जा झण्डै ८/९ सय मिटर तल जंगलमा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।
ट्रकका चालक सकुशल रहेको भए पनि अझै सम्पर्क नआएको डिएसपी शाहीले जानकारी दिए।
दुर्घटनाको कारण खुल्न नसकेको र त्यसका लागि ट्रकधनीलाई ईप्रका बोलाएर सोधपुछ गरिने प्रहरीले जानकारी दिएको छ।
त्यही राम्री भिरमा यसअघि एउटा मोटरसाइकल र एउटा ट्याक्टर पनि दुर्घटनामा परेका थिए। ती साधनका टुक्रा टुक्रा भएका केही भाग अहिले पनि जंगलमा अड्किएका छन्। त्यो भिर यति अप्ठ्यारो छ कि जहाँबाट दुर्घटना परेको साधनको पाट पूर्जा निकालेर ल्याउन पनि असंभव नै हुन्छ।
राम्रीको ढिस्को काट्न टेण्डर आह्वान
गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीको भिरमा पटक/पटक सवारी दुर्घटना हुने गरेको प्रदेश प्रहरीको निष्कर्ष पछि राम्रीको भिरको मोड काट्न टेन्डर आह्वान गरेको छ।
पुस ६ गते भएको बस दुर्घटनामा परी राम्रीमा १९ विद्यार्थी, २ शिक्षक र चालक र सहचालक गरी २३ जनाको मृत्यु भएपछि प्रहरीले त्योबारे बुझ्न छानबिन समिति गठन गरेको थियो।
५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका एसएसपी नरबहादुर केसीको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदनमा गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीमा पटक/पटक दुर्घटना हुने गरेको निष्कर्ष निकाल्दै त्यहाँको ढिस्को काट्न सुझाएको थियो।
मध्यपश्चिम सडक डिभिजन कार्यालय घोराही दाङले त्यही आधारमा मोड काट्न टेन्डर आह्वान गरेको छ।
ठेक्का लागिसकेको भए पनि त्यो भिर काट्न ढिला भएपछि सोमबार मात्रै दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले सम्बन्धित ठेकेदारलाई बोलाएर काम छिटो गर्न आग्रह गरेको बताए।
‘फेरि राम्रीको भिरमा ट्रक खसेपछि मैले उज्वल निर्माण सेवाका दिपक न्यौपानेलाई बोलाएर काम सुरू गर्न मौखिक आदेश दिइसकेको छु,’ प्रजिअ अधिकारीले भने, ‘उहाँले तत्कालै भिर काट्ने काम सुरू गर्छु भन्नु भएको छ । अब काम सुरू हुन्छ।’
ढिस्को काट्ने जिम्मा लिएका निर्माण व्यवसायीले एक दुई दिन भित्रै मेसिन लगरे काम थाल्ने आश्वासन दिएको प्रजिअ अधिकारीले बताए । सडक डिभिजन कार्यालय घोराही दाङकी सूचना अधिकारी क्षितिज पोखरेलले ठेक्का भइसकेको भएपनि सम्झौता भने हुन बाँकी रहेको जानकारी दिइन्।
‘हामीले सोमबार मात्रै १५ दिनभित्र सम्झौताको लागि आउन सूचना जारी गरेका छौं,’ सूचना अधिकारी पोखरेलले भनिन्, ‘ठेक्का लिएका व्यक्ति आएमा आजै पनि सम्झौता हुन सक्छ।’
उनले राप्ती राजमार्ग अन्तरगत अमेलियाको भञ्ज्याङदेखि चोरखोला सम्मको मोडहरू फराकिलो बनाउने झन्डै १ करोडमा टेन्डर आह्वान भएको जानकारी दिइन्। तर सबभन्दा पहिला राम्रीको मोडमा रहेको ढिस्को काट्ने काम सुरू हुने उनले जानकारी दिइन्।
राम्रीको भिर काट्ने जिम्मा लिएका निर्माण व्यवसायी न्यौपानेले पनि सोमबारमात्रै आफूलाई सडकले पत्र काटेको हुँदा मंगलबार घोराही जान लागको बताए।
‘त्यो भिर काट्ने काम अब लगत्तै सुरू हुन्छ,’ न्यौपानेले भने ‘मैले राम्रीमा हिजो नै निरीक्षणको लागि मान्छे खटाइसकेको छु।’
तर उनले स्थानीय वनका पदाधिकारीसँग भिरकाटेको माटो र ढुङ्गा कहाँ फाल्ने भन्ने सवालमा छलफल गर्नुपर्ने कुरा बाँकी रहेको बताए।
यो पनि :
गलत रोड इञ्जिनियरिङले राम्री दुर्घटना भएको निष्कर्ष