दुई साताअघि फोन गर्दा उनले ‘काममा व्यस्त छु’ भने। फुर्सदमा आफैं फोन गरी बोलाउने वाचा गरे। १५ दिन बित्यो तर उनको फोन आएन। फेरि फोन गर्दा भने- मलाई कामको अति नै चटारो भएकाले फोन गर्नै बिर्सें। मिल्छ भने आधा घन्टाभित्रै आउनुस् नत्र म फेरि बिजी हुन्छ।’
उनले दिएकै समयमा तुलसीपुर उपमहानगरपालिका-१८ मैरवा पुग्दा जस्तापाताले घाम छलेर उनी पत्नी गंगा बुढासँग बसेका थिए। घामबाट जोगिन दुबैका टाउकामा छत्रे टोपी थियो।
पत्नीसँगै पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर अचेल दिनहुँ प्लास्टिकका चप्पल र मैलो कमिज लगाएर गैंती र कोदालो चलाइहेका हुन्छन्। ५५ वर्ष लागेको यो दम्पत्तिको लक्ष्य मैरवाको यो बंजरमा केही महिनापछि ढकमक ‘नाइट क्विन’ फूलाउने छ।
यसअघि कालो चामलको खेती गरेका पूर्वमन्त्री बिष्टले नयाँ खेती र प्रविधिमा रूचि भएको हुँदा नाइट क्विनको खेती थालेको बताए।
ड्रागन फ्रुट अर्थात नाइट क्विन सिउँडी प्रजातिको फूल हो। रातमा मात्रै फूल्ने भएको हुँदा यस्लाई ‘नाइट क्विन’ अर्थात् रातकी रानी भनिन्छ।
‘यो फूलबारे मैले १५ वर्षअघि सुनेको थिएँ। लामो अध्ययन र परामर्शपछि साथीहरूसँग मिलेर नाइट क्विनको खेती गर्ने निर्णय गरें,’ बिष्टले भने।
नाइट क्विनको उद्गमथलो दक्षिण अमेरिकी मुलुक मेक्सिको हो। पूर्वी एसियाका भियतनाम, मलेसिया, थाइल्याण्ड हुँदै यो फूल केही वर्षयता भारत, चीन र नेपाल आइपुगेको हो। नेपालमा व्यक्तिगत घरमा फूल रोप्न थालेको एक दशक बढी व्यवसायिक खेती भएको भने २/४ वर्षमात्र भएको छ।
स्वास्थ्यका लागि निकै लाभदायी भएकाले यसको बजार राम्रो छ। बजार राम्रो भएकाले आफू नाइट क्विनको व्यवसायिक खेतीमा लागेको बिष्टले बताए।
बिष्टका अनुसार कोलेस्टोर फ्री नाइट क्विन ग्याष्ट्रिक र कब्जियतका बिरामीको लागि निकै उपयोगी मानिन्छ। यसमा विभिन्न रोगविरुद्ध लड्न सक्ने प्रतिरोधी शक्ति धेरै हुन्छ। काँचै पनि खान सकिने र यसबाट जुस, केक, हुस्की ब्राण्डी पनि बनाउन सकिन्छ।
१५ वर्षका लागि ६६ कठ्ठा भाडा
बिष्टले चार जनासँग मिलेर ६६ कठ्ठा जग्गा १५ वर्षको लागि भाडामा लिएर यो खेती सुरू गरेका हुन्। भाडामा लिएको जग्गालाई चारैतर्फ तारबार गरिएको छ। सिचाइँ गर्न दुइटा कुवा खनिएको छ। यसै वर्ष डिप बोरिङ खन्ने योजना बिष्टले सुनाए। नाइट क्विन रोपिएको जग्गामा २ मिटरको दूरीमा पिलरहरू लहरै गाडिएको छ।
नाइट क्विनको ठूलो बिरूवाले रोपेको दुई वर्षपछि, मझौलाले तीन वर्ष र सानो खालेको बोटबाट चार वर्षपछि फल्न थाल्ने बिष्टले बताए।
यो फूल मध्य जेठदेखि मध्य कात्तिकसम्म १० देखि १२ पटकसम्म फल्छ। यसको आयू २० वर्षसम्म हुन्छ। एउटा बोटमा सरदर २५ देखि ५० केजीसम्म फल्ने आफूले जानकारी पाएको बिष्टले बताए।
बिष्टले ४ वर्ष पहिला नै ड्रागन फ्रुटको बिरूवा ट्रायलका रूपमा ४० जति बोट दाङ, बिजौरीका वीरबहादुर बुढालाई रोप्न लगाएका थिए। त्यो राम्रो भएपछि त्यसैबाट कलमी गरेर केही बिरूवा तयार पारेका थिए। तर अधिकांश बिरूवा भने विदेशबाट ल्याएको र अझैं थप तीन हजार बिरूवा आउने क्रममा छन्।
‘दृढइच्छा शक्ति हुने हो भने पहरामा फूल फूलाउन सकिन्छ र मरुभूमिमा मूल फुटाउन सकिन्छ,’ बिष्टले भने ‘ म यो बंजर डाँडोमा रातकी रानी फूलाएर दुनियाँलाई देखाउन चाहन्छु।’
माओवादी सशस्त्र युद्धबाट मन्त्री हुँदै खेती किसानीमा
रूकुमका स्थायी वासिन्दा बिष्ट २०५२ फागुनमा माओवादी सशस्त्र द्वन्द्व सुरू हुँदा नै उक्त पार्टीका सदस्य थिए।
२०६३ को शान्ति सम्झौतापछि उनी समानुपातिक सांसद बने। झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा मन्त्री भए।
युद्धदेखि मन्त्रीसम्म जीवनबाट उनले निकालेको निष्कर्ष हो- अरूलाई काम गराएर आफू बसीबसी खाने सबैभन्दा दुःखी मान्छे हो। जो आफ्नो पौरख र पसिनाले खान्छ त्यो संसारकै खुसी मान्छे हो।’
जीवनभर राजनीति गर्नेहरू सबैभन्दा भ्रष्ट हुने भएकाले राजनीति त्यागेर खेती किसानीमा आएको बिष्टले बताए।
‘मलाई राजनीति त्यति मिठो लागेन किनभने राजनीति महंगो भयो, जटिल भयो र राजनीति फोहरी बन्यो,’ बिष्टले भने।
दश वर्षेसम्म चलेको सशस्त्र युद्ध इतिहासको आवश्यकता भएकाले त्यसमा लागेकोमा उनलाई पछुतो छैन तर शान्ति प्रक्रियापछि क्रान्तिकारी हौं भन्नेहरूमा विचलन आएको उनको बुझाइ छ।
‘अहिलेको बुर्जुवा संसदीय राजनीतिमा शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड केपीमा झन्डामात्र फरक हो अरू केही फरक छैन,’ उनले भने।
यो बीचमा माओवादीबाट फुटेका मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ आफूलाई खोज्न आए पनि आफूले चासो नदेखाएको बताए।
‘राजनीतिक आजीवन गरिने ठेक्का पट्टा, पेशा,व्यवसाय र व्यापार हैन,’ बिष्टले भने ‘ राजनीति भनेको स्वच्छिक समाजसेवा हो जो निसर्त र निश्वार्थ हुन्छ।’
आजीवन राजनीति गर्न खोज्नु भ्रष्टचारको मूल जरो भएको उनको बुझाइ छ।
‘आजीवन राजनीति गरेका शेरबहादुर, केपी र प्रचण्डले नै भ्रष्टचारको विष वृक्ष रोपेका छन्,’ उनले भने।
यही बाटो हिँड्छन् नि नेताहरु देख्नुहुन्न? भन्ने प्रश्नमा बिष्टले हाँस्दै भने ‘म भुइँमान्छे परें उहाँहरूले देख्ने कुरा भएन। भुइँमान्छेले फेरि माथितिर हेर्दैन।’
झन्डै ७ महिना मन्त्री भएका बिष्टलाई माओवादी युद्ध र आफू पार्टीको शीर्ष तहदेखि किसान हुँदासम्मको अनुभवको किताब लेख्न चाहना छ।
‘जीवन भनेको काँडाहरूको बीचमा फूल्ने फूल हो,जानेपछि,’ बिष्टले भने, ‘नजानेपछि फूलहरूका बीचमा काँडा पनि हुन्छन्। यत्ति बुझे जीवन सार्थक हुन्छ।’