सल्यानको कपुरकोट गाउँपालिले विपन्न र असहाय बालबालिको शिक्षामा सहयोग गर्ने भएको छ। गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले टुहुरा, विपन्न परिवारका बालबालिकालाई गाउँपालिकाले सहयोग गर्ने तयारी गरेको जानकारी दिएका छन्।
विपन्न परिवार र टुहुवा बालबालिकाको लागि पोषाक, किताब कापीलगाएतका सामग्री गाउँपालिकाले सहयोग गर्ने सेनले बताए ।
‘हाम्रो गाउँपालिका भित्रका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहुन् भनेर विशेष अभियान चलाइएको छ,’ अध्यक्ष सेनले भने, ‘विपन्न परिवार र टुहुरा बालवालिकालाई गाउँपालिकाले पढ्नको लागि सहयोग गर्छ ।’
उनले पालिका भित्रका विद्यालय जानसक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने प्रतिवद्धता जनाए। गाउँपालिकको शिक्षा शाखामा सोमबार भएको प्रध्यानापकहरुको बैठकमा विद्यालय बाहिर रहेका बालवालिकालाई खोजी गरि भर्ना गराउन उनले आग्रह गरे।
‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालवालिकालाई विद्यालय पुर्याउँ’ भन्ने नाराको साथ आफ्नो विद्यालय सेवा क्षेत्र भित्रका विद्यालय उमेरका वालवालिकालाई भर्ना गराउने प्रतिवद्धता सबै प्रध्यानापकहरुले व्यक्त गरेको शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले जानकारी दिए।
विद्यालयमा वालवालिका भर्ना हुने वित्तिकै नयाँ किताव प्रदान गरिने शिक्षा शाखा प्रमुख भण्डारीले बताए । त्यसले पनि बालवालिकालाई विद्यालय आउन हौसला प्रदान गर्ने उनको बुझाई छ । कपुरकोट गाउँपालिकामा गत वर्ष ४ हजार १ सय विद्यार्थी विद्यालय भर्ना भएका थिए ।
यहाँका विद्यालयले घरदैलो अभियान शुरु गरिसकेका छन्। बैशाख १५ गतेसम्म विद्यार्थी भर्ना अभियान जारी रहने भण्डारीले बताए ।