सर्वसाधारण व्यक्तिको सुन राखेर मिटर व्याजमा रकम असुल्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ६० वर्षीय तुलसीराम गुप्ता रहेको प्रहरीले जानकारी दिएको छ।
तुलसीपुरमा फोटो स्टूडियो सञ्चालन गर्दै आएका गुप्ताले त्यहीबाट वर्षौंदेखि विभिन्न व्यक्तिको सुन बन्धक राखेर मिटर व्याजमा रकम असुल्दै आएको गुनासोको आधारमा पक्राउ गर्नुपरेको प्रहरीले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहामदुर शाहीले तुलसीपुर ७ निवासी १९ वर्षीया विपना रेग्मी पोखरेलको जाहेरीको आधारमा गुप्तालाई पक्राउ गरिएको जानकारी दिए।
पोखरेलले गुप्तासँग सुन धरौटी राखेर १५ प्रतिशत व्याजदिने सर्तमा पटक/पटक गरि ४० हजार रकम लिएको र वैशाख १ गते सावा व्याजसहित रकम बुझाई सुन फिर्ता लिन खोज्दा गुप्ताले ४८ प्रतिशत व्याज दिए मात्रै सुन दिने बताएपछि पोखरेल प्रहरीको न्यायको लागि पुगेकी थिइन्।
पोखरेलले आफू ठगीमा परेको हुँदा गुप्ता उपर आवश्यक अनुसन्धान र कारबाही गरिपाउँ भनि दिएको जाहेरीको आधारमा प्रहरीले गुप्ताको घरमा वैशाख २ गते घर खानतलासी थप अन्य २ सय ६ जना मानिसहरुको सुन पनि फेला पारेको थियो।
‘गुप्ताको घरमा पोखरेलको गरगहनाबाहेक थप २ सय ६ जना मानिसको विभिन्न प्रकारका सुनका गरगहनाहरु फलामको घर्राहरुमा बैंकमा जस्तै गरि स–सना प्लाष्टिकका थैली र डिब्बाहरुमा फेला पार्यौ,’ डिएसपी शाहीले भने, ‘त्यसबाट गुप्ताले बर्षौंदेखि सुनका गरगहना बन्धक राखेर सर्वसाधारणबाट मिटर व्याजमा रकम असुल्ने गरेको स्पष्ट भयो।’
गुप्ताले मानिसको सामान्ने विवरण राखेर मिटर व्याजमा रकम असुल्दै आएको हुँदा पक्राउ गरि आवश्यक अनुसन्धानको पक्रिया अगाडि बढाइएको डिएसपी शाहीले बताए।
प्रहरीले गुप्ताको घरबाट २०६ थान सुनका गरगहना र विभिन्न व्यक्तिको नाम लेखिएको एक थान रजिष्टर बरामद भएको जानकारी दिएको छ।
जिल्ला प्रहरी दाङका प्रवक्ता विनोद विक्रम शाहले पक्राउ परेका गुप्ताविरुद्ध दाङ देउखुरी जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जानकारी दिए।
गुप्ता विरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ विपरितको कसुर सम्वन्धि मुद्दा दायर गरि अनुसन्धान भइरहेको प्रहरी प्रबक्ता शाहले जानकारी दिए।