राप्ती राजमार्ग शनिबारदेखि वैशाख २५ गतेसम्म दिनभरजसो बन्द हुने भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित राम्रीको मोड काट्ने कार्य भइरहेको हुँदा शनिबारदेखि उक्त राजमार्ग अधिकांस समय बन्द हुने भएको हो।
राम्री मोड काट्ने जिम्मा लिएको उज्ज्वल निर्माण सेवाका प्रोप्राईटर दिपक न्यौंपानेले कटिङको काम हुँदा सम्भावित जोखिमका कारण सडक खण्ड आंशिक रूपमा सञ्चालन गरिने जानकारी दिए।
न्यौपानेका अनुसार शनिबारदेखि बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म र राति १ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्ड बन्द गरिने भएको छ ।
गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीको मोडबाट पटक पटक सवारी दुर्घटना हुने गरेको प्रदेश प्रहरीको निष्कर्षपछि राम्रीको मोड काट्न टेण्डर आह्वान गरिएको थियो ।
यही ठाउँमा पुस ६ गते भएको बस दुर्घटनामा परी घोराहीमा अध्यनरत १९ विद्यार्थी, २ शिक्षक र चालक – सहचालक गरी २३ जनाको मृत्यु भएपछि प्रहरीले त्योबारे बुझ्न छानबिन समिति गठन गरेको थियो। ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका एसएसपी नरबहादुर केसीको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदनमा गलत रोड इञ्जिनियरिङले गर्दा राम्रीमा पटक पटक दुर्घटना हुने गरेको निष्कर्ष निकाल्दै त्यहाँको ढिस्को काट्न सुझाएको थियो।
यही भिरबाट पछिल्लो चैत मध्यतिर ना ६ ख ५४१४ नम्बरको ट्रक खसेको थियो। सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको उक्त ट्रक राम्री भिरबाट खसेपछि टुक्रा टुक्रा भएको थियो । राम्री भिरमा विगतका वर्षमा एउटा मोटरसाइकल र एउटा ट्याक्टर पनि दुर्घटनामा परेका थिए।