निजी क्षेत्रले तुलसीपुरमा विभिन्न व्यक्ति र उद्योगसँग सहयोग मागेर बहुउद्धेश्य सभाहल निर्माण सुरू गरेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को दोघरेमा निर्माणाधीन सभाहल आगामी नयाँ वर्षसम्म निर्माण सक्ने लक्ष्य लिइएको छ।
३ करोड बढी लागतमा निर्माण गर्न लागिएको सभाहल निर्माणको काम डेढ महिना अघिदेखि सुरू भएको हो।
हालसम्म २५ प्रतिशत निर्माण कार्य पूरा भएको सभाहल निर्माणको जिम्मा पाएको अमृत निर्माण सेवा तुलसीपुरले जानकारी दिएको छ।
तुलसीपुर क्षेत्रमा ठूला सभा समरोह तथा कार्यक्रमको लागि आवश्यक सभाहल नभएकोले सो सभाहल निर्माण सुरू गरेको तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार विमल रिजालले जानकारी दिए।
सभाहल निर्माण गर्न रिजाल अध्यक्ष भएको समयमा उद्योग वाणिज्य संघले ४० लाखमा १ कठ्ठा जग्गा खरिद गरेको थियो । बाँकी ४ कठ्ठा जग्गा भने तुलसीपुरका एकजना व्यवसायी यज्ञबहादुर केसीले नि:शुल्क रूपमा वाणिज्य संघलाई प्रदान गरेका थिए। बहुउद्धेश्य सभाहल भनिए पनि हाललाई स्पोर्ट बाहेक अरु सबै कार्यहरू जस्तै सभा सम्मेलन, धार्मिक, साँस्कृतिक कार्यक्रम गर्न सकिने गरी सभाहल निर्माण भइरहेको व्यवसायी रिजालले बताए।
‘त्यहाँ हामी मन्दिर पनि निर्माण गर्ने छौं, विवाह मण्डप पनि त्यहीँ हुन्छ र पार्टी प्यालेस पनि त्यहाँ निर्माण गरिने छ,’ वाणिज्य सल्लाहकार रिजालले भने।
हाल त्यहाँ ८ सय बढी मानिसहरू अटाउन सक्ने ६ हजार स्क्वायर फिटको एउटा सभाहल निर्माण भइरहेको छ। भविष्यमा आवश्यकता अनुसार थप संरचना पनि निर्माण गर्दै जाने तथा सभाहललाई पार्टियसन गरेर उपयोग गर्न सकिने गरी निर्माण कार्य थालिएको वाणिज्य सल्लाहकार रिजालले जानकारी दिए।
‘तुलसीपुरमा ठूलासभा समारोह गर्ने ठाउँ नै भएन भन्ने गुनासोलाई सम्बोधन गर्न हामीले आफैं मिलेर सहयोग माग्दै सभाहल निर्माण गर्न लागेका हौं,’ रिजालले भने ।
तुलसीपुर उद्योग वाणिज्य संघले सभाहल निर्माणको लागि टेन्डर आह्वान गरेको थियो। तर निर्माण कम्पनीलाई संघले सम्पूर्ण निर्माण सामग्री भने आफैं उपलब्ध गराउने सहमतिमा काम भइरहेको छ। आफूहरूले विभिन्न उद्योगी र व्यापारीबाट सहयोग माग्दै सभाहल निर्माण थालेको हुँदा त्यस्तो सहमति गरिएको संघका पूर्व अध्यक्ष रिजालले बताए ।
‘हामीले धेरै आग्रह र हारगुहार गर्यौं,तर,सरकारले सभाहल निर्माण गर्ने इच्छा शक्ति देखाएन ,त्यसैले हामी आफैं सभाहल निर्माणमा जुटेका हौं,’ रिजालले भने।
घोराहीको पुरानो बसपार्कमा भने सरकार आफैंले २७ करोडको लागतमा बहुउद्धेश्य सभाहल निर्माण गरिरहेको छ। त्यो जग्गा भने नगर विकास हो भने तुलसीपुरको जग्गा भने उद्योग वाणिज्य संघको स्वामित्वमा छ। निजी क्षेत्रको स्वामित्वमा जग्गा भएको हुँदा सरकार लगानी गर्न तयार नभएको कतिपय सरकार समर्थक व्यापारीको तर्क गर्छन्। तर अन्य व्यापारी भने विकासमा अझै पनि क्षेत्रीय सोच हाबी भएका कारण त्यस्तो भएको दाबी गर्छन्।