विशालनगरस्थित सेन्ट्रल प्लाजा अपार्टमेन्टमा हरिकला लामिछानेलाई भेट्दा उनी सोफामा चटक्क परेर बसेकी थिइन्।
उनको सास फुलिरहेको थियो, दम बढेको जस्तो। दम मात्रै होइन, उनलाई मधुमेह, उच्चरक्तचापले पनि गाँजेको छ।
पछिल्लो समय समस्या बढेपछि औषधि गर्ने सिलसिलामा कान्छा छोरा खेमराजसँग काठमाडौं आएकी हुन्। अरूबेला माइला छोरा लक्ष्मणप्रसाद र परिवारसँग चितवन बस्छिन्।
उनलाई देख्नेबित्तिकै मैले अभिवादन गरेँ। नमस्कार फर्काउन नभ्याउँँदै ८३ वर्षीया हरिकलाले निधारमा लगाएको सुनको 'टिकुली' मिलाइन्।
टिलिक्क टल्किएको टीकामा मैले जिज्ञासा राखेँ, 'ओहो, हजुर त सुनको टीका लगाउनुहुँदो रहेछ नि!'
'रातो टीका लाउन भएन। त्यही भएर सुनको लाको नि,' उनले भनिन्, 'पहिलेको चाहिँ हरायो। गोठमा गाइको पुच्छरले लागेको थियो, कता हरायो कता। नभेटेपछि माइलो छोराले 'आमा पीर नगर्नू' भनेर भोलिपल्ट किनेर ल्याइदियो।'
अरूले नि लाउँछन् यस्तो टीका?
'लाउँछन् नि, धेरैजसो विधुवीले। रातो लाउन नहुने हामी जस्ताले।' श्रीमानको निधनपछि रातो लगाउन हुँदैन भनिन्थ्यो। यहीकारण हाम्रा आमा-हजुरआमाहरू सके सुनको टीका बनाएर लगाउँथे। 'सुनटिकी' मा खोटो लगाएर निधारमा टाँसिन्थ्यो।
आजकाल त रातो लाउँछन् नि हैन र?
'लाउँछन् मन लाग्नेले। मैले लगाइनँ। नलगाएरै यति वर्ष बिते, अब के लाउनु र। मेरी बुहारीले चाहिँ लगाउँछिन्।'
हरिकलाका जेठा छोरा झलकप्रसादको छ वर्ष अगाडि निधन भएको हो। उनकै श्रीमती (जेठी बुहारी) र नातिनातिनासँग उनी चितवन बस्छिन्।
'बुहारीले सिन्दूर लाएकी छैनन्, अरुथोक लाउँछिन् रातो। उनको मन लाग्यो लाइन्, मलाई मन छैन,' हरिकलाले भनिन्, 'अब मेरा पालामा चुरा फोडे। सिन्दुर धोए। सबै रातो फाले।'
हरिकलाका श्रीमानको निधन भएको पाँच वर्ष भयो। त्यसयता उनले रातो लगाएकी छैनन्। दसैंको टीका उनको निधारमा परेको छैन। टीका लगाइदिने मान्छे नभएकाले नलगाएको उनी बताउँछिन्। योभन्दा धेरै त उनको मन पनि मान्दैन सायद!
उनको मन त श्रीमानको नाम भन्न पनि मान्दैन।
भन्छिन्, 'श्रीमानको नाम काढ्न हुन्न। आजकल त भन्न लाउँछन्।' उनले भन्न नचाहेको नाम हो खेमलाल लामिछाने।
श्रीमानको नाम थाहा भए पनि उनलाई आफू जन्मेको साल थाहा छैन।
'अब आउने असारमा ट्याक्क चौरासी पुग्छु,' उनले भनिन् 'तर चौरासी पूजा चाहिँ गरिसकेँ। श्रीमानसँगै गर्दा अगाडि नै गरे पनि हुनेरहेछ। छोराहरूले फेरि गर्ने भन्दै थे। नगर्ने भनेँ।'
हरिकलाको जन्म पोखराको लामाचौरभन्दा माथि बालीचौर भन्ने ठाउँमा भयो। उनलाई गाउँ/नगरपालिकाको नाम थाहा छैन। थाहा भएको यत्ति नै हो। बाबु बलभद्र र आमा मणिकर्ण आचार्य।
तेह्र वर्षको उमेरमै हरिकलाको भारतमा काम गरिरहेका खेमलाल लामिछानेसँग बिहे भयो। खेमलाल १८ वर्षका थिए।
आफ्ना पुराना दिनको पन्ना पल्टाउँदै हरिकलाले सुनाइन्, 'उहाँ भारतमा चिया बगानमा काम गर्नुहुन्थ्यो। बिहेलगत्तै उतै जानुभो। केही वर्षपछि मलाई लानुभो। म त्यहाँ तीन वर्ष बसेँ। बिहे गरेको नौ वर्षपछि सन्तान जन्मे।'
उनकी जेठी छोरी मणिकर्णिका र जेठा छोरा झलकप्रसाद उतै जन्मे। हरिकलालाई भारत रमाइलो लागेन। श्रीमानलाई पोखरा नै जाम् भन्न थालिन्। उनीहरू सबै कामधाम छाडेर फर्के। पोखरामा पनि धेरै बस्न सकेनन्।
'बुढाले पोखरामा दु:ख धेरै गर्नुपर्यो, म बस्दिनँ बुढी भन्नुभो। अनि हामी चितवन आयौं,' उनले विगत सम्झिँदै भनिन्।
उनको सम्झनाअनुसार २०१९ सालमा उनीहरू चितवनको पदमपुर गाउँ पुगे। त्यहाँ पनि भने जस्तो सजिलो थिएन। चितवनको दक्षिणी भूभागमा पर्ने गाउँमा वर्षैपिच्छे राप्ती खोलाले उर्वर जमिन खाइदिन्थ्यो। जंगली हात्ती, गैंडा गाउँसम्म आउँथे। ज्यान र बाली दुवै जोखिममा हुन्थ्यो। बजार जान पनि डुंगामा खोला तर्नुपर्थ्यो। बिजुली थेन। टुकीकै सहारामा उनीहरूले आफ्ना दिनरात गुजार्दै गए।
भारत हुँदै दुई सन्तानकी आमा बनेकी हरिकलाले जम्मा छ सन्तान जन्माइन्। चितवनमा अरू चार सन्तान जन्मे। तीमध्ये एउटा छोराले १४ दिनमै संसार त्यागे। भारतमा जन्मिएका जेठा छोरा छ वर्षअघि बिते।
माइला छोरा लक्ष्मणप्रसाद, साइँला जिबा र कान्छा खेमराज लामिछाने त्यहीँ जन्मेका हुन्।
उनलाई जेठा छोराको खुब याद आउँछ। तर उनको मृत्युभन्दा बढी हरिकलालाई ती छोरा जन्मेको क्षण छर्लंग छ।
'बुढा काममा जानुभएको थियो। बसेको ठाउँभन्दा पर बाँसले बारेको ट्वाइलेट थियो। ठूलो छोरो त्यही ट्वाइलेटमा जन्मेको। सात महिनाको त, इत्रो थियो। अनि धोतीको पोल्टामा हालेर घर ल्याएँ। नुहाइदिएँ। नाल काटिदिएँ। बुढा कामबाट आउँदा त घरमा छोरा। सानो भएकाले दूध पनि निलेन दुई महिनासम्म। दुहुँदै चम्चीले खुवाउँदै गरेँ। तीन महिनामा बल्ल तान्यो।'
त्यता अस्पताल थिएन र?
'किन नहुनु, तर धेरै पैसा तिरेर जान सक्ने अवस्था थेन।'
ट्वाइलेटमा बच्चा पाउँदा डर लागेन?
'लाग्यो नि, लागेर के गर्ने। भोग्ने पर्यो। सम्हालिनै पर्यो।'
अनि कसले सिकायो त त्यो बच्चा पाउँदा यस्तो हुन्छ, यसरी स्याहार्नुपर्छ भनेर?
'परेपछि आफैं जानिदोँ रहेछ। कसैले सिकाएनन्। आमा त्यसै भनेको हो र? भगवानले आफैं सिकाउँछन्।'
दुखजिलो गरेर जीवन धानिए पनि भारतमा उनले बाल्यकालमा जस्तो दुःख गर्नुनपरेको बताउँछिन्। उनलाई माइतीमा धेरै दुःख थियो। धेरै सम्पत्ति थिएन। भेडा पालिएको थियो। घाँस-दाउरा, पानी ओसार्ने गर्दा उनलाई फुर्सद हुन्थेन। घन्टौं हिँडेर पानी बोक्नु सबभन्दा ठूलो सास्ती लाग्थ्यो उनलाई।
हरेक बिहान पानी बोक्न तीन घन्टा हिँड्नु पर्ने।
ती दिनबारे बताउँदा उनको संस्मरण यसरी पोखिन्छ, 'सुख र दुःखका दिन बेग्लाबेग्लै हुन्छन् नानी। एक गाग्रो पानी ल्याउन तीन घन्टा लाग्थ्यो। त्यो पनि बिहानलाई हुन्छ बेलुकालाई छैन। जंगलमा घाँसदाउरा गरेर राती आयो, पानी हुन्थेन। त्यसै सुतिन्थ्यो। अहिले त घरघरै धारा छन्। भात पकाउने ठाउँमै पानी आउँछ। बुढाहरूको खुबी रहेनछ। छोरानातिले बनाए। कोठाकोठामा पानी आउला भन्ने हामीले कहाँ सोचेका थियौं र?'
पानी अभावकै कारण नुहाउन-धुन पनि साइत पर्खनुपर्थ्यो। शौच गर्न अलिकति पानी लोटामा लगिन्थ्यो। फेरेका लुगा पानी लिन जाँदा धुने।
'उहिलेका बुढाबुढीको खुबी नाईं के,' उनी आफूले दुःख पाएको सम्झेर दिक्क मान्दै भन्छिन्, 'बुद्धि नआउने हो कि, पढेलेखेका नभएर नजानेको कि, के हो के। त्यही जंगलभित्रको पानी अहिले घरैसम्म आउने रहेछ त।'
उनलाई यो सुविधा आफ्ना पुराना दिनमा नभएकोमा दुःख लाग्छ। त्यसैले भारत बस्दाका दिनमा उनी आफूलाई सुखी ठान्छिन्। भारत हुँदा यी सबबाट उनको काँध हलुका भएको थियो।
बिहे नगरुन्जेल भात त पकाउनु पर्थेन होला नि? बाहुनका घरमा बिहे नगरेकी छोरीले पकाएको भात खान्थेनन् होइन?
'कहाँ नखानु! खान्थे। कोदाको ढिँडो र मासको दाल मात्रै खान्थेनन्। त्यो चाहिँ बिहे गरेकैले पकाउनुपर्थ्यो। त्यो पनि एउटा धोती मात्रै लगाएर,' हरिकलाले सुनाइन्। उनको भनाइको आसय भान्सामा सिलाएको लुगा वर्जित थियो। चोलो-पेटीकोटबिना सारी बेरेर मात्र पकाउने-खाने गर्नुपर्थ्यो।
अनि पढ्नु पनि भएको छ?
'कहाँ पाएर पढ्नु बा। मेरा दुइटा दाइले त पढेनन्, हामीले त परको कुरा। आफू नपढेकाले छोरी पनि पढाउन सकिनँ। पछिसम्म छोरी 'भाइहरूलाई चाहिँ पढाउनुभयो, मलाई नपढाएको, बुबाले भर्ना गरिदिएको स्कुलबाट निकालिदिनुभयो' भन्दै गुनासो गरिरहन्थी,' छोरीको पीडा आफ्नै मुखले सुनाइन्।
किन निकाल्नुभयो त स्कुलबाट?
'मैले छोराहरू एक्लै हुर्काउन सकिनँ। दुखः भो। अब मैले पढ्या छैन, जे होला होला भन्ने बुद्धि आयो नि। उसको बाबाले भर्खर स्कुल हालिदिनु भएको थियो। मैले कामै भ्याउन सकिनँ। धौधौ भयो। अनि होस् भनेर छोरीको स्कुल छुटाइदिएँ। उसैले भाइहरू हुर्काइ,' उनले कारण खुलाउँदै सुनाइन्।
अहिले उनी आफूलाई भाग्यमानी सम्झिन्छिन्। दुःख छैन भन्छिन्। तै एउटी मात्र छोरीको अवस्था सम्झँदा अझै मन गह्रुँगो हुन्छ।
'अहिले त रमाइलो छ। भगवान जस्ता छोरा छन्। देशविदेश देखेका छन्। तर छोरीले कतै देख्न पाएकी छैन। भात पकाएर बस्या छे, त्यत्ति हो,' छोरीले पढ्न नपाएको पछुतो उनका आँखामा छल्काउँदै भन्छिन्, 'छोरीले त पोखरा पनि देख्या छैन। पाँच वर्षकी हुँदा चितवन ल्याथेँ। बिहे गरेर दिएँ पछि।'
'कति सोझी छ भने, एक फेर नन्दकहाँ गएकी, फर्किँदा घर पहिल्याउन सकिनछ। गाडी नम्बर पढ्न सक्थिन। बसबाट ओर्लिछ र घर सोध्दै रहिछ। अनि भाइ जिबा एसएलसी दिएर घर जान लागेको, बाटामा दिदीलाई भेटेछ। च्याप्प समाएर भाइले लिएर गयो रे घरमा। अलिअलि पढाउन पाए यसो बस नम्बर त पढ्न सक्थी होला। स्कुलबाट निकालेर गल्ती गरेछु। पहिले मलाई 'गाडीको नम्बर पढ्न सक्ने गरी पढ्न दिनुभएन' भन्थी। अचेल भन्दिन।'
अनि तपाईं चाहिँ घुम्नु भएको छ?
'घुमेको छु नि। भारतमा बुढासँग बसेँ तीन वर्ष। छोराहरूसँग रसिया, जर्मनी घुमेँ।'
श्रीमानसँगै रसिया घुमेकी हरिकलालाई केही समय बस्ने मन थियो। श्रीमानलाई ज्वरो आएर आत्तिएकै कारण चाँडै फर्केको उनी बताउँछिन्।
जर्मनी भने श्रीमान बितेपछि गएकी रहिछन्। उनका साइँला छोरा जिबा उतै बस्छन्। हरिकला उता भएकै बेला सोह्र श्राद्ध तिथि सुरू हुन लागेछ। खानेकुरामा लाटलुट हुन्छ भनेर उनी चाँडै फर्किछन्।
फेरि जान मन छैन?
'भिसा त मिल्या थियो, जान मन लागेन। छोरो एक रात घर नबस्ने। नातिहरू पढ्न जाने। बुहारी पनि व्यस्त। एक्लै बस्नै गाह्रो। नयाँ घर बनाएको छ, हेर्न आउनू भन्छन्,' उनले भनिन्, 'तर जान मन छैन।'
जर्मनी जाँदा हरिकलाले एउटा नौलो अनुभव गरेकी छन्। सधैं सारीचोलो लगाएकी उनले कुर्तासुरूवाल लगाइन्। तर उनलाई कुर्तासुरूवाल सजिलो लाग्दैन।
भन्छिन्, 'रसिया जाँदा त सारीचोलो नै लगाएँ। जर्मनी जाँदा भने कुर्तासुरूवाल। लगाउन्न भन्दाभन्दै सिलाइदिए बुहारीहरूले।'
यी हजुरआमाका कथा पनि पढ्नुस्ः
'ससुराले हलो जोतेकाले माइतीको भान्सा छिर्न दिएनन्'
वृद्धाश्रममा २० वर्षदेखि सान्नानी
'छोरी भइदिएकी भए ...'
'काठमाडौं यस्तो होला भन्ने कल्पनै गरेकी थिइनँ'
रूद्रकुमारीले फेरि आफ्नो कथा भन्ने छैनन्
'मेरो बूढा ससुराको दुइटा खलक- जेठी श्रीमतीका सन्तान श्रेष्ठ, कान्छीका भट्ट'
'मैले गीता पढ्दा महामारीले सबै मर्छन् भन्दै गाउँमा पञ्चायत बस्यो'
'श्रीमान कम्युनिष्ट भएकैले घर छाड्नुपर्यो'
'एकदिन यस्तो आउँछ, छोरी पाएकोमा समाजले खुसी मनाउनेछ'
८७ वर्षीया विष्णुकुमारीको मनमा अझै छ माओवादी त्रास
९० वर्षकी रत्नदेवी पुराना हिन्दी गीतमा श्रीमान सम्झन्छिन्
रजीया बेगम, जसलाई राजा त्रिभुवनले बनाइदिए मधु
रत्ना राई र शंकर लामिछानेको अमर प्रेम
‘आइतबार र बिहीबार महिलाले कपाल पनि कोर्न पाउन्न थिए’
पन्ध्र मिनेट दुरीको घर-माइती कहिल्यै एक्लै हिँडिनन् देवमाया
नयाँ दिन सम्झिन्नन्, पुराना दिन भुल्दिनन्
'रानी ऐश्वर्य 'नो' सुन्नै नसक्ने'
छोरीको मायामा लुपुक्क बुबाआमाले 'घर ज्वाइँ' खोजे