आइतबार दिउँसो पौने २ बजेतिर तुलसीपुरमा भएको एउटा बस दुर्घटनाले धेरैलाई आश्चर्यमा पार्यो। १० जना घाइते हुने गरि भएको उक्त दुर्घटनाबारे धेरैले आ–आफ्नै अनुमान प्रस्तुत गरिरहेका थिए। तर, चालक त्यहाँ थिएनन्। फरार थिए।
त्यसैले दुर्घटनाको बास्तविक कारण पत्ता लागेको थिएन। तै पनि दुर्घटनास्थल पुगेका धेरैको मुखवाट यही शब्द निस्किएको थियो ‘यस्तो सजिलो बाटोमा कसरी बस दुर्घटना भयो?, चालक के गर्दै थियो, सोझै बाटो हुँदा हुँदै किन चालकले बस बाँया मोडेर खाल्डोमा हाले।’ आदि इत्यादि...
सरल र सोझो बाटोमा दिनदाहाडै तुलसीपुरको बजार क्षेत्रमै बस दुर्घटना हुनुको रहस्य भने सबैले कल्पना गरेको भन्दा फरक रहेको रहस्य पत्ता लागेको छ। चल्ती गाडीमा अगाडि बोनटमा बसेका १० वर्षे बालक एक्कासी लडेर स्टेरिङमा पर्नु। जसले गर्दा चालकले गाडिलाई सही दिशा दिने सकेनन्। ती बालककै कारण सिधा बाटोमा गुडिरहेको बस एक्कासी बाँया मोडिएर ६ मिटर तल चिरोमा खस्न पुग्यो।
दुर्घटना लगतै फरार रहेका चालक टिकाराम वली बेलुका मात्रै प्रहरीको सम्पर्कका आए। उनैले प्रहरी सक्षम सोमबार दिएको बयान हो यो। चालक वलीका अनुसार तुलसीपुर बाट तुलसीपुरबाट बिराटनगरतर्फ जाँदै गरेको ना ५ ख २२३४ नम्बरको यात्रुबहाक बसमा सवारमध्ये एक जना यात्रु (अगाडि बोनटमा बसेका) दाङको बबई गाउँपालिका वडा नं. ५ निवासी १० वर्षीय बालक अजुर्न विक ब्रेक लगाउँदा एक्कासी स्टेरिङमा छिरे।
यसको पछाडि पनि कारण भने छ। चालकले फोर लेन सडकमा गाडि तीव्र गतिमै कुदाएर ल्याएका थिए। त्यसपछि कलभर्ट थियो। एउटा मात्रै गाडी पास हुने। तर पूर्वतर्फबाट एउटा कालो रंगको स्पेलिण्डर बाइक तीव्र गतिमा आइरहेको थियो।
ती मोटरसाईकल चालकलाई जोगाउनका लागि भए पनि बसले ब्रेक लगाउनु अनिवार्य थियो। फोरलेन सडकमा गतीमा गुडिरहेको बसमा एक्कासी ब्रेक लगाउँदा यहाँ न्यूटनको चाल सम्वन्धि नियमले काम गर्यो। ब्रेक लगाउँदा बालक हुत्तिएर स्टेरिङमा लडे।
त्यसपछि चालकले गाडिलाई सही दिशा दिन सकेनन्। ब्रेक लगाएको भए पनि तीनै बालककै कारण बस सिधा बाटोबाट मोडिएर हात्तिखौवाको चिरोमा खस्यो। चालकले प्रहरी समक्ष यही बयान गरेका छन्। बुनटमा बस्ने महिला र बालबालिकाका कारण यस्ता धेरै दुर्घटनाहरू भएका उदाहरणहरु छन्।
सहर बजार भन्दापनि ग्रामिण भेग र पहाडी जिल्लाहरुमा चल्ने सावरी साधनमा यो समस्या अझैं धेरै छ। बुनटमा बसको महिला संग कुरागर्दागर्दै र महिलाको हात स्टेरिङ भित्र छिरेपछि तुलसीपुर सल्यान सडक खण्डमा केही बर्ष पहिले भएका दुर्घटनामा दर्जनौ मानिसको मृत्यु भएको थियो। तुलसीपुर ३ गोठीखोलामा रा १ ख ११६ बस नम्वरको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो भने रा १ त ११५ नम्वरको बस कपुरकोटदेखि केही अगाडि दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको थियो।
आइतवार तुलसीपुर ६ हात्तिखौवामा भएको बस दुर्घटनामा परि घाइते भएका मध्य घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी ३२ बर्षीया वशन्ता अधिकारीको मात्रै बाँकेको कोहलपुरमा लगेर उपचार भइरहेको छ। उनलाई टाउकोमा चोट रहेको प्रहरीले बताएको छ। त्यसवाहेक अन्य सबै ९ जना घाइतेको अवस्था सामान्ने रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
दाङमा ३३ महिनामा २ सय ४३ जनाको मृत्यु
दाङमा बितेको ३३ महिनामा सवारी दुर्घटनामा परि २ सय ३३ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्कअनुसार बितेको ३३ महिनामा जिल्लाका विभिन्न स्थानमा भएका साना ठूला दुर्घटनामा परि उनीहरुको मृत्यु भएको हो।
सबैभन्दा धेरै चालु आर्थिक वर्षमा ८७ जनाको मृत्यु भएको छ। चालु आर्थिक बर्ष २०७५/०७६ को चैत महिनासम्म जिल्लामा १ सय ४५ सवारी दुर्घटनामा ८७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुवँरले जानकारी दिए।
यो अवधिमा दुर्घटनामा परि ६५ जना पुरुष, १५ जना महिला, ५ जना बालक र २ जना बालिकाको मृत्यु भएको छ। कुवँरका अनुसार दुर्घटनामा परि थप ३ सय ४२ जना घाइते भएका छन्। त्यसमध्ये १ सय ८६ जना गम्भीर र १ सय ५६ जना सामान्य घाइते भएको प्रहरीको तथ्याङमा उल्लेख छ।
त्यस्तै गत आर्थिक बर्ष २०७४/०७५मा जिल्लामा भएका १ सय ७१ सवारी दुर्घटनामा ७९ जनाको मृत्यु भएको थियो। ५३ जना पुरूष, ११ जना महिला, १० जना बालक र ५ जना बालिको मृत्यु भएको थियो। उक्त आर्थिक वर्षमा २ सय १५ गम्भीर र ५ जना सामान्य गरि ३ सय जना घाइते भएका थिए।
त्यस्तै आर्थिक बर्ष २०७३/०७४ मा भएका १ सय ४० सवारी दुर्घटनामा ७७ जनाको मृत्यु भएको तथ्याङ्क छ। दुर्घटनामा ५ जना पुरूष, ११ जना महिला, ६ जना बालक र २ जना बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उक्त वर्ष १ सय २० जना गम्भीर र १०१ जना सामान्य गरि १ सय ४० जना घाइते भएको प्रहरीको रेकर्डमा उल्लेख छ।
पछिल्लो आँकडा अनुसार जिल्लामा सवारी दुर्घटनाको दर र मृतकको संख्या पनि बढ्दै गइहरेको पाइएको छ।
दाङ सवारी दुर्घटनाको दृष्टिले प्रदेश नं. ५ कै उच्च जोखिमयुक्त जिल्ला मानिन्छ।
ट्राफिक नियमको पालना नगर्नु, मापासे गरि सवारी चलाउनु, साँघुरा र पुराना सडक, पुराना सवारी साधानलगायतका कारण धेरै दुर्घट्ना हुने गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख मदन कुवँरले बताए।
वितेको ३३ महिनाको तथ्याङ् नियाल्दा सबैभन्दा बढी मोटरसाईकल दुर्घटना परेको देखिन्छ। चालु आर्थिक वर्षको चैतसम्म जिल्लामा दुर्घटना भएका २ सय ३ सवारी साधन मध्य मोटरसाईकल १ सय ३ वटा दुर्घटनामा परेका छन्।
बस ३० वटा, जिपकार २३ , ट्याक्टर १२ , ट्रक र टेम्पो समान १२/१२ वटा र अन्य ४ वटा सवारी साधन दुर्घटना परेको ट्राफिक प्रहरीको तथ्याङ्कमा छ।
त्यस्तै आर्थिक बर्ष २०७४/०७५ मा २ सय २४ र आर्थिक वर्ष २०७३/०७४ मा १ सय ७२ सवारी साधन दुर्घटनामा परेका छन्। वितेको आर्थिक बर्ष २०७४/०७५ मा दुर्घटना हुने साधनमा मोटरसाईकल ९१, बस ४०, ट्रक ३०, जिपकार ३१, टेक्टर १९, टेम्पो १० र अन्य १ थिए। त्यसैगरी आर्थिक बर्ष २०७३/०७४ मा मोटरसाईकल ७२, बस ४०, ट्रक २७, जिपकार १२, टेक्टर १६,टेम्पो १ र अन्य ४ वटा सवारी साधन दुर्घटनामा परेको रेकर्ड ट्राफिक प्रहरीले उपलब्ध गराएको छ।