दाङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।
बबई गाउँपालिका वडा नं. ७ मठ्यौरी निवासी ३२ वर्षीय चुडामणि परियारको उनकै साथीहरूको कुटपिटबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।
मदिरा सेवनपछि भएको कुटपिटबाट गम्भीर घाइते भएका परियारको उपचारका क्रममा छिमेकी देश भारतको लखनउमा मृत्यु भएको प्रहरीले बताएको छ।
युवतीलाई अपशब्द प्रयोग गरेपछि कुटपिट
ईप्रका तुलसीपुरका अनुसार मृतक परियार पेशा ट्याक्टरका चालक थिए। कुटपिटमा संलग्नहरूमध्ये केही अटो चालक र कोही ज्याला मजदूरी गर्नेहरू हुन्।
वैशाख ८ गते काजल डाँगीले आफ्नो कोठा सरेको उपलक्ष्यमा कोठामै पार्टी दिएकी थिइन्।
उक्त पार्टीमा सल्यानको कालिमाटी ५ काल्चे निवासी २४ वर्षीय थलबहादुर दमाई, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का १८ वर्षीय राज सुनार, तुलसीपुर ८ की ३५ वर्षीया बबिता वली र सल्यानको शारदा नगरपालिका वडा नं. ८ डाँग्री घर भइ हाल तुलसीपुर ५ मा बस्दै आएकी ऋतु रावतसँगै बसेर मदिरा सेवन गरे।
त्यही क्रममा मृतक चुडामणि परियार पनि मातेको अवस्थामा त्यहाँ पुगे ।
केही बेरमा सबैजना फर्किए। त्यसपछि उनीहरू बबिता वलीको दंगाली खाजा घरमा पुगे। त्यहाँ पनि मदिरा खान सुरू गरे । त्यही क्रममा मृतक परियारले ऋतु रावतलाई अपशब्द प्रयोग गरे। अनि सुरू भयो विवाद।
एकाएक थलबहादुर दमाई र राज सुनारले परियारलाई ढुङ्गा र इँट्टाले टाउकोमा आक्रमण गर्दै कुटपिट गरे । परियारलाई टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट पटक लाग्यो।
तत्कालै उनलाई नजिकैको राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुर पुर्याइयो । त्यहाँ उपचार संभव नभएपछि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरियो। त्यहाँ पनि उपचार संभव नभएपछि भारतको लखनउ रेफर गरियो।
उपचारकै क्रममा परियारको वैशाख १० गते मृत्यु हुन पुग्यो । प्रहरीले भने ढिला गरी मात्रै त्यसबारे सूचना प्राप्त गर्यो । त्यसपछि प्रहरीले घटनामा संलग्न सबैलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान थालेको जानकारी दिएको छ ।